नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा महासचिवका एक दाबेदार मानिएको छ। पोखरेलले अहिलेसम्म सार्वजनिक रूपमा भने यसबारे केही बोलेका छैनन्।
सोमबार सेतोपाटीसँगको भिडिओ कुराकानीमा पनि उनले मुख खोलेनन्। तर आफू महासचिवको प्रमुख दाबेदार रहेको आसय उनले व्यक्त गरे।
पार्टीमा चुनौती देखा परेका बेला आफूले खेलेको भूमिका कार्यकर्ताले मूल्यांकन गर्ने पोखरेलको भनाइ छ। त्यही भूमिकाका आधारमा नेतृत्व क्षमता उजागर भइसकेको उनले बताए।
'राष्ट्रिय राजनीतिका सन्दर्भमा मेरो भूमिका प्रकट भएकै छ। नेतृत्वमा निश्चित पदमा रहनु र भूमिका निर्वाह गर्नुबीच धेरै ठूलो अन्तर हुन्छ भन्ने मलाई लाग्दैन,' उनले भने, 'नेतृत्व रक्षा गर्ने सन्दर्भमा, नयाँ जनादेशका लागि अग्रसरता लिने सन्दर्भमा, पार्टी रक्षा गर्ने सन्दर्भमा र पार्टीलाई वैचारिक र राजनीतिक हिसाबले एकताबद्ध गर्ने सन्दर्भमा हामी कसले कस्तो भूमिका खेलेका छौं भन्ने आधारमा नेतृत्व उजागर भइसक्या छ।'
केपी ओली राजनीतिक रूपमा स्थापित भइसकेकाले उनलाई दिने चुनौती प्राविधिक मात्रै भएको पोखरेलले बताए।
महाधिवेशनमा ओलीविरूद्ध परेको उम्मेदवारी राजनीतिक नभई प्रक्रियागत मात्र भएको उनको भनाइ छ। दसौं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेका छन्।
'मलाई लाग्छ केपी ओली राजनीतिक रूपमा स्थापित भइसक्नुभएको छ। प्राविधिक रूपमा कसैले चुनौती दिनु बेग्लै कुरा हो,' उनले भने, 'राजनीतिक रूपमा पार्टीले केपी ओलीलाई अर्को कार्यकालका लागि स्वीकारिसकेको छ। साथीहरूले चुनौती दिनुभयो भने त्यो प्रक्रियागत मात्रै हो। त्यो राजनीतिक चुनौती होइन।'
एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग गरेको कुराकानीका मुख्य अंश:
- हामीले चुनौती सामना गर्ने क्रममा जुन भूमिका खेलेका छौं, त्यसले नै आज पार्टी रक्षा भएको छ। त्यो टिम नै आधारभूत रूपमा मुख्य टिम हो। त्यसलाई व्यवस्थापन गर्ने काम अधिवेशनले प्राविधिक रूपमा मात्र गर्ने हो। नेतृत्व निर्माण त आन्दोलनको प्रक्रियामा चुनौतीबीच भइसक्या छ भन्ने म ठान्छु।
- केपी ओलीलाई विधानअनुसार चुनौती दिने अधिकार सबै प्रतिनिधिलाई छ। तर देशभरिको मनोविज्ञान के छ भन्ने बुझ्न जरूरी छ।
- हामीले पहिलोपटक नीतिका लागि अलग अधिवेशन र नेतृत्वका लागि अलग अधिवेशन अभ्यास गरेका छौं। विधान महाधिवेशनलाई हामीले पार्टी कार्यकर्ताको व्यापक सहभागितामा नीति निर्माण गर्ने योजनाका साथ सम्पादन गर्यौं। झन्डै ६ हजार २ सय कार्यकर्ताबीच तीनवटा दस्तावेजमाथि छलफल गरेर नीति निर्माण गरेका छौं।
- हामी जनता परिचालन गर्ने र त्यसको जगमा जनताद्वारा स्वीकार्य नेतृत्व स्थापित गर्ने र 'मास बेस' क्याडरका रूपमा पार्टी निर्माण गर्ने नीति व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय महाधिवेशन प्रयोग गर्दैछौं। राष्ट्रिय महाधिवेशनमा हामी जनताको ऐतिहासिक र अभूतपूर्व परिचालनको काम गर्नेछौं। त्यसको जगमा विधान महाधिवेशनले तयार गरेको नीति कार्यान्वयन गर्न सक्ने सक्षम नेतृत्व निर्माण गर्ने खालको काम गर्नेछौं। अब त्यो कामको प्रक्रिया सुरू भएको छ।
- देशैभरि नेतृत्व चयनको काम सकिएको छ। प्रतिनिधिहरू महाधिवेशन स्थलमा आउनुहुन्छ। उहाँहरूको अपेक्षा हामी बुझ्ने काम गर्छौं। त्यसका आधारमा नेतृत्व चयनको परामर्शमा के गर्दा उपयुक्त हुन्छ, त्यसैअनुसार अघि बढ्छौं।
