एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले आसन्न महाधिवेशनमा आफू कुन पदमा उठ्छु भनेर अहिल्यै नभने पनि परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन्।
आइतबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै बास्कोटाले एमालेमा जुनसुकै पदका लागि चुनाव हुनु नौलो नभएको बताए। उनले केपी ओली अध्यक्ष चुनिने शतप्रतिशतजस्तै भएको र ओलीले पदाधिकारीमा कसैको पक्ष नलिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
'आम रूपमा सोच्दा उहाँले चाहेको मान्छे पदाधिकारी बन्नेजस्तो देखिन्छ। तर मताधिकार त स्वयं प्रतिनिधिमा निहित हुन्छ। त्यसो हुँदा अध्यक्षले यसलाई भोट हाल, यसलाई नहाल भनेर कुनै आदेश, फर्मान वा संकेत जारी गर्ने सम्भावना म देख्दिनँ,' उनले भने, 'व्यक्तिगत प्रतिस्पर्धा हुन्छ। प्यानलगत प्रतिस्पर्धालाई हामीले बन्देज गरेका छौं। सर्वसम्मत भयो भने अलग्गै हो तर निर्वाचन भयो भने त्यस्तो हुँदैन।'
एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर हामीले केन्द्रीय सदस्य गोकुल बास्कोटासँग गरेको कुराकानीका मुख्य अंश यस प्रकार छन्:
- म केन्द्रीय सदस्यको उम्मेदवार त बनिहाल्छु। त्योभन्दा माथि कस्तो परिस्थिति बन्छ, को-को साथीहरूले इच्छा राख्छन्, म आफूलाई कहाँ उपयुक्त देख्छु, मेरो निर्णयप्रति महाधिवेशन प्रतिनिधिहरूको कस्तो मूल्यांकन हुन सक्छ भन्ने आकलन पनि म गर्छु। त्योभन्दा बढी मैले अहिले केही सोचेको छैन।
- पदाधिकारीमा जाने नैसर्गिक अधिकार सबैको छ। तर नेतृत्व निर्माणको हाम्रो आफ्नै विज्ञान छ। नेतृत्वमा जाने भनेको निरन्तरता, गतिशिलता र चुनौतीसँग सामना गर्न सक्ने क्षमताको कुरा हो। संघर्षका पाटा पनि हुन्छन्। इतिहाससँग जोडिएको कुरा हुन्छ। म यी सबैमा कहाँ पर्छु भन्ने मेरो आफ्नो पनि मूल्यांकन हुन्छ। त्यस आधारमा मैले टुंगो गर्छु।
- सचिवका लागि मेरो योग्यता नपुग्ने होइन। तर त्यसका लागि पनि हामीले धेरै पक्ष हेर्नुपर्छ। हाम्रो भौगोलिक सन्तुलन मिलाउनुपर्छ। समकालीन र सिनियरहरूको स्थिति हेरेर अगाडि बढ्ने हो।
- उहाँ (भीम रावल) ले आफ्नो अधिकारको सन्दर्भमा स्पष्ट पार्नुभयो। उहाँ उठ्नुहोला, उहाँले कति मत पाउनुहोला, त्यो त महाधिवेशन प्रतिनिधिको हातमा छ। त्यो अधिकार एमालेभित्र छ। त्यसमा उत्तेजित हुनुपर्ने कुनै कारण छैन। किन उम्मेदवार बन्नुभयो भनेर छाती पिट्नुपर्ने वा औंला ठड्याउनपर्ने कुनै कारण छैन।
- एमालेका केही चुनौती छन्। ती चुनौती र महाधिवेशन प्रतिनिधिको मनस्थिति हेर्दा सहमतिका आधारमा हुनुपर्छ भन्ने छ। तर सहमतिका निम्ति कसै न कसैले त्याग गर्नुपर्छ। हामीसँग एक सय एक नेता र खारिएको नयाँ पुस्ता छ। एमालेको स्थापनादेखि अबको २०-२५ वर्ष नेतृत्व गर्नसक्ने पुस्ता छ। यसको सन्तुलन हामीले हेर्नुपर्छ।
- हामीसँग पद थोरै छ। सर्वसम्मत भयो भने समुन्नत हो, भएन भने पनि चुनाव उन्नत हो।
- पदाधिकारी बढाइयो भने पार्टीको सांगठनिक आधार बलियो हुँदैन। यो मास पार्टी होइन। मासमा अन्तरघुलित भएको कार्यकर्तामा आधारित पार्टी हो।
- म सचिव हुन योग्य छु भन्ने लाग्छ। मसँगैका अरू साथीलाई पनि स्वाभाविक रूपमा लाग्छ। त्यसो भए व्यवस्थापनका लागि थप्नुपर्ने हुन्छ। सात जना उपाध्यक्ष हुने हो भने नौ जना किन नहुने भन्ने हुन्छ। समावेशिताको छुट्टै कुरा आउन सक्छ। व्यक्तिको व्यवस्थापन निम्ति पार्टीको संगठनात्मक संरचना बदल्दै गइयो भने अनन्त गञ्जागोलमा फस्न गइन्छ। त्यसो भयो भने विधान महाधिवेशनको निर्णयलाई चुनौती दिन्छ। त्यो गलत निर्णय रहेछ भन्ने ठहर हुन्छ।
- केपी ओली दोहोरिने कुरा सय प्रतिशत निश्चित छ। अब सर्वसम्मत भयो कि भएन भन्नेमा भीम रावल कति बेलासम्म अडिनुहुन्छ भन्नेमा भर पर्छ। अडिनुहुन्छ कि अडिनुहुन्न म भन्न सक्दिनँ। उहाँले अहिलेको स्थितिमा यो नगरेको भए हुन्थ्यो। अधिकार प्रयोगका हिसाबले त उहाँले गरेको निर्णयमा सम्मानै छ।
- एमाले एउटै पोखरी हो। त्यहाँ कोही गोही, कोही माछा भन्ने छैन। सबै माछा छन्। ठूलो माछाले सानो माछा खान्छ कि भन्ने होला, त्यस्तो हुँदैन।
- महाधिवेशन एउटा प्रक्रिया हो। त्यहाँ जो पनि पदमा उठ्न सक्छ। यसको फैसला प्रतिनिधिले गर्छन्। माधव नेपालले गलत गर्नुभयो भनेर उहाँहरू एमालेमा बस्नुभएको हो। अब पूर्व माधव नेपाल पक्ष वा पूर्वमाओवादी भन्ने रहँदैन। एमालेको महाधिवेशनले जे कुराको सन्तुलन कायम गर्नुपर्ने हो, त्यो गर्छ। सप्तरंगी खालको नेतृत्व बन्छ।