कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले प्रदेश सभामा अर्को एउटा गैरसरकारी विधेयक ल्याएका छन्।
यसअघि ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ कर्णाली प्रदेश सभामा दर्ता गराएका भण्डारीले यसपटक ‘कर्णाली नव-प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ ल्याएका हुन्।
बुधबार उनले यो विधेयक कर्णाली प्रदेश सभामा दर्ता गराएका छन्।
प्रदेश अधिवेशन नचलेको समयमा भण्डारीले दर्ता गराएका यी दुवै गैरसरकारी विधेयक अबको हिउँदे अधिवेशनको क्रममा सदनमा पेश गरिने छ।
यसअघि असोज १० गते भण्डारीले दर्ता गराएको सिंजा सभ्यतासम्बन्धी विधेयक नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रको विकास र संरक्षण गर्ने उद्देश्य राखिएको छ।
यसपटक भने सांसद भण्डारीले कर्णालीमा पनि वैज्ञानिक ‘थोमस अल्वा एडिसन’ जस्ता आविष्कारकको परिकल्पना गरेका छन्।
यसै विधेयकमार्फत् कर्णालीमा आधुनिक प्रविधिको विकास र उत्पादनको परिकल्पना उनले गरेका हुन्।
बुधबार प्रदेश सभा सचिवालयमा विधेयक पेश गर्दै उनले भने, ‘इजरायलजस्तो सानो देशमा उत्पादन भएका नयाँ आधुनिक प्रविधिले अहिले विश्व बजार लिएका छन्, हिट्लरको शासनको मारमा परेको देशले गर्न सक्छ भने कर्णालीमा पनि नवप्रवर्तनको सम्भावना छ। यहाँ पनि थोमसजस्ता आविष्कारमा लगाव राख्ने व्यक्तिको आवश्यकता छ र बन्न सक्छन्।’
बिजुलीको बल्बदेखि विद्युतीय गाडीसम्मको आविष्कार गरेका अमेरिकी वैज्ञानिक एडिसनले आफ्नो जीवनकालमा १ हजार ९३ वटा नयाँ आविष्कार गरी रेकर्ड कायम गरेका थिए।
सांसद भण्डारी कर्णालीमा नयाँ आविष्कार गर्न एडिसन जस्ता व्यक्तिको आवश्यकता भएका औंल्याउँछन्।
‘लगातार एकसुरे भएन भने नयाँ आविष्कार नहुनेरहेछ, त्यो कुरा आफ्नो नाम आफैं बिर्सने एडिसन उदाहरणभित्रका एक हुन्,’ भण्डारी भन्छन्, ‘हामीले कर्णालीमा नवप्रवर्तन, अन्वेषण र आविष्कार गर्नका लागि त्यो खालको लगाव जरूरी छ।’
भण्डारीले ल्याएको नवप्रवर्तनसम्बन्धी विधेयक प्रतिष्ठान स्थापना गर्नेगरी अगाडि बढाइने बताए।
विज्ञान तथा प्रविधिको क्षेत्रमा नवप्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक एवं प्राविधिक जनशक्तिलाई परिचालन र प्रोत्साहन गर्नु यो विधेयकको उद्देश्य भएको उनले बताए।
विधेयकमा कर्णालीमा प्रयोगशालासहितको आविष्कार प्रतिष्ठानको परिकल्पना गरिएको छ।
भण्डारीले ल्याएको गैरसरकारी विधेयक पास भएमा कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान स्थापना हुनेछ। यसको केन्द्रीय कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा रहनेछ।
के छन् विधेयकमा व्यवस्था ?
विज्ञान तथा प्रविधिका विषयमा प्राथमिकताको आधारमा अध्ययन, अनुसन्धान तथा विकास प्रवर्द्धन गर्ने, प्रविधि हस्तान्तरणसम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन गर्न प्रदेश सरकारलाई सहयोग गर्ने उक्त प्रतिष्ठानको काम हुने विधेयकमा उल्लेख छ।
स्वदेशी तथा विदेशी वैज्ञानिक तथा प्रविधिसम्बन्धी निकायसँग समन्वयात्मक ढंगले कार्य सञ्चालन गर्ने/गराउने, विज्ञान तथा प्रविधिका विषयमा गोष्टी, सम्मेलन आयोजना गर्ने वा गराउने, विज्ञान प्रविधिसम्बनधी सामग्री प्रकाशन गर्ने काम प्रतिष्ठानले गर्न सक्ने व्यवस्था गरिएको छ।
विज्ञान तथा प्रविधिसँग सम्बन्धित कुनै प्रयोगशाला तथा निकायको विकासका लागि वित्तीय वा प्राविधिक सहयोग प्रदान गर्ने, नयाँ आविष्कारको प्रवर्द्धन एवम् बजारीकरण, वैज्ञानिकलाई प्रोत्साहित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन भ्रमणको व्यवस्था गर्ने जस्ता कार्य पनि प्रतिष्ठानले गर्नेछ।
कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान अन्तर्गत प्राज्ञ सभा, कार्यकारी परिषद्, केन्द्रीय कार्यालय, केन्द्र, प्रयोगशाला, अनुसन्धान उपकेन्द्र लगायतका संगठन कर्णाली प्रदेशमा रहनेछन्।
एक जना कुलपति, एक जना सहकुलपति, एक जना उपकुलपति, कार्यकारी निर्देशक, अनुसन्धान केन्द्र प्रमुख, प्रयोगशाला प्रमुख लगायतका प्रतिष्ठानका पदाधिकारी हुनेछन्।