- आज नेकपा एमालेमाथि जुन प्रकारको घेराबन्दी भयो, वैचारिक र राजनीतिक रूपमा जसरी एमालेलाई कमजोर पार्ने नियोजित काम भइरहेको छ, हामीले त्यसको प्रतिवादका सन्दर्भमा, नेकपाको एकता रक्षा गर्ने सन्दर्भमा वा प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यकारी स्थितिको प्रतिरक्षा गर्ने सन्दर्भमा धेरै पहलकदमी लियौं। सर्वोच्च अदालतको फैसलाबाट पार्टी पुनर्स्थापित भएपछिको सन्दर्भमा भनौं वा अध्यादेशका माध्यमबाट पार्टीलाई विभाजित गर्ने षड्यन्त्रविरूद्ध पार्टीको रक्षा सन्दर्भमा, आगामी नेतृत्वको एउटा टिम तयार भइसकेको छ।
- अहिले तपाईंहरूले जे जति क्रिया, प्रतिक्रिया सुन्नुभएको छ, त्यो सीमित कार्यकर्ताहरूको धारणामा आधारित छ।महाधिवेशनमा झन्डै २ हजार-२२ सय प्रतिनिधिहरूको उपस्थिति हुन्छ। सबै क्षेत्रबाट आएका प्रतिनिधिको साझा मनोविज्ञान के हुन्छ भन्ने आधारमा स्वाभाविक रूपमा नेतृत्व निर्माणको विधि र प्रक्रिया अघि बढ्छ।
- हामी उद्घाटन समारोहपछि पार्टी केन्द्रीय कमिटीको बैठक बस्छौं। बैठकमा नेताहरूको परामर्शबाट राष्ट्रिय दृष्टिकोण र मनोविज्ञान के बनेको छ भन्ने जानकारी रहन्छ। त्योसँगै प्रतिनिधिहरूको संवादबाट हामी स्वाभाविक रूपमा त्यसलाई अन्तिम रूप दिने अवस्थामा पुग्छौं।
- पदाधिकारी संख्या बढाउने विषयमा हामी प्रवेश गरेका छैनौं।
- नेतृत्वमा आएर पार्टी निर्माणमा भूमिका खेल्न पाए हुन्थ्यो भन्ने बहुसंख्यक प्रतिनिधिको चाहना छ। त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्छौं।
- हामी कसैलाई निषेध गर्दैनौं। नेतृत्वको आकांक्षा राखेर एकभन्दा बढी उम्मेदवार बन्ने स्थिति भयो भने प्रक्रियामा जान्छ। प्रक्रियाबाट प्रतिनिधिहरूले त्यसलाई निरूपण गर्नुहुन्छ।
- पार्टीको प्रमुख पदभन्दा अन्य पदहरूमै आकांक्षी धेरै देखिन्छन्। त्यो आकांक्षा महाधिवेशनको हलसम्म र निर्वाचन प्रक्रियासम्म कति रहन्छ भन्ने मुख्य कुरा हो। अहिले आकांक्षा प्रकट हुने र उम्मेदवारी दर्ताको समयभित्र आकांक्षा प्रकट हुनेबीच भिन्नता हुन्छ।
- मनोनयन फिर्ता लिने समयमा पनि कायम रहेको अवस्थामा मात्रै त्यसलाई उम्मेदवारी दर्ता भएको मानिन्छ। त्यो समयसम्म सहमतिको गुञ्जायस रहन्छ।
- कतिपय साथीहरू हिजोको अन्तरपार्टी संघर्षमा फरक धारमा रहे पनि पार्टी विभाजन गर्ने षड्यन्त्रविरूद्ध उभिनुभएको थियो। ती साथीहरूको निर्णयलाई विधान महाधिवेशनले सकारात्मक कदमका रूपमा ग्रहण गरेको छ।
- हाम्रो पार्टीको परम्पराको हिसाबले भन्ने हो भने जति बेला मुख्य नेतृत्व दोहोरिन्छ, अन्य जिम्मेवारीका पदहरूमा नयाँ व्यक्तिको प्रवेश भएको देखिन्छ। आठौं महाधिवशेनमा बहालवाला महासचिव अध्यक्ष बन्नुभयो, महासचिवका रूपमा नयाँ व्यक्ति आउनुभयो। नवौं महाधिवेशनका सन्दर्भमा नयाँ व्यक्ति अध्यक्ष बन्नुभयो, बहालवाला महासचिव नै महासचिव रहनुभयो।
- मुख्य पद दोहोरिँदा अन्य पदमा नयाँ मान्छे स्थापित गरेर पार्टीको गतिशिलता प्रवर्द्धन गर्दै आएका छौं। त्यो काम सम्भवत: यो अधिवेशनका माध्यमबाट सम्भव छ।
- अधिवेशन भनेकै कार्यकर्ताको सम्प्रभुता स्थापित गर्ने थलो हो। त्यस अर्थमा हामीले हाम्रा आग्रहहरू लाद्ने समय होइन।कार्यकर्ताले के चाहन्छन्, त्यसलाई सम्बोधन गर्न नेतृत्व तयार हुनुपर्छ।