नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेतृत्व सम्बन्धी अवधारणा विकास गर्न माओवादी चुकेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै नेता कार्कीले खुला राजनीतिमा आएदेखिनै माओवादीले यस्ता विषयमा ध्यान दिन नसकेको जिकिर गरे।
खुला राजनितिमा आएपछि माओवादीले विचार र नेतृत्वको सवालमा उल्लेख्य काम नगरेको उनले स्पष्ट पारे।
‘जुन बेला माओवादी खुला राजनीतिमा आएको थियो। त्यतिबेलानै यसले आफ्नो नेतृत्वसम्बन्धी अवधारणालाई विकसित तुल्याउनुपर्थ्यो। त्यहाँ माओवादी चुक्यो। चुकिसकेपछि माओवादीसँग अहिले केही पनि छैन,’ उनले भने, ‘माओवादीसँग सेना पनि छैन हिजोको हतियार पनि छैन। माओवादीले बनाएको जनसत्ता पनि छैन। माओवादीसँग बाँकी छ त, त्यहीँ प्रचण्ड मात्र। त्यो पहिला गरेको गल्तीको परिणाम अहिले हामी भोगिरहेका छौ।’
आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले पार्टीलाई सामुहिक नेतृत्व, पुस्तान्तरण र नेतृत्वको हस्तान्तरणको बाटोमा लैजाने उनले बताए।
नयाँ विचारले मात्रै नेतृत्व विस्थापित हुने उनको तर्क छ।
‘कम्युनिष्ट पार्टीमा नयाँ विचार ल्याएर नेतृत्व प्रतिस्थापन गर्ने चलन छ। जहाँ-जहाँ मुख्य नेताले यो मेरो उत्तराधिकारी भनेर देखायो त्यहाँ कहीँ पनि सफल भएन,’ उनले भने, ‘विचारलाई फलो गर्दा शिष्य तयार हुन्छ। उत्तराधिकारीका लागि वैचारिक रूपमा मतभेद देखाउँदै आउनुपर्छ। हिजो हामी पनि अरूलाई चुनौति दिएरै आएका हौ।’
पुस १० गतेदेखि १३ गतेसम्म हुन लागेको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रीत रहेर हामीले माओवादी केन्द्रका नेता राम कार्कीसँग भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंशहरू यस प्रकार छन्।
- यो पार्टीले किसान मजदुर सुकुम्बासी र तिनीहरूको पक्षमा र जात व्यवस्था विरूद्ध आन्तरिक रुपमा नीति बनाउँछ। नेपालको भुराजनीतिक दृष्टिले बाह्य रूपमा उत्पन्न भएको जटिल स्थितिलाई तद अनुकुलको अन्तर्राष्ट्रिय नीति अख्तियार गर्छौ।
- संघर्षरत दुई वर्गमध्ये सधैंभरी एउटा वर्गको जित र अर्को वर्गको हार हुँदैन। कहिले संघर्षरत दुईवटै वर्ग समाप्त हुन पनि सक्छन्। कहिले अनिर्णित हुनसक्छ। अहिले नेपालको भनेको अनिर्णित स्थिति हो। २०६३\०६४ मा जुन सहमति सम्झौता भयो त्यो भनेको कुनै पक्षको जित नभएको हो।
- माओवादीको थुप्रै नैतिक क्षय भएको छ। कतिपय हामीले नीतिहरू अख्तियार गर्न नजान्दा भएको छ भने कतिपय व्यक्तिस्तरका छन्। तर अब त्यो द्विविधालाई अन्त्य गर्दै त्यसलाई द्विविधाको रूपमा बाहिर लैजाने भन्दा पनि शान्तिपूर्ण तर जुझारू संघर्षको बाटो लिन्छौं।
- यहाँ जति पनि विभिन्न पार्टीका सम्मेलन भए त्यो सबैमा नेता प्रधान भयो। त्यो सम्मेलनले नेताको मात्रै निर्वाचन गरेर छोड्यो। तर त्यसको विपरित हामी यसलाई नीतिप्रधान अधिवेशन सम्पन्न गर्ने सोचेका छौं। त्यसैले हाम्रो निम्ति नेताको प्रश्न, नीतिको प्रश्न पछाडि मात्रै आउँछ।
