नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पुस २५ गते बस्ने गरी स्थगित भएको छ।
केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार ललितपुरको सानेपास्थित होटल हेरिटेजमा सोमबार बसेको बैठक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत अध्यक्ष चुनेर सकिएको हो। आजकै बैठकले पार्टी पदाधिकारी पनि चयन गर्ने अपेक्षा गरिएको थियो।
पदाधिकारी चयन गर्नका लागि माओवादीले पार्टी नेता वर्षमान पुनलाई कुरेको देखिन्छ। महासचिवमा दाबी गरेका पुन अहिले उपचारका लागि चीनमा छन्।
पुन र पूर्वसभामुख ओनसरी घर्ती केही दिनमै नेपाल आउँदैछन्। आजको बैठकमा अध्यक्ष प्रचण्डले पुन मंगलबार अस्पतालबाट डिस्चार्ज हुने र केही दिनभित्र नेपाल आउने जानकारी दिएका थिए।
‘उहाँहरू पनि आउनुहुन्छ। हामी पनि छलफल गरौं भन्नुभयो,’ केन्द्रीय सदस्य दाहालले भने।
पुस ११ देखि माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा भएको थियो। आइतबार सकिएको महाधिवेशनमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। प्रचण्डले सुनाएको नामलाई सबैले सदर गरेका थिए।
यो पनि पढ्नुस्: