नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा आफू अध्यक्ष उठ्ने घोषणा गरेका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
एमालेमा प्राय: सबै नेताहरूले दशौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै दोहोर्याउनुको विकल्प नभएको बताइरहेका बेला रावलले उनलाई चुनौती दिएका हुन्।
एमाले अध्यक्ष ओलीले पनि पार्टीलाई अहिले चारैतिरबाट आक्रमण भइरहेकाले सहमतिका आधारमा पार्टी चलाउनु पर्ने तर्क गरिरहेका छन्। त्यहीअनुसार एमालेका प्रतिनिधि पनि प्राय: सहमतिकै आधारमा भएका छन्।
रावल नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए। पार्टीभित्र उनी माधवकुमार नेपालको समूहमा थिए। गत भदौमा एमाले विभाजित हुँदा रावलसहित नेपाल पक्षका १० नेताले उनलाई साथ दिएका थिएनन्। उनीहरू पार्टी एकता रक्षा गर्नु पर्ने भन्दै एमालेमै बसेका थिए। तत्कालीन नेकपा र पछि नेकपा एमाले हुँदा रावल अध्यक्ष ओलीको खरो आलोचक थिए।
६६ वर्ष भइसकेका रावल एमालेको विधानअनुसार अर्को महाधिवेशनमा उम्मेदवार हुन पाउँदैनन्। एमालेले केन्द्रीय पदाधिकारीका लागि ७० वर्षपछि उम्मेदवारी दिन नपाइने व्यवस्था गरेको छ।
यसअघि गृहजिल्ला अछाममा पुगेर पनि आफू अध्यक्षमा उठ्ने संकेत गरेका थिए। रावलले उम्मेदवारी घोषणा गरे पनि उनी एक्लै लड्न लागेका हुन् कि अन्य पदाधिकारीमा प्यानल बनाएका छन् भन्ने खुलिसकेको छैन।
यसबारे सोधिएको प्रश्नमा रावलले पार्टीले प्यानल बनाउन प्रतिबन्ध लगाएकाले प्यानल नबनाएको उल्लेख गर्दै आफ्नो टिमका साथीहरूले एक्लाएक्लै उम्मेदवारी दिने बताए।
महाधिवेशन सुरू हुन पाँच दिनमात्र बाँकी हुँदा आफूले अध्यक्ष ओलीसहितका नेताहरूसँग उम्मेदवारीबारे छलफल गर्न प्रस्ताव राखे पनि सुनुवाइ नभएको रावलको भनाइ छ।
‘अब कसरी अगाडि बढ्ने भन्नेबारेमा नेतृत्वसँग कुराकानीको प्रस्ताव राखे पनि सुनुवाइ नभएकाले आफूभित्रको निष्ठासहित महाधिवेशन आउन पाँच दिन बाँकी रहँदा मैले अध्यक्षमा उम्मेदवारी दिने निर्क्यौल गरें,’ रावलले भने।