एमालेको दसौं महाधिवेशनबाट पार्टी अध्यक्ष को होला?
यो प्रश्नमा कसैको चासो छैन। धेरैको चासो एउटै छ, केपी शर्मा ओलीको उत्तराधिकारी चाहिँ को होला?
समकालीन नेताहरू बाहिरिएपछि ओली पार्टीमा निर्विकल्प बनेका छन्। तर वर्तमान उपाध्यक्ष भीम रावलको उम्मेदवारी कायमै रह्यो भने उनी सर्वसम्मत हुन पाउने छैनन्।
कम्युनिस्ट पार्टीमा अध्यक्षपछि महासचिव शक्तिशाली हुन्छ। यो महाधिवेशनमा चुनिने महासचिवलाई एमालेको आगामी अध्यक्षका रूपमा हेरिँदैछ। यसका लागि अहिलेसम्म कसैले मुख खोलेका छैनन्। उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेललाई महासचिवको मुख्य दाबेदारका रूपमा हेरिएको त छ तर दुवैले आफ्नो दाबेदारी सार्वजनिक गरेका छैनन्।
उनीहरूले नभने पनि एमालेभित्र यी दुई नेताको शक्तिको हिसाबकिताब भने हुन थालिसकेको छ।
पौडेल र पोखरेल दुवै ओलीका विश्वासपात्र निकट नेता हुन्। तर यी दुईमध्ये ओलीले कसलाई धेरै विश्वास गर्छन् र कसलाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् भन्नेमा एमालेका बहुसंख्यक नेता-कार्यकर्ता अन्यौलमा छन्।
महासचिवका प्रमुख दाबेदार मानिएका पौडेल र पोखरेल दुवैसँग सेतोपाटीले भिडिओ कुराकानी गरेको थियो। दुवैले आफू दाबेदार रहेको खुलाउन चाहेनन् तर होइन पनि भनेनन्।
पौडेलले आफ्नो दाबी कुन पदमा रहन्छ भनेर मंसिर ११ गते मात्रै खुलाउने बताए। मंसिर ११ गते भनेको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन हो। उनले यति चाहिँ भनेका छन्, उत्तराधिकारी आन्दोलनले तय गर्छ।
पोखरेलले भने आफू ओलीको उत्तराधिकारी रहेको सांकेतिक रूपमा बताएका छन्। उनले पार्टी र ओलीलाई अप्ठयारो परेको बेला डटेर मुकाबिला गरेको र कार्यकर्ताले आफ्नो काम मूल्यांकन गरेको बताउनुले यही संकेत गर्छ।
यसरी दुवै विश्वासपात्रले एउटै पद दाबी गरेपछि ओलीको समर्थन कसलाई रहन्छ भनेर अड्कल गर्न गाह्रो छ। ओलीले सर्वसम्मत भएर आउने वा धेरै मत ल्याउनेलाई आफ्नो समर्थन रहने सार्वजनिक रूपमा बताएका छन्। उनीनिकट एक नेता भने आफूपछिका सबै पदमा निकटस्थबीच प्रतिस्पर्धा हुने भएकाले ओलीले हस्तक्षेप नगर्ने बताउँछन्।
'उहाँ (ओली) आफैंलाई भीम रावलले चुनौती दिनुभएको छ। रावलजीको मत कति आउला, त्यो अर्को पाटो हो। तर सर्वसम्मत हुन दिइएन भने उहाँले अरूलाई कसरी सर्वसम्मत बनाउन प्रयास गर्नुहोला भन्ने हो,' ती नेताले भने, 'जसले जिते पनि निकटस्थले नै जित्ने भएकाले उहाँले कसैलाई पनि आफ्नो समर्थन रहेको संकेत गर्नुहुन्न। हार्नेलाई पनि उहाँले चाहेमा गतिलो भूमिका दिन सकिहाल्नुहुन्छ।'
एकथरी नेता भने अरूबीच प्रतिस्पर्धा भए पनि पौडेल र पोखरेलबीच ओलीले नै प्रतिस्पर्धा हुन नदिने बताउँछन्।
दसबुँदे सहमतिबाट एमालेमा रहेका एक नेताको तर्क फरक छ। उनी ओलीले पोखरेललाई नै बनाउन चाहेमा पौडेलको केही नचल्ने जिकिर गर्छन्।
'पार्टीमा पौडेल बलिया छन्। उनले दाबी छाडेनन् भने ओलीले हुन्न भन्न सक्दैनन्। तर पौडेल ओलीलाई खुसी पार्न चाहन्छन्,' ती नेताले भने, 'प्रतिस्पर्धा भयो भने पौडेलले ओलीको निर्णयलाई हार्दिकतापूर्वक लिन्छन्।'
