जनता समाजवादी पार्टी (जसपा)का चितवन जिल्ला अध्यक्ष प्रेमबहादुर भुजेल र नेता पदमबहादुर गुरूङ मंगलबार मध्यान्ह जिल्ला प्रशासन कार्यालयमा भेटिए।
आफ्नो पार्टीका नेता स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठ मंसिर १० गते चितवन हुँदै नवलपरासी जाने कार्यक्रम रहेकाले समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्न उनीहरू पुगेका थिए। तर प्रमुख जिल्ला अधिकार अस्मान तामाङले उनीहरूलाई मन्त्रीलाई त्यो दिन नबोलाउन अनुरोध गरे।
‘मन्त्रीज्यूलाई कि अघिल्लो दिन नै भरतपुर आएर नवलपरासी पुर्याउनु पर्ने भयो, कि कार्यक्रम सार्नुपर्यो,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘त्यो दिन उहाँलाई भरतपुर क्रस गराउन सम्भव छैनजस्तो लाग्छ।’
नेकपा एमालेले राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा देशभरबाट ५ लाख कार्यकर्ता भरतपुर उतार्ने घोषणा गरेको छ। त्यहीअनुरूप पार्टीले देशभर तयारी गरिरहेको छ।
लाखौं कार्यकर्ता भरतपुर आइपुग्दा ट्राफिक र सुरक्षा व्यवस्थापनमा कठिनाइ हुनसक्ने आकलन गरेर चितवन प्रशासनले मंसिरको सुरूबाटै योजना बनाइरहेको प्रजिअ तामाङले बताए।
‘चितवनमा महाधिवेशन गर्ने र पाँच लाख कार्यकर्ता ल्याउने जानकारी भएबाटै हामी पटक-पटक छलफलमा छौं,’ उनले भने, ‘यसको व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेका छौं।’
प्रजिअ तामाङकाअनुसार मंसिर १० गते हुने उद्घाटन कार्यक्रममा मानव चापलाई मध्यनजर गरेर बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म भरतपुरको मुख्य क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ गर्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको छ। नो भेइकल मुभमेन्ट भनिएको क्षेत्रमा कुनै पनि किसिमका सवारी साधन चल्न पाउने छैनन्।
सवारी चल्न नपाउने क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकको केही हिस्सा पनि पर्छ।
सुरक्षा समितिको बैठकले पूर्वी नेपालबाट आउने सवारी साधन ९ बजेपछि साँझसम्म चितवन प्रवेश गर्न नपाउने निर्णय गरेको छ। पश्चिमबाट आउने सवारी साधन नारायणीपारि गैंडाकोटमै रोकिनेछन्। गैंडाकोटबाट पैदलयात्रा गरेर चितवन प्रवेश गर्न भने दिइनेछ।
‘त्यसदिन नारायणीवारि एम्बुलेन्स पनि आउन सम्भव छैन, पश्चिमबाट आउने सवारी साधनको व्यवस्थापन गर्ने जिम्मा नवलपुरको जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई दिइएको छ,’ उनले भने।
पूर्वी नेपालबाट आउने सवारी साधन केन्द्रीय बसपार्कमा रोकिनेछन्। बसपार्कमा नअटाएका सवारी साधन अहिले ६ लेन बन्दै गरेको राजमार्गमा एकतर्फ पार्किङ गरिनेछ। त्यहाँ नअटे गोद्राङबाट बीसहजार ताल जाने बाटो र टिकौली जंगल पारी रहेको चौरमा पनि पार्किङ गर्न सकिने तामाङले बताए।
काठमाडौं, पोखरालगायतका क्षेत्रबाट नारायणगढ-मुग्लिन सडक हुँदै आउने सवारी साधन आँपटारी कट्न पाउने छैनन्। ती सवारी साधनलाई आँपटारीमै रहेको नेपाल ट्रष्टको जमिन, देवघाट जाने सडक, रामनगर र विशालचोक जाने सडक तथा गणेशस्थान मन्दिर नजिक र प्रहरी तामिल केन्द्रनजिक रहेको चौरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
दक्षिणतर्फ माडी र पश्चिम चितवनतर्फबाट आउने सवारी साधन पनि राजमार्गभन्दा परै रोकिनेछन्। समग्रमा भरतपुरमा १३ स्थानमा पार्किङ क्षेत्र बनाएर सवारी साधन व्यवस्थापन गर्ने तयारी भएको प्रजिअ तामाङले बताए।
महाधिवेशनको बन्दसत्रका लागि सौराहा जाने प्रतिनिधिका लागि गाडी नारायणगढको क्याम्पाचौरमा राखिनेछन्। उद्घाटन कार्यक्रम सकिएपछि त्यहाँ रहने ४० वटा गाडीले प्रतिनिधिलाई सौराहा पुर्याउने तय गरिएको नेकपा एमालेले जनाएको छ।
चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले सुरक्षा समितिको निर्णय देशभरका प्रहरी कार्यालयहरुमा सर्कुलर हुने बताए।
