नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले पार्टीमा तत्काल प्रचण्डको विकल्प सोच्ने बेला नभएको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै स्थायी कमिटी सदस्य पोखरेलले समकालिन राजनीतिमा प्रचण्ड हरेक क्षेत्रमा अगाडि रहेको दाबी गर्दै नेतृत्व परिवर्तनको बेला नभएको बताए।
‘अहिले तत्काल प्रचण्डको विकल्पमा सोच विकास भएको छैन। आजको समकालिन राजनीतिमा संगठनात्मक नेतृत्वमा प्रचण्डको कुनै त्यस्तो विकल्प खडा भएको छैन’, उनले भने, ‘न विचारको विकल्प खडा भएको छ, न समस्या समाधान गर्ने सन्दर्भमा न त अर्को कुनै ढंगको विकल्प नै आएको छ।’
उनले व्यक्तिमा केन्द्रित नभएर विचारमा केन्द्रित हुनुपर्ने भन्दै व्यक्ति कति समयसम्म नेतृत्वमा बस्छ भन्ने महत्वपूर्ण नभएको जिकिर गरे।
विचारको आधारमा नेतृत्व बन्ने भन्दै कुन नेता फेर्ने, कुन नफेर्ने भन्ने प्रश्न महत्वपूर्ण नभएको उनले बताए।
नेकपा माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रीत रहेर हामीले पार्टीका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
कुराकानीका मुख्य अंश
- राष्ट्रिय सम्मेलनको प्रमुख मुद्दानै पार्टीको नीति निर्माणमा हुन्छ। माओवादी केन्द्रले लिएको विचार, दृष्टिकोण, कार्य दिशा, संगठनात्मक विधि, पद्धती मुल रूपमा नेपाली समाजको सामाजिक परिवर्तनका निम्ति गर्नुपर्ने काममा केन्द्रित हुन्छ।
- विश्परिवेशमा नेपालले भोग्नुपरेको स्थिति नेपालको आर्थिक, सामाजिक उन्नति र प्रगतिको सवालमा समाजमा देखा परेका अन्तरविरोधको समाधानको विधि तय गर्नेबारे हामी छलफल गर्छौ।
- नीति निर्माणसँगै त्यो नीतिको आधारमा संगठनलाई अगाडि बढाउन नेतृत्व चयन हुन्छ।
- हामीले नेकपा एमालेसँग पार्टी एकता गर्दा मार्गदर्शन सिद्धान्त मार्क्सवाद र लेनिनवाद भनेका थियौं। अहिले मार्क्सवाद, लेनिनवाद र माओवाद भनेका छौं।
- नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणका निम्ति सामाजिक परिवर्तनको जुन आन्दोलन हो, त्यो आन्दोलनलाई अघि बढाउन समाजवाद निर्माणको दिशामा अघि बड्नुपर्छ भनेका छौं।
- विश्वमा देखा परेको पूँजीवाद र दलाल पूँजीवादविरूद्ध राष्ट्रिय स्वतन्त्रता र स्वाधिनतासहितको सामाजिक न्यायसहितको आर्थिक राजनीतिक प्रणाली निर्माणमा हामी केन्द्रीत हुनुपर्छ।
- अहिले हाम्रो मुलुक मात्रै होइन विश्वभर दलाल पूँजीवादले गाँजेको छ। साम्राज्यवादी नयाँ ढंगले आइरहेका छन्। हाम्रो देशको संघर्षको अर्को पाटो राष्ट्रिय स्वाधिनता पनि हो।
- असमान सन्धी सम्झौता, अर्थतन्त्रको विकास, सामाजिक न्याय, जनताको राज्यमाथिको प्रतिनिधित्व कसरी व्यवस्थित गर्ने भन्ने कुराको नयाँ ढंगले व्याख्या गर्छौ।
- अर्को कुनै विचार दिएर नेपाली समाज विकासका सन्दर्भमा नेतृत्व निर्माण नभइसकेको स्थितिमा हाम्रो नेता प्रचण्डनै हो। यसको निम्ति एउटा विचारको नयाँ विकास गर्ने अर्को व्यक्ति नभएसम्म तत्कालिन जुन विचार छ त्यो विचारको नेतृत्व गर्ने व्यक्तिनै रहिरहनु स्वभाविक हो।
- पार्टीमा हाम्रो सामुहिक नेतृत्व हो। कहिलेकाँही मुख्य नेताले राखेको प्रस्ताव पनि फेरिन सक्छ। हामी जनवादी केन्द्रीयतामा विश्वास गर्छौ, अर्थात अभियव्यक्ति स्वतन्त्रता काम कारबाहीमा एकरूपता हुन्छ।
- विगतदेखि अहिलेसम्म आइपुग्दा कहाँ हाम्रा कमजोरी भए भनेर हामीले विश्लेषण गरिरहेका छौ। यो सम्मेलनमा यसबारे गहन छलफल हुन्छ।
- एमालेभित्रको दक्षिणपन्थी सोचले हाम्रो पार्टी एकता टीक्न सकेन। जसले सुरूदेखिनै पार्टीमा अन्तरसंघर्ष भयो। अन्ततः पार्टी एकतानै भंग भयो।
- तलैदेखि पार्टी संरचनाको विकास गर्ने पार्टी सदस्यताको विस्तार गर्ने त्यसकै आधारमा संगठन बनाउने काम भएको छ। लगभग ८ लाख सदस्य छन्। निर्वाचनलाई हेर्दा एउटा सदस्यले ५ भोट बनाए पनि हामी ठूलो पार्टी बन्न समस्या पर्दैन।
- मुलुकको राष्ट्रिय हितका सन्दर्भमा सहकार्य गरेर अघि जानुपर्छ।
- हामीले केही सीटका लागि बार्गेनिङ गरेको होइन। संविधानको रक्षा र जनप्रतिनिधि संस्थाको रक्षाको लागि नेपाली कांग्रेससँग सहकार्य गरेका हौं।
- यो बेला बामपन्थी अलग अलग भएका छन्। हामीले एक्लै चुनाव लड्यौं भने एकल बहुमत आउँछ भन्ने दम्भ कांग्रेसका केही नेतामा देखिन्छ। तर यसको परिणाम भोलि थाहा हुन्छ। हाम्रो हैसियत के हुन्छ भन्दा पनि देशको हित हेर्ने हो।