प्राज्ञ सभा प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा रहनेछ।
कुलपति अध्यक्ष, सहकुलपति उपाध्यक्ष, प्रदेश योजना आयोगको उपाध्यक्ष, उपकुलपति, विश्वविद्यालयका उपकुलपतिमध्येबाट कुलपतिले मनोनित गरेका दुई जना, विज्ञान प्रविधिसम्बन्धी व्यवसायिक संघसंस्थाका अध्यक्षमध्येबाट कुलपतिबाट मनोनित तीन जना सदस्य रहेको प्राज्ञसभा गठन हुनेछ।
प्रतिष्ठानमा कार्यरत वैज्ञानिक तथा प्राविधिक कर्मचारी मध्येबाट दुई जना, प्राज्ञमध्येबाट पाँच जना, सहप्राज्ञ मध्येबाट दुई जना, विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका सरकारी सेवाका अधिकृतमध्येबाट दुई जना, औद्योगिक क्षेत्रका विज्ञान तथा प्रविविधसँग सम्बन्धित व्यक्ति मध्येबाट दुई जनालाई उपकलुपतिले प्राज्ञसभाको सदस्यमा मनोनित गर्ने व्यवस्था विधेयकमा छ।
यस्तै, आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, कृषि मन्त्रालयको सचिव पनि प्राज्ञ सभाको सदस्य रहनेछन्। प्रतिष्ठानको कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था विधेयकमा गरिएको छ।
प्राज्ञ सभाका पदाधिकारीको पदावधि दुई वर्ष हुनेछ।
प्रतिष्ठानमा कार्यकारी परिषद पनि रहनेछ। उपकुलपतिको अध्यक्षतामा गठन हुने कार्यकारी परिषदमा प्रतिष्ठानको कर्मचारी वा वैज्ञानिकहरूमध्येबाट दुई जना, केन्द्र प्रमुख, प्रयोगशाला प्रमुख, अनुसन्धान केन्द्र प्रमुख, आर्थिक प्रशासन प्रमुख सदस्य हुनेछन् भने कार्यकारी निर्देशक सदस्य सचिव हुनेछ।
कार्यकारी परिषदमा रहेको पदाधिकारीका पदावधि चार वर्षको हुनेछ।
यस्तै, प्राज्ञ सभाबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनका लागि नवप्रवर्तन, अन्वेषण तथा आविष्कार केन्द्र पनि प्रतिष्ठान मातहत स्थापना गर्ने व्यवस्था विधेयकमा उल्लेख छ।
आविष्कार केन्द्रको कार्यक्षेत्र प्रदेशभर हुनेछ। आविष्कार केन्द्रको केन्द्रीय कार्यालय पनि सुर्खेतमा रहने छ। केन्द्रले नै प्रतिष्ठान मातहतको प्रयोगशाला र अनुसन्धान केन्द्र स्थापना गर्नेछ।
विधेयक अनुसार कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठानको कुलपति कर्णाली प्रदेशको मुख्यमन्त्री हुनेछ। कुलपति नै प्रतिष्ठानको प्रमुख र प्राज्ञसभाको सभापति हुने छ।
यस्तै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुने छ।
प्रतिष्ठानमा उपकुलपति नियुक्त गरिनेछ। कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा प्राज्ञ सभाका दुई जना सदसय रहेको एक समिति गठन गरी उक्त समितिले उपकुलपति नियुक्त गर्नेछ।
प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुन विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यावारिधि उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव भएको हुनुपर्नेछ। उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ।
कर्णाली प्रदेशमा थोमस अल्वा एडिसनजस्ता आविष्कारकको योगदानलाई परिकल्पना गर्दै विज्ञान प्रविधिसम्बन्धी विधेयक ल्याएका सांसद भण्डारी गैरसरकारी विधेयकलाई प्राथमिकता दिन्छन्। उनले यसअघि पनि कर्णाली प्रदेश सभामा दर्ता गराएका छन्।
त्यसअघि संविधान सभा सदस्य हुँदा २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ल्याएका थिए।
उनले ल्याएको गैरसरकारी विधेयकपछि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ। अहिले उक्त प्रतिष्ठानमा डाक्टरी पढाइ हुने गरेको छ।
भण्डारीले अहिले कर्णाली प्रदेश सभामा दर्ता गराएको आविष्कारसम्बन्धी विधेयकले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै सार्थकता पाउने दाबी गरे ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउँदा कतिपयले मलाई हाँसोमा उडाउन खोजेका थिए, जुम्ला जस्तो ठाउँमा पनि प्रतिष्ठान स्थापना होला र! भनेर कुरा गर्थे,’ सांसद भण्डारीले भने, ‘आखिरमा पहिले बिरामी सहरमा पठाउने साविकको कर्णालीले अब डाक्टर पठाउन थालेको छ, यसैगरी कर्णालीमा वैज्ञानिक र आविष्कार जन्माउन पनि असम्भव छैन।’