‘नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरेर गरिएको नो भेइकल मुभमेन्ट राजमार्गमा पनि हुने भएकाले यो निर्णय देशभर सर्कुलर हुनेछ, सुरक्षा समितिले यो निर्णय कार्यान्वयनमा सहयोग गरिदिन सबैमा अपिल र अनुरोध पनि गरेको छ,’ एसपी अधिकारीले भने, ‘केही दिन अघिबाटै जानकारी भएपछि त त्यो समयमा नियमित सवारी साधन आउँदैनन् होला।’
उनले केन्द्रीय बसपार्कबाट पूर्व-पश्चिम राजमार्ग हुँदै चौबीसकोठीदेखि बाह्रघरे, पुल्चोक, आँपटारी, विशालचोक, मालपोत चोक, जिल्ला प्रशासन कार्यालयबाट केन्द्रीय बसपार्कसम्मको सडक र यसभन्दा भित्रका सडकमा दिनभर सवारी साधन चल्न नपाउने बताए।
‘महाधिवेशनमा कति कार्यकर्ता आउलान् भन्ने त हामीले भन्न सक्ने कुरा भएन तर हामीले पाँच लाख मान्छे आउँदा पनि ट्राफिक व्यवस्थापन गर्नेगरी तयारी गरिरहेका छौं।’
नेकपा एमालेले महाधिवेशन उद्घाटनका दिन भरतपुरका ७ ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। ती ७ ठाउँमै सवारी साधन भने पुग्ने छैनन्। सुरक्षा समितिले निर्णय गरेको ठाउँमा गाडी रोकिएपछि हिँडेर सम्बन्धित ठाउँमा जानुपर्नेछ।
एसपी अधिकारीले महाधिवेशनको उद्घाटन कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त पारिने बताए। त्यसका लागि विभिन्न जिल्लाबाट सुरक्षाकर्मी चितवन आउने उनले बताए।
उद्घाटनका दिन डिआइजीको कमाण्डमा ८ सय २१ जना प्रहरी खटिनेछन्। जिल्ला प्रहरी कार्यालयका १ सय ६२ जना र अन्यत्रबाट आउने ६ सय ५९ जना जनपद प्रहरी खटिनेछन्। ४ सय ४९ जना सशस्त्र प्रहरी तैनाथ हुनेछन्। २०० जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा खटिनेछन्। चितवनमा अहिले ४० जना ट्राफिक प्रहरीमात्रै छन्। उद्घाटनपछि त्यो संख्या बिस्तारै घट्दै जाने अधिकारीले बताए।
‘बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा हुने तय भएकाले त्यो साँघुरो घेराका लागि ठूलो जनशक्ति आवश्यक पर्दैन,’ उनले भने, ‘उद्घाटन कार्यक्रममा भिभिआइपी, भिआइपी र विदेशी पाहुनाहरु पनि आउने भएकाले सुरक्षा व्यवस्था कडा हुनेछ।’
महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने नेकपा एमालेले जनाएको छ। देउवा १० गते आउनेछन्। एमालेका अधिकांश नेता ९ गते नै आइसक्ने र महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ता पनि अघिल्लै दिनबाट आउन थाल्ने भएकाले ९ गतेबाटै ट्राफिक व्यवस्थापनमा धेरै जनशक्ति खट्ने अधिकारीले बताए।
सोही दिन नेपाली कांग्रेसको जिल्ला अधिवेशन पनि छ। चितवनमा नेकपा एमालेको महाधिवेशन भएका कारण व्यवस्थापन गर्न कठिनाइ हुने देखिपछि नेपाली कांग्रेसलाई निर्वाचन भोलिपल्ट गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।
‘जिल्ला अधिवेशनमा कम्तीमा ५ हजार कार्यकर्ता करिब २ हजार गाडी आउने आँकलन भएपछि हामीले नेपाली कांग्रेसलाई कार्यक्रम भोलिपल्ट सारिदिन आग्रह गरेका थियौं। उहाँहरू १० गते मनोनयन दर्तामात्र गर्ने निर्वाचन भोलिपल्ट गर्नमा सहमत हुनुभएको छ,’ तामाङले भने, ‘यसले केही भनेपनि सहज हुने भएको छ।’
मंसिर १० गते आइपुग्ने भिभिआइपी, भिआइपी र विदेशी पाहुनाहरू हेलिकप्टर, जहाज वा सडकमार्ग जताबाट आए पनि महाधिवेशनस्थलसम्म पुर्याउने रुट तय भएको उनले बताए।
सामान्यत: दैनिक १२ देखि १५ हजार गाडी चितवनका राजमार्गबाट क्रस हुने गरेको बागमती ट्राफिक प्रहरी कार्यालया प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। महाधिवेशनका दिन ती गाडी चल्ने छैनन्। उक्त दिन नेकपा एमालेका कार्यकर्ता बोकेर ३ देखि ५ हजार ठूला बस, ८ देखि १० हजार वटा साना तथा मझौला गाडी, ५ देखि ७ हजारवटा मोटरसाइकल भरतपुर आइपुग्ने आँकलन गरेर त्यहीअनुसार तयारी गरिएको कोइरालाले बताए। उक्त दिन नारायणगढ-मुग्लिन सडकबाट मात्रै करिब १ हजारवटा ठूला बस, ६ हजार भन्दा बढी साना तथा मझौला गाडी, २ हजार बढी मोरसाइकल आउने आँकलन ट्राफिक प्रहरीको छ।