सभामुख अग्नि सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल हुन नरोक्ने बताएका छन्।
सोमबार सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै सभामुख सापकोटाले आफू अम्पायरको भूमिकामा रहेकाले दलहरूबीच सहमति गरेर सरकारले ल्याएका प्रस्ताव आफूले नरोक्ने बताएका हुन्।
आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको र संसद सुचारू भएपछि यसको प्रक्रिया अघि बढ्ने उनले बताएका हुन्।
बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीबारे धारणा राखेका थिए।
‘आजको बैठक सहमति विकास गरेर अघि बढ्ने भन्ने कुरा भएको छ। प्रचण्ड र माधव कमरेडले एमसिसीबारे हाम्रो आफ्नो मान्यता छ। तर कसरी हुन्छ छलफल गरौं भन्नेमा हामी छौं भन्नुभयो,’ श्रेष्ठले भने।
एमसिसीबारे अहिले नै टुंगो नभए पनि संसदमा अघि बढाउने बारे छलफल गर्ने वातावरण बनेको उनले बताए।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी थिएन। आजको बैठकमा संसद खुलाउन एमालेलाई मनाउन सबै दलले पहल गर्ने विषयमा पनि छलफल भएको थियो।