नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले प्रचण्डपछि पार्टी नेतृत्वका लागि नेताको लामो सूची रहेको बताएकी छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले यस पटक भने प्रचण्डकै नेतृत्वमा सबै एकताबद्ध हुने बताइन्।
‘प्रचण्ड पछिको पार्टी नेतृत्वका लागि हाम्रोमा एक से एक साथीहरू हुनुहुन्छ। विधानतः अब पदाधिकारीको व्यवस्था गरिएको छ। यसले पनि नेतृत्वको शृंखला तयार हुन्छ,’ उनले भनिन्, ‘प्रचण्डकै कारणले पार्टी अघि नबढेको निश्कर्ष निकाली कोही तयार भएर आए हुन्छ। तर नेतृत्व भनेको यसै टीका लगाएर दिने होइन नि।’
अहिले प्रचण्डको नेतृत्वमा गोलबन्द भए पनि यो सधैंका लागि नरहेको उनले बताइन्। प्रचण्ड स्वयमले पनि आगामी दिनमा नेतृत्वका लागि तयार हुन भनिसकेको भन्दै नेतृत्वमा सधैभरि प्रचण्ड मात्र नबस्ने बताइन्।
आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौं हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको विषयमा केन्द्रीत रहेर हामीले उक्त पार्टीकी केन्द्रीय सदस्य रेखा शर्मासँग भिडिओ कुराकानी गरेका छौं।
कुराकानीका मुख्य अंश
- हाम्रो सम्मेलन मुख्य रूपमा विचार र संगठनमा केन्द्रित हुन्छ। सम्मेलनले विचार निर्माण गर्छ। विधानले व्यवस्था गरे अनुसारको कमिटी निर्माण गर्छ। र त्यो निर्माण भएको विचारमा कसरी पुग्न सकिन्छ भनेर कार्ययोजना बन्छन्।
- २१ औं शताब्दीको नेपाली मोडलको समाजवाद कसरी ल्याउने भनेर दस्तावेज तयार हुन्छ। संघीयता, समावेशीता, समाजवादलगातयका संविधानमा लिपिबद्ध भए अनुसारको व्यवस्था दरिलो बनाउने विचार निर्माण गर्छौ।
- हामी अली उतारचढावबाट धेरै आयौं। २०५२ सालबाट जनयुद्व सुरू भयो। २०६२\६३ सम्म हामी जनयुद्वकै क्रममा रह्यौं। जनयुद्वको क्रममा नेतृत्वबारे प्रश्न उठ्ने कुरै भएन। शान्तिप्रक्रियामा आएपछि पनि संगठन निर्माण, पार्टी टुट फुट, विभाजन फेरि एकता, फेरि विभाजनजस्ता प्रक्रियाबाट हामी गुज्रियौं।
- हामी प्रचण्डको नेतृत्वमा अघि बढेका छौं। अहिलेसम्म त्यसमा कुनै प्रश्न उठेको छैन। प्रचण्डको नेतृत्वमा हामी यहाँनेर समस्यामा पर्यौं, असफल भयौं भन्ने पनि भएको छैन। अहिले स्पष्ट ढंगले अघि बढिरहेकाले मुल नेतृत्वमा कुनै समस्या छैन।
- हाम्रो दल सम्बन्धी कानुनले ३३ प्रतिशत महिलाको व्यवस्था गरेको छ। तर पार्टीले त्यो भन्दा अघि बढेर ३५ प्रतिशत महिलाको व्यवस्था गर्यो। त्यसै गरेर १५ प्रतिशत दलित र ४० वर्षमुनिका २० प्रतिशत युवा केन्द्रीय समितिदेखि सम्पूर्ण कमिटीमा समावेश हुने भनेर व्यवस्था गरेका छौं।
- अहिले वडादेखिनै हाम्रा कमिटी समावेशी छन्। महिलाहरू हरेक कमिटीमा अगाडि बढेका छन्। बागमतीमा महिला निर्वाचन लडेरै आउनुभयो। ३५ प्रतिशत भनेपछि त्यहीँ अनुसारको उपस्थिति केन्द्रीय कमिटी, स्थायी कमिटी र पदाधिकारीमा हुन्छ भन्ने हाम्रो विश्वास छ।
- हामीले हिजो जनयुद्व सुरू गर्दा समावेसीको कुरा गरेका थिएनौं। त्यो बेलामा समेत जनसेनामा महिलाहरू ४० प्रतिशत हाराहारी थिए। त्यसैले समावेसीको जन्मदाता माओवादी हो। जति पनि पार्टीमा पछि पारिएका समुदाय केन्द्रीय कमिटी छन्। त्यो सबै जनयुद्व र आन्दोलनको उपज हो।
- देश माओवादीको एजेण्डामा, माओवादी कसको एजेण्डामा भनेर प्रश्न पनि उठ्ने गरेको छ। माओवादी आफ्नै एजेण्डामा हिँड्छ। अहिलेका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ। माओवादी माओवादी जस्तै बन्छ। हामी अर्को एमाले, अर्को कांग्रेस बन्ने होइन।
यो पनि हेर्नुहोस्-