राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन्।
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना र सत्ता गठबन्धन दलबाट तीन जनाले उम्मेदवारी दिएका छन्।
यो निर्वाचनबाट कर्णाली प्रदेशबाट तीन जना सदस्य चयन हुनेछन्। कर्णाली प्रदेशमा खुला, महिला र अपांगता वा अल्पसंख्यकतर्फको सदस्य पद रिक्त हुँदैछ।
हाल प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका रूकुम पश्चिमका खगेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ। पुरी र बोगटी नेकपा एमालेका नेता हुन् भने बुढा नेकपा माओवादी केन्द्रका नेता हुन्।
यसपटक उक्त पदमा एमालेबाट महिलामा जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुँडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेले एकलौटी उम्मेदवारी दिएपछि सत्तागठबन्धन दलहरूले भागबण्डा अनुसार उम्मेदवारी दिएका छन्। जसअनुसार कर्णालीमा महिलातर्फ नेपाली कांग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी) ले भाग पाएका छन्।
महिलातर्फ कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरूङको मनोनयन दर्ता भएको छ।
अपांगतातर्फ सुर्खेतकै माओवादी केन्द्रका नरबहादुर विष्ट र खुलातर्फ समाजवादीबाट सल्यानका उदय बोहराले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनका उम्मेदवारमध्ये विष्ट यसअघिका संविधान सभा सदस्य हुन्।
कुन दलको मतभार कति?
कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावमा मतदान गर्न जम्मा १९१ मतदाता छन्। उनीहरूको मतभार ४ हजार ४८८ छ।
मतदातामध्ये ३५ जना प्रदेश सभा सदस्य छन्। प्रदेश सभा सदस्यको मतभार एक जना बराबर ४८ हुन्छ।
यस्तै एक जना बराबर १८ मतभार हुने स्थानीय तहका प्रमुख/उपप्रमुखहरूको संख्या १५६ छ।
जम्मा १५८ जना स्थानीय तहका प्रमुख/उपप्रमुख रहेकोमा जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका छन् भने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भइसकेको छ।
बाँकी १५६ स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये १५१ जना मात्र कुन दलका भन्ने खुलेको छ।
पाँच जना प्रमुख/उपप्रमुख कुन पक्षको भन्ने खुलेको छैन।
जसअनुसार नेकपा माओवादी केन्द्रका ५२ जना छन्। यस्तै माओवादी केन्द्रका १२ जना प्रदेश सभा सदस्य छन्। यसरी हेर्दा राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा माओवादीको मतभार १ हजार ५१२ हुन्छ।
यस्तै नेकपा एमालेका ४५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख छन् भने १३ जना सांसद् छन्। जसअनुसार एमालेको मतभार कर्णालीमा १ हजार ४३४ मतभार हुन्छ।
स्थानीय तहका प्रमुख/उपप्रमुख नेपाली कांग्रेसका ४१ जना छन्। कांग्रेसका प्रदेश सभा सदस्य ६ जना छन्। जसअनुसार कांग्रेसका राष्ट्रिय सभा सदस्यका लागि मतभार १ हजार २६ हुन्छ।
एकीकृत समाजवादीका १३ जना स्थानीय तहका प्रमुख/उपप्रमुख छन् भने ३ जना प्रदेश सभा सदस्य छन्। यसरी समाजवादीको मतभार कर्णालीमा ३७८ हुन्छ।
गठबन्धन अनुसार एकलौटी मत खसेमा सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका एक जना उम्मेदवारले २ हजार ९१६ मत पाउँछन्।
कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सदस्य छन्। राष्ट्रिय सभामा ४८ मतभार भएको राप्रपाले भने कर्णाली प्रदेशबाट उम्मेदवारी दिएको छैन।
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता सूचीमा रहेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली भने सम्पर्कमा छैनन्। पहिलो राष्ट्रिय सभा निर्वाचन हुनुअघि गोष्ठीमा सहभागी हुन भनेर अमेरिका गएकी नेपाली हालसम्म आएकी छैनन्। उनी माओवादीबाट उपमेयरमा निर्वाचित भएकी हुन्।
नगरपालिकाका मेयर रत्नबहादुर शाहीका अनुसार हालसम्म उनीसँग कुनै कुराकानी भएको छैन।