सत्तारूढ गठबन्धनका दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
स्रोतका अनुसार ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका छन्। केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा राणासहित ओलीलाई भेट्न बालकोट गएका हुन्। अहिले देउवा र ओलीबीच बालकोटमा कुराकानी भइरहेको छ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका थिए।
बिहीबार बिहान कांग्रेस सांसद मीनेन्द्र रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग आजै कुरा गरेका थिए।
प्रधानमन्त्री देउवा एमसिसी संसदमा टेबल गर्ने र पारित गर्ने कुरामा दृढ छन्। सत्तारूढ गठबन्धनका नेताहरूलाई पनि उनले यही कुरा भन्ने गरेका छन्।
आजको बैठकमा पनि प्रधानमन्त्री देउवाले एमसिसी संसदमा टेबल गर्नेबारे कुरा राखेका थिए।
गठबन्धनका रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको संसदीय दलले बुधबार गरेको निर्णयकै कुरा दोहोर्याएका थिए भने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पारित नै गर्ने भए केही दिन छलफल गरेरमात्रै संसदमा टेबल गर्नु पर्ने बताएका थिए।
सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे फेरि बस्ने भएको छ।
‘संसदलाई कसरी सुचारू गरिने, एमसिसीलाई कसरी संसदमा लैजाने भन्नेबारे छलफल भयो,’ गठबन्धन बैठक सकिएपछि पत्रकारहरूसँगै कुरा गर्दै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘थप छलफल गर्न भोलि १० बजे बैठक बस्छ। प्रधानमन्त्रीले फागुन १६ भित्र एमसिसी पारित गर्नुपर्छ भन्नुभएको छ। छलफल त्यही दिशामा छ।’
एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगेको यो दोस्रो पटक हो। गत पुस २४ गते पनि उनी ओलीलाई भेट्न बालकोट पुगेका थिए।