हाम्रा स्थानीय सरकार
सम्पादकीय नोट: राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए। संघीयतामा गएपछि गाउँ/नगरपालिकाको पुनर्संरचना भयो। गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ। यस अवधिमा अरूले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ/नगरपालिकाबारे सेतोपाटीले स्टोरी गर्ने छ।
रामचन्द्र भट्टराई नयाँ घरमा बिजुली मिटर जडानको सिफारिस लिन माघ ११ गते वडा कार्यालय आइपुगेका थिए।
'सिफारिस लिन त छिट्टै हुने रहेछ,' हातमा कागज समाएका उनले विद्युत कार्यालय पुग्न हतारिँदै भने, 'आजै विद्युत प्राधिकरणमा निवेदन बुझाउन पाए एकदिन भए पनि छिटो मिटर जडान हुने थियो।'
रूपन्देहीको तिलोत्तमा नगरपालिका- २, शंकरनगरका भट्टराईले मिटर जडानको सिफारिस लिन मात्र होइन, छ महिनाअघि घरको नक्सापास गर्दादेखि 'सुपरस्ट्रक्चर' लिँदा पनि सहजै काम भएको बताए।
वडा नम्बर ११, मन्द्रानीका प्रविन दंगोरियाको पनि यस्तै अनुभव छ।
उनी नागरिकताको सिफारिस लिन आफ्नो बुवालाई लिएर वडा कार्यालय पुगेका थिए। सरकारी सेवा झन्झटिलो हुन्छ भन्ने सुनेका उनले १०/१५ मिनेटमै सिफारिस पाएपछि छक्क पर्दै भने, 'सरकारी कार्यालयमा पनि यति सजिलै काम हुने रहेछ!'
तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अन्य विकास निर्माण सँगसँगै नियमित घटना दर्ता, विभिन्न कामका सिफारिस, स्वास्थ्य उपचार लगायत क्षेत्रमा उल्लेख्य सुधार भएको छ।
कालिका मानवज्ञान माविका शिक्षक युवराज कंडेल सेवाग्राहीको नजरबाट हेर्दा तिलोत्तमा नगरपालिकाका सेवा उत्कृष्ट रहेको बताउँछन्।
वडा नम्बर १ का कंडेलले पुस अन्तिम साता आँखा जचाउँदै गरेको तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेका थिए, ‘यो तिलोत्तमा आई केयर सेन्टर लुम्बिनी रणअम्बिका आँखा अस्पतालको सामुदायिक स्वास्थ्य इकाई हो। भर्खरै तिनपा-२ को वार्ड कार्यालयनजिकै यस केन्द्रको स्थापना भएको हो। भैरहवा बुटवल दगुरेर लामो समय खर्चेर आँखा जचाउनुपर्ने बाध्यता हटेको छ। परामर्श, जाँच र उपचार सेवा राम्रो लाग्यो। सेवाग्राही भएर अनुभव गरेको कुरा।’
रूपन्देहीको मध्यभागमा रहेको तिलोत्तमा नगरपालिका बसोबासका दृष्टिले मात्र होइन, व्यापारिक तथा व्यावसायिक हिसाबले पनि निकै सम्भावना बोकेको नगरपालिका हो।
२०७१ सालमा साविकका सातवटा गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र सहरीकरण भइरहेको छ। यहाँ दिनहुँ नयाँ उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम तीव्र छ। बेलहिया-बुटवल ६ लेन सडकले सबभन्दा बढी भाग ओगटेको तिलोत्तमाले आफूलाई आर्थिक केन्द्रका रूपमा अगाडि बढाउँदै लगेको छ।
जनप्रतिनिधिहरू निर्वाचित भएर आएको छोटो समयमै स्थानीय तहको कानुन आफैं निर्माण गर्ने, नगरपालिकालाई खुला प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने, सफा र हरियाली सहरको अवधारणाअनुरुप 'ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा' कार्यक्रम अगाडि सारेर तिलोत्तमाले प्रशंसा बटुलेको छ। त्यसमाथि २०७६ असोज ९ गते स्थानीय तहहरूमा पहिलो लगानी सम्मेलन आयोजना गरेपछि यसको चर्चा देशैभरि सुरू भयो।
खुला प्लास्टिकमुक्त नगर घोषणालाई तिलोत्तमा नगरपालिकाले चार वर्ष अवधिमा गरेको सबभन्दा महत्वपूर्ण काममध्ये लिइन्छ।
२०७५ वैशाख १ देखि नगरपालिकाले यो अभियान सुरू गरेको हो। यसअन्तर्गत हरेक महिनाको १ र १५ गते टोलभरिका सडक, नाली, सार्वजनिक स्थान र सोह्र छत्तीस सिँचाइ नहर सरसफाइ गरिन्छ। यसरी साप्ताहिक सरसफाइ अभियान सुरू गरेको १५ महिनापछि २०७६ साउन १ गते प्लास्टिकमुक्त र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा भएको हो।
यो अभियानमा नगरवासीले पनि सक्रिय सहभागिता जनाएका थिए। तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेका अनुसार दैनिक आठ घन्टाको जनश्रमदान गणना गर्दा १५ महिनाको अभियानमा एक लाख नागरिक सहभागी भए।
तिलोत्तमा-४, डिंगरनगरका मित्रलाल न्यौपाने यो अभियानपछि पानी बग्ने नहर र कुलाहरू सफा भएको बताउँछन्।
'हामीलाई त सिँचाइभन्दा पानीसँगै बगेर आउने प्लास्टिक, पुराना कपडा र थर्मकोल पन्छाउने समस्या थियो, अहिले ती समस्या सबै हटेका छन्,' उनले भने।
त्यस्तै, बुटवलबाट बग्दै आउने फोहोर रोक्न बुटवल र तिलोत्तमाको सीमाक्षेत्रमा रहेको सोह्रछत्तीस नहरमा फलामे जाली लगाइएको छ। खेतबारीमा बगेर जाने प्लास्टिकका कारण वर्षौंदेखि पीडित बन्दै आएका तिलोत्तमा-२ का वडाध्यक्ष दधिराम गौतमले जाली लगाएपछि नहरबाट फोहोर जान रोकिएको बताए।
'पहिले प्लास्टिकका बोतल, झोला, थर्मकोल, सेनिटरी प्याड, ब्लेडसमेत सिँचाइका लागि ल्याइएको नहरको पानीसँगै खेतका गह्राभरि थुप्रिन्थे। फोहर र प्लास्टिकका कारण गाउँघरमा प्रदूषणसँगै हाम्रा खेत जर्जर बनेका थिए। नगरपालिकाले नहरहरू सफा गरेर जथाभाबी फोहोर फाल्न रोकेपछि त्यो समस्या समाधान भएको छ,' गौतमले भने।
नगरपालिकाले नियमित टोल सरसफाइ कार्यलाई पनि निरन्तरता दिइरहेको छ।
वडा नम्बर ३, जागृति टोलका डोलराज भण्डारी हरेक महिनाको १ र १५ गते हातमा झाडू बोकेर घर तथा आफ्नो टोल वरिपरिको सडक, नाली र खुला स्थानका फोहोर जम्मा गर्न खटिन्छन्। डोलराज यसरी हिँड्न थालेको माघ दोस्रो साता ८३औं शृंखला पूरा भइसकेको छ।
नगरपालिकाले हरियाली प्रवर्द्धन र वातावरण संरक्षणलाई पनि प्राथमिकतासाथ अगाडि बढाइरहेको छ। जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका खाली स्थान, नहर, कुलो र सडक किनारमा पनि बिरूवा लगाउने काम भइरहेको छ। अहिले बुटवल-भैरहवा सडक खण्डअन्तर्गत नगर क्षेत्रभित्रको सडक किनार हरियालीले ढाकिएको छ।
तिलोत्तमाले अगाडि सारेको ग्रिनरी सडक र बुद्धमूर्ति राख्ने कामलाई छिमेकी पालिकाहरूले पनि असल अभ्यासका रूपमा पछ्याइरहेका छन्।
पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउने अभियान सुरू गरिएपछि विद्यालयमा विद्यार्थीहरूलाई पनि जथाभाबी फोहोर नगर्न सिकाउने गरिएको छ। नगरपालिकाले बनाएको स्थानीय पाठ्यक्रममा 'मेरो खल्तीः मेरो पहिलो डस्टबिन' भन्ने अभियान थालिएको छ। यो अभियानपछि विद्यार्थीहरूले चकलेट र बिस्कुटका प्लास्टिक खल्तीमै राखेर भए पनि पछि डस्टबिनमा फाल्ने गर्छन्।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरी सानो उमेरदेखि नै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने बानी विकास गर्न पाठ्यक्रममै समावेश गरेर विद्यार्थीलाई सिकाउने गरिएको बताउँछिन्।
'हामीले सुरू गरेका दिवा खाजा, छात्रालाई निःशुल्क सेनिटरी प्याड लगायत कार्यक्रम हाल संघीय सरकारको कार्यक्रममा पर्नुले हामीले असल अभ्यास सुरू गरेका थियौं भन्ने पुष्टि गरेको छ,' उनले भनिन्।
तिलोत्तमाका सबै सामुदायिक विद्यालय एकै प्रकारको रंगरोगन गरेर चिटिक्क पारिएको छ। दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटाअन्तर्गत १४ जना शिक्षक नियुक्त गरिएका छन्। नगरपालिकाको सहयोगमा ११ वटा सामुदायिक विद्यालयले विद्यार्थी बोक्न आफ्नै बस किनेका छन्।
बुटवल-१७, रानीगन्जबाट तिलोत्तमा-२ स्थित जनजागृति माविको कक्षा ८ मा पढ्ने आशिका सुनार बस भएपछि विद्यालय आउन सजिलो भएको बताउँछिन्। 'घरदेखि सबभन्दा नजिक भनेकै जनजागृति मावि हो, बस नहुँदा एक घन्टा लगाएर आउनुपर्थ्यो, अहिले त सजिलो भएको छ,' उनले भनिन्।
जनजागृति माविका प्रधानाध्यापक टंकप्रसाद पौडेल नगरपालिकाले 'शिक्षामा सबलीकरण' नारा बनाएर सुरू गरेको यो अभियानपछि २ सय ६५ जना थप विद्यार्थी भर्ना गर्न सकिएको बताउँछन्।
नगरप्रमुख घिमिरेले पनि यो अभियानबाट चार वर्षमै ३ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा थप भएको जानकारी दिए।
रोजगारी सिर्जनाका लागि युवा रोजगार कार्यक्रममा एक हजार नागरिकलाई व्यावसायिक तालिम प्रदान गरिएको छ।
तालिम लिएका कतिपय युवाले आफैंले रोजगारी सिर्जना गरेका छन्। तिलोत्तमा-१, शंकरनगरकी पार्वती गिरी नगरपालिकाबाट प्राप्त गरेको अचार बनाउने र सेनिटरी प्याड बनाउने तालिमपछि व्यवसायीसँगै प्रशिक्षक बनेकी छन्।
लकासी अचार उद्योग सञ्चालन गरेकी गिरी अचार बनाउने र सेनिटरी प्याड बनाउने तालिम दिन रूपन्देहीसँगै लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा जाने गरेको बताउँछिन्।
'पहिले गृहणीका रूपमा दिनभरीको समय यत्तिकै बिताउने गर्थें, नगरपालिकाले दिएको तालिमपछि आफैंले अचार उद्योग सञ्चालन गरेर व्यवसायी बनेकी छु,' उनले भनिन्।
त्यस्तै, नगरलाई बालमैत्री घोषणा गर्ने कार्य गत मंसिर २९ गते सम्पन्न भएको छ। यसअघि देशभरका १२ वटा पालिका बालमैत्री घोषणा भइसके पनि ५१ वटा सूचक पूरा गर्ने पालिकामा तिलोत्तमा पहिलो हो।
किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरिँदै आएको छ। नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रूपैयाँका दरले अनुदान दिन्छ।
दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेय सोझै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताउँछन्।
'किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको छ,' उनले भने।
नगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलन सुरू गरेको छ। नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायत राजस्व अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ।
नगरउपप्रमुख चौधरी आफूहरू निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा पनि धेरै सुधार गरेको दाबी गर्छिन्।
'पहिले १७ वटा वडा रहेको नगरपालिकामा ७ वटा मात्रै स्वास्थ्य चौकी थिए, अहिले सबै वडामा स्वास्थ्यचौकी विस्तार गरेका छौं,' उनले भनिन्।
कोभिड महामारी बेला पनि कतिपय जिल्ला र पालिकाले सीमाक्षेत्रमा बार लगाएर मानिसको आवतजावत रोकिरहँदा तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुख भारतीय सीमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीलाई लिन बस लिएर गएका थिए। आफ्नो पालिकाका मात्र नभई विभिन्न जिल्लाका नागरिकलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्ने र खाना खुवाउने कामको सुरूआत पनि तिलोत्तमाबाट भएको थियो।
कोरोना महामारीको सुरूआतमै दुईवटा विद्यालयमा क्वारेन्टिन र आइसोलेसन सञ्चालन गरेको तिलोत्तमाले अक्सिजन सुविधासहित १ सय बेडको आइसोलेसन अहिले पनि तयारी अवस्थामा राखेको छ।
नगरपालिकाले २०७६ साउनमा आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गर्दै एकीकृत सहरी विकास योजना निर्माण गरेको छ। सडकलाई मुख्य प्राथमिकतामा राखिएको यो योजनाअन्तर्गत ६० किलोमिटर सडक कालोपत्रे गरिएको नगरप्रमुख घिमिरे बताउँछन्।
पाँच वर्ष अवधिमा ९९ किलोमिटर सडक कालोपत्रे गर्ने भनिएकोमा ६० किलोमिटर मात्रै गरिए पनि चालू वर्षमा कालोपत्रे थपिने उनको दाबी छ।
भौतिक पूर्वाधारलाई समेत प्राथमिकतामा राखेको नगरपालिकाले वडा नम्बर ६, कुञ्जलापुरमा सुविधासम्पन्न नगर कार्यपालिका भवन निर्माण गरेको छ।
यसअघि भाडाको घरमा सञ्चालन भइरहेको नगर कार्यपालिकाको काम अहिले १० विगाहा क्षेत्रफलमा करिब ८ करोड रूपैयाँ लागतमा निर्माण गरिएको आफ्नै भवनबाट सञ्चालन भइरहेको छ। त्यस्तै, १७ वटै वडा कार्यालयको काम आफ्नै भवनबाट भइरहेका छन्।
तिलोत्तमा नगरपालिका २०७७ सालमा उत्कृष्ट नगरपालिकाका रूपमा पुरस्कृत भइसकेको छ। मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासन क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै तिलोत्तमालाई उक्त पुरस्कार दिएको थियो।
स्रोत अभावले कतिपय योजना सम्पन्न गर्न नसकिए पनि विकास निर्माण र सेवाप्रवाहको क्षेत्रमा प्राप्त उपलब्धि सन्तोषजनक रहेको नगरप्रमुख घिमिरे बताउँछन्।
'नागरिकको सहभागिता नभएका योजनाहरू दिगो हुँदैनन्, बीचमै लथालिंग र भताभुंग हुने गरेका कतिपय उदाहरण रहे पनि तिलोत्तमामा त्यस्तो अनुभव गर्नुपरेको छैन,' उनले भने।
यी पनि हेर्नुहोस्: