नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री पम्फा भुसालले आफू पार्टी महासचिवको दाबेदार रहेको बताएकी छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै भुसालले प्रतिकुल अवस्थामा समेत पार्टीले दिएको जिम्मेवारी पूरा गरेकाले पार्टीले जिम्मेवारी दिए पूरा गर्न सक्ने बताइन्।
'दाबी भन्दा पनि एउटा आवश्यकता,एउटा संयोग पनि हो, नेतृत्व विकासमा। जुन आन्दोलनबाट हामी यहाँसम्म पुगेका छौं। धेरै सम्भाव्य मानीसहरू हामी छौं। म पनि त्यो भित्रको एकजना हो,' उनले भनिन्, 'हाम्रो आन्दोलनको निरन्तरता,सक्रियता,क्रियाशीलता र त्यसबाट हासिल गरेको ज्ञान क्षमता अनुभवको आधारमा मैले भन्न सक्छु। यसबारे नेतृत्वको टिमसँग छलफल गर्छु र अध्यक्षलाई पनि भन्छु।'
उनले अहिले पनि पार्टीमा प्रचण्डको जरूरी रहेको बताइन्।
'राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज जसमा नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ कार्ययोजना हुन्छ। त्यसले झन् प्रचण्डको आवश्यकता अझै बढी महशुस हुनेछ,' उनले भनिन्,'कसैले अध्यक्षले ल्याउने विचार कार्यदिशा कार्ययोजनाभन्दा नयाँ विचार नयाँ कार्ययोजना ल्याउँछ भनेमात्रै एउट कुरा हो। नत्र अहिले त्योभन्दा अर्को विकल्प छैन।'
पुस ११ देखि १३ गतेसम्म हुने माओवादीको राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रीत रहेर सो पार्टीका स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री पम्फा भुसालसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंशहरू:
-हामीले अहिलेसम्म गरेका काम अनि हामी जुन विचारको आलोकबाट अगाडि बढ्यौं त्यसको समीक्षा गर्छौं। विचारको समीक्षा गर्दै २१ औ शताब्दीको कार्यदिशा के हुन्छ भन्ने कुरालाई निर्दिष्ट गर्छौं।
-हिजो हामीले मार्क्सवाद,लेनिनवाद र माओवादको विचार लियौं। मुख्यत: माओवादको आलोकमा जनयुद्धको कार्यदिशा बनायौं। र जनयुद्धमा जाँदाजाँदै हामीले आफ्नै नेपाली मौलिकतामा त्यसलाई कार्यान्वयन गर्दा थप विचारको विकास गर्यौं। जसलाई प्रचण्डपथ भनेर पनि हामीले संश्लेषण गर्यौं। २१ औ शताब्दीको कार्यदिशा पनि राख्यौं। हामी शान्ति प्रक्रियामा आयौं। एकता प्रक्रियामा गयौं। त्यसलाई हामीले स्थगन गर्यौं।
-शान्ति प्रक्रियाका १५ वर्षयता आइपुग्दा हाम्रा सकारात्मक उपलब्धी र समस्याको संश्लेषण गरेर विचारको विकास गर्छौं। त्यसपछि कार्यदिशाको पनि विकास गर्छौं।
-हाम्रो एजेन्डा देशको एजेन्डा हुने तर माओवादी उतारचढावको बीचमा गएको छ। यसमा हाम्रो पनि केही कमजोरी भएको छ। परिस्थिति र अरू बाह्य तत्व होला। तर मूलभुत रूपमा आन्तरिक कुरो नै मुख्य हुन्छ।
-समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र, त्यसको संविधान र त्यसको राजनीतिक प्रणालीसम्म हामीले ल्यायौं। तर यही पक्रेर मात्रै माओवादी एक नम्बरको पार्टी हुँदैन। यो एजेन्डाको कार्यान्वयन गर्दै अब समाजवादको कार्यदिशा निर्माण गर्ने र त्यसको कार्यक्रम कार्ययोजनाबाट जब माओवादी अघि बढ्छ त्यसपछि फेरि देश माओवादीकै नेतृत्वमा अघि बढ्छ।
-हामी नयाँ हुनुपर्छ। हिजोको माओवादी बनेर फर्किन पनि सकिन्न। हामी संसदवादी त हुँदै होइनौं। न अहिलेको व्यवस्था पुरातन संसदीय व्यवस्था हो। यो त समानुपातिक समावेशीबाट बनेको संरचना छ। त्यो संसद पनि होइन तर यसैलाई पक्रेर पनि अघि बढ्न सकिँदैन। यी हाम्रा आन्दोलनका उपलब्धी हुन्। तर यी उपलब्धीको रक्षा गर्दै फेरि विकास गर्नुपर्छ भन्ने कुराको महशुस हामीले गरेका छौं।
-हामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष कमरेडद्वारा तयार पारिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्छौं। विचार विमर्श गर्छौं, परिमार्जन गर्छौं र हामी एउटा नयाँ विचार एउटा नयाँ कार्यदिशा नयाँ कार्ययोजना नयाँ कार्यशैली लिएर अघि आउँछौं। त्यतिबेला हामी साँच्चै नयाँ माओवादी भएर आउँछौं।
-नेतृत्व भनेको विचार हो। अहिले माओवादीको त कुरा छोडौं देशको राजनीतिको एउटा दिशाको पनि नेतृत्व अध्यक्ष प्रचण्डले गर्नुभएको छ। अध्यक्ष प्रचण्ड एउटा व्यक्ति मात्रै होइन सामुहिक हाम्रो एउटा नेतृत्व टिम छ। त्यसको केन्द्रीकृत अभिव्यक्ति हो। अध्यक्ष प्रचण्ड नेताहरू मध्येको नेता हो।