- एउटै नेता भइरहेको बाहिरी रूपमा सत्य हो। हामीले पनि जुन प्रकारको संगठनात्मक सिद्धान्त बनाउनुपर्थ्यो त्यो नसकेकै हो। तर हामी यो सम्मेलनबाट एउटा सन्देश दिन चाहान्छौं कि नेतृत्व सम्बन्धी बुझाइलाई समय अनुकुल र वैज्ञानिक बनाउन जरूरी छ।
- क्रान्ति भएको देशमा संक्रमणको समयमा लामो समय एउटा व्यक्तिनै नेतृत्व रहने खालको स्थिति रह्यो। त्यसको एउटा दुषपरिणाम पनि हामीले देख्यौं। चीनमा लामो समयसम्म माओत्सेतुङ रहनुभयो। नेतृत्व हस्तान्तरण अलि सहज ढंगले क्युवाले मात्रै सम्पन्न गर्यो। यो एउटा छलफल गर्नुपर्ने विषय भएको छ। एउटै व्यक्ति तलमाथि हुँदा के गर्ने भन्ने प्रश्न त आउनेनै भयो। पार्टीमा वैचारिक राजनीतिक सिद्धान्तसँगै संगठनात्मक सिद्धान्त पनि अपडेट गर्नुपर्छ भन्ने देखिन्छ।
- अहिले समग्रमा राजनीतिप्रतिनै उपेक्षा बढ्दै गएको छ। सामाजिक क्षेत्रमा काम गरेका र युवा आउने प्रक्रिया अवरूद्ध देखिन्छ।
- कुनै पनि विचार सधैंको लागि चिरञ्जिवी हुँदैन। त्यो विचारले खास चरणसम्म काम गर्छ। त्यसपछि त्यसलाई परिमार्जन र संशोधन गर्नुपर्ने जरूरी हुन्छ। जसले संशोधन र परिमार्जन गर्ने आँट गर्छ त्यो नेताको रूपमा अघि आउँछ।
- हामीमा विचलन आएको नेतृत्व र विचार दुवै कारणले हो। तर मुख्यतः विचारकै कारणले हो। गणतन्त्र समावेसिता संघीयता हामीले स्थापित गरेका राजनीतिक नाराहरु यसै कागजमा लेखेर बलियो हुने कुरा थिएन। संघीयता, गणतन्त्र, समावेशी प्रजातन्त्रको मुद्दालाई हामीले विस्तार गर्न सकेनौं। यसलाई विस्तार गर्न सकेको भए हामी बलियो भइरहेका हुन्थ्यौं। हामी प्रगतिशील विचार बोक्नेले यसको विकास गर्न सकेनौं।
- हामीले एकीकृत नेतृत्व विकास गर्यौं भने त्यो दिर्गजीवी हुन्छ। प्रचण्डमार्फत विचार आए पनि त्यसमा धेरैको योगदान रहन्छ। अहिले त वडा गाउँपालिकामा राजनीतिक प्रतिवेदन आएका छन्। हामीले छानेर केन्द्रीय कार्यालय पठाएका छौं। ती पनि सुझाव हुन्।
- गणतन्त्र, समावेशीता र संघीयता नेपाली राजनीतिको केन्द्रमा लरबराएका छन्। यसको पुनः ब्याख्या र यसलाई सामाजिक जीवनमा लागू गर्ने प्रतिबद्धताले नै माओवादीलाई अगाडि लैजान सक्छ।
- नेतृत्व पुस्तान्तरण र हस्तान्तरणका लागि नयाँ विचार दिनुपर्छ। नयाँ विचार युवालेनै ल्याउँछन्। हामी त्यो खोजीमा छौं।
- माओवादीले यी तीन एजेण्डा एमालेले पनि बोक्छ कि, भनेर एकता भयो। तर एमाले मुल नेतृत्व यसलाई मान्न तयार भएन। उहाँ राममन्दीर तर्फ लाग्नुभयो।
- अब कांग्रेसले यी एजेण्डा बोक्छ कि, बोक्दैन भन्ने हो। यसलाई गहिर्याउने बेलामा अझै धेरै बहस होला। यसलाई मुल रूपमा माओवादीलेनै बोक्छ। निर्वाचनमा सहकार्य भए पनि नभए पनि हामीले यी तीन एजेण्डालाई विकसति फर्ममा लिएर त्यो पुरा गर्ने प्रतिबद्धतासहित अघि बढ्नुपर्छ।
भिडिओ