अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच अहिले बैठक भइरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भइरहेको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी छन्। यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित नभएका हुन्।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भने आफूहरूलाई बैठकबारे खबर नगरिएको बताइन्।
‘किन बोलाउनु भएन भन्ने थाहा भएन,’ पौडेलले भनिन्।
पछिल्लो समय एमसिसी संसदबाट पारित गर्ने/नगर्नेबारे गठबन्धनभित्र मतभेद देखिएको छ।
सत्ता गठबन्धनको बैठकअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूबीच छलफल भएको थियो।
छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन जोगाउनमै हुने बताए।