नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थ मन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले विश्वास गरेमा आफू महासचिवका लागि योग्य रहेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै अर्थमन्त्री शर्माले आफू अहिले संगठन विभागको प्रमुख भएकाले कार्यकारी पदमा काम गर्न खोज्नु स्वाभाविक रहेको बताए। यद्यपि आफूले चाहेरभन्दा पनि पार्टीले चाहेमा मात्रै यो पूरा हुने उनको भनाइ छ।
'मेरो इच्छा चाहना के छ भन्ने एउटा कुरा हो। म अहिले संगठन विभागको प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने मेरो चाहना होला तर मेरो चाहनाले मात्रै निर्धारण गर्दैन,'उनले भने,'यो कार्यकर्ताको, प्रतिनिधिको चाहनाले निर्धारण गर्छ। आउने प्रतिनिधि अनि निर्वाचित केन्द्रीय कमिटीले जहाँ राख्छ म त्यहीँ बस्ने हो। मलाई त संगठनकै जिम्मा दिए हुन्थ्यो भन्ने लाग्छ।'
संगठनको जिम्मेवारी लिन सक्ने आफूजस्तै अन्य नेताहरू पनि भएको भन्दै उनले सबैकुरा आम कार्यकर्ताको निर्णयमा भरपर्ने बताए।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थ मन्त्री जनार्दन शर्मासँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीको विस्तृत अंश केही बेरमा आउनेछ।