अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।
बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए।
प्रधानमन्त्रीले एमसिसी छिटोभन्दा छिटो पेस गर्ने धारणा राखेको एक नेताले बताए। नयाँ उपाय निस्किन सक्छ कि भनेर खोज्ने पनि ती नेताले बताए।
‘भोलि एमसिसी टेबल नगर्ने कुरा भयो। हामी फेरि बसेर छलफल गर्छौं। नयाँ-नयाँ उपाय निस्किन सक्छ कि भनेर खोज्ने। प्रधानमन्त्री चाहिँ भोलि वा छिटोभन्दा छिटो गर्ने पक्षमा हुनुहुन्छ,’ उनले भने।
यस्तै, गठबन्धनलाई पनि नटुटाई नयाँ उपाय खोज्नेबारे पनि छलफल भएको ती नेताले बताए।
‘गठबन्धन नटुटाउने भन्ने कुराहरू पनि उठे। एमसिसी पास गर्ने आफ्नो ठाउँमा छ। आफ्नो-आफ्नो धारणा बन्न दिऔं, इस्यूहरूमा जाऔं। अमेरिकाको कमिटमेन्ट पनि लिने कुरा आयो। अर्को अमेरिकाले संशोधन गर्दैन भन्ने कसरी पत्याउने भन्ने कुरा पनि आयो,’ उनले थपे।
यस्तै छलफलका लागि बैठक भोलि बिहान १० बजे पनि बस्नेछ।
सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएको थियो।
यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
यसअघि एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। उनीहरूबीच आधा घन्टा जति कुराकानी भएको थियो। एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका थिए।
बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए। यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन्।
यो पनि:
भोलि एमसिसी टेबल गर्ने प्रधानमन्त्री देउवाको बटमलाइन