ओलीनिकट अर्का एक नेता भने यो तर्कसँग सहमत छैनन्।
'महासचिवमा एकले अर्कालाई छाड्न तयार नभए ओलीले कसरी मिलाउन सक्नुहुन्छ! फेरि उहाँले कतिलाई मिलाउने हो,' ती नेता भन्छन्, 'वरिष्ठ उपाध्यक्षमै ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी छ। त्यहाँ कसरी मिलाउने भन्ने हुन्छ। त्यसैले सर्वसम्मत हुन नसके स्वस्थ ढंगले सबैतिर निर्वाचन हुन्छ।'
ओलीले वैचारिक र आफ्नो लिगेसीका आधारमा पोखरेललाई साथ दिन सक्छन् भन्ने एकथरीको अनुमान छ।
पौडेल र पोखरेल दुवैसँग निकट एक एमाले नेताका अनुसार ओलीले पौडेललाई भन्दा पोखरेललाई मन पराउँछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पोखरेललाई अघि बढाउन चाहेकी छन्।
तर सांगठनिक र अन्य थुप्रै अवस्थामा ओलीलाई साथ दिँदै आएका नेता पौडेल हुन्। त्यसैले निर्वाचन भए पौडेलले जित्ने एमालेका नेता-कार्यकर्ताको अनुमान छ।
'पोखरेल कार्यकर्तासँग घुलमिल हुन सक्दैनन्। हामीलाई त कहिल्यै के छ, कसो छ सोध्दैनन् भने अरू कार्यकर्ताको हालत के होला?' दुवैसँग निकट ती नेताले भने, 'तर पौडेलले १०-१५ दिनसम्म भेट भएन भने फोन गरेर कता हो, भेटघाट नै हरायो त भन्छन्। यसले कार्यकर्तामाझ उनको लोकप्रियता धेरै छ।'
वरिष्ठताका आधारमा पनि पौडेल पोखरेलभन्दा अगाडि छन्। पौडेल २०४९ सालमा केन्द्रीय सदस्य बनेका थिए भने पोखरेल २०५४ मा बनेका हुन्।
पदाधिकारी भने दुवै एकैचोटि भएका हुन्। २०६५ को आठौं महाधिवेशनबाट पौडेल र पोखरेल सचिव निर्वाचित भएका थिए। २०७१ को नवौं महाधिवेशनमा पौडेल उपमहासचिव चुनिएका थिए भने पोखरेल पराजित भएका थिए। एमाले र माओवादी एकता भएर नेकपा बन्दा समेत पौडेल महासचिव थिए।
संसदीय राजनीतिमा पनि पोखरेलभन्दा पौडेल अब्बल मानिन्छन्।
पौडेलले अहिलेसम्म लडेकामध्ये २०५६ को निर्वाचन मात्र हारेका थिए। उनले २०५१, २०६४, २०७० र २०७४ को निर्वाचन जितेका थिए। जबकि, २०५१ को निर्वाचन जितेका पोखरेल २०५६ मा हारे भने २०६४ मा समानुपातिकबाट सभासद भए। त्यसपछि २०७० को निर्वाचन उनी हारे र २०७४ मा प्रदेशसभामा गए।
पोखरेललाई अहिलेका महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्य राजन भट्टराई लगायतले अघि बढाउन खोजेका छन्। खासगरी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेकाहरूको पोखरेललाई साथ छ।
आफ्ना पक्षमा वैचारिक बहस र प्रतिवाद गर्न सक्ने भएकाले ओलीको रोजाइमा पोखरेल पर्ने उनीनिकट नेताहरू तर्क गर्छन्।
'हिजो पार्टीको आवश्यकताका आधारमा उहाँ प्रदेशमा जानुभयो। मुख्यमन्त्रीबाट हटेर काठमाडौं आएपछि अध्यक्षलाई ८० प्रतिशत हल्का भएको छ,' पोखरेलनिकट एक नेताले भने, 'महाधिवेशनबाट निर्वाचित प्रतिनिधि जति पनि ओलीको पक्षमा छन्, तीमध्ये झन्डै ८० प्रतिशत पोखरेल पक्षधर छन्।'
पौडेल र पोखरेलले नै महाधिवेशनसँग सम्बन्धित सबै गतिविधिको जानकारी ओलीलाई गराउँछन्।
महाधिवेशनका भित्री कुरा ओलीबाहेक पौडेल र पोखरेललाई मात्र थाहा छ। यी दुवैले महाधिवेशन प्रतिनिधि कसको पक्षमा धेरै छन् भनेर राम्रोसँग मूल्यांकन गरेका छन्।