नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ।
आचार्यले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर काम गर्न इच्छुक रहेकोले उपसभापति पदमा उठ्न लागेको बताएका छन्।
कांग्रेसमा उक्त प्रतिष्ठान उपसभापतिको नेतृत्वमा रहन्छ। उनले वैचारिक बहस चलाउन यो प्रतिष्ठान उपयोगी हुने पनि बताए।
पूर्वअर्थमन्त्री, वनमन्त्रीसमेत रहेका आचार्य कांग्रेसमा निष्ठावान नेताका रूपमा पनि चिनिन्छन्। गुटको धमिराले कांग्रेसलाई कमजोर बनाएकोले गुट अन्त्य हुनुपर्ने पक्षमा आचार्य उभिएका छन्।
उपसभापति पदमा चुनाव उठ्ने घोषणा गरेका आचार्यसँग सेतोपाटीका प्रशन्न पोखरेल र मनोज सत्यालले गरेको अन्तर्वार्ताको सम्पादित अंश:
कांग्रेसको महाधिवेशन आउन तीन साता मात्रै बाँकी छ, तपाईं कुन पदमा उठ्ने?
पार्टीको केन्द्रीय उपसभापति पदमा मैले उम्मेदवारी दिने निर्णय गरेको छु। हाम्रो पार्टीमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान भन्ने संरचना छ। पार्टी उपसभापति त्यसको प्रमुख भएर काम गर्ने वैधानिक व्यवस्था छ। म त्यो वैधानिक फोरममा बसेर पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा लिनुपर्ने नीतिगत अडान र अवधारणा के हुन सक्दछन् भन्ने र पार्टीभित्र वैचारिक प्रशिक्षण गर्न सकिन्छ भन्ने रूचीले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु। मैले पार्टीमा लामो समयसम्म काम गरेको क्षेत्र पनि यही नै हो। मैले पार्टीका दस्ताबेज र घोषणापत्र बनाउनेजस्ता काममा केही न केही योगदान गर्दै आएको छु।
मंसिर २१ मै उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका छ। १८ दिन बाँकी छ, प्रचारप्रसारका लागि यो समय पर्याप्त छ?
परम्परागत दृष्टिकोणबाट हेर्दा यति समय पर्याप्त नहोला। तर मलाई पार्टीका साथीहरूका माझमा एजेन्डा प्रस्तुत गर्न सहजै हुन्छ जस्तो लागेको छ। परम्परागत शैलीबाट म उम्मेदवारी घोषणा गरेको छैन। म उम्मेदवार बन्नुपर्ने केही कारण छन्- हाम्रो संगठनसँग जोडिएका केही मुद्दाका प्रभाव राष्ट्रिय राजनीतिमा पनि पर्छ। पार्टीका पदाधिकारीको पदावधिसँग जोडिएका कुरा छन्। विधानले दुई पदावधिमा काम गर्ने सुविधा दिन्छ। मलाई के लाग्छ भने एक कार्यकालभन्दा बढी सोही पदमा दोहोरिएर जाने जुन सुविधा छ, त्यसले पदमा बसेको साथीले पद र कार्यालयको बल प्रयोग गर्ने परिस्थिति देखियो।
आफू दोहोरिने सुनिश्चित नहुँदा प्रक्रियाहरू नै अगाडि नबढ्ने पनि देखिएका छन्। यसले गुटको राजनीतिलाई पनि प्रश्रय दिन्छ। गुटको राजनीतिको धमिराले हाम्रो पार्टी संगठनको शक्तिलाई खाइराखेको मैले देखेको छु।
हामीले बहुपदको सिर्जना पनि गर्यौं। हरेक पदमा गुटका तवरले निर्वाचन हुने अभ्यास विकृत अभ्यास थालनी भयो यसले पनि सांगठनिक शक्ति कमजोर र निर्वाचन प्रक्रिया प्रदूषित गरेको छ।
हामीका निर्वाचन विचार र नीतिभन्दा पनि अनुहार केन्द्रित हुन थालेको छ।
अर्कोतर्फ छलफल गर्ने वैधानिक अधिकारप्राप्त निकाय केन्द्रीय कार्यसमितिमा अत्यन्त कम छलफल हुने गरेको छ। केन्द्रीय कार्यसमितिको वैधानिकता पदाधिकारीको वृत्तले अपहरण गरेकोजस्तो पनि देखिन्छ। यो केन्द्रमा मात्रै होइन तलैसम्म यस्तो प्रवृत्ति देखिन्छ।
अर्को भने विचारसहितको नेतृत्व चयन गर्ने प्रवृत्ति कम हुँदै गएको छ। यसले गर्दा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गयो। बल प्रयोग र अस्वस्थ्य प्रतिस्पर्धा हुँदा विचार र नीतिमा बहस हुन छाड्यो। पैसाको प्रभावले नेतृत्व चयन गर्ने प्रवृत्तिले मलाई चिन्तित बनाएको छ।
यससँगै राष्ट्रिय राजनीतिमा तीनखाले गहिरो संकट म देख्छु। पहिलो, कोरोनाले जनताको सामाजिक र आर्थिक अवस्था क्षतिग्रस्त पारेको छ। जनताको जीवन र जीविकामा गहिरो धक्का लागेको तर यसबाट रिकोभरीको योजनाबारे अत्यन्तै मधुरो छलफल हुने गरेको छ। राष्ट्रिय राजनीतिमा यसले प्राथमिकता नै पाएको छैन।
यसका साथै जलवायु संकट पनि आएको छ।
अर्कोतर्फ देशका प्रमुख संवैधानिक निकायहरू संकटमा गएको देखिएको छ। जनतालाई सोध्ने हो भने सरकार चलेको छ? चलेको छैन। संसद चलेको छ? चलेको छैन। न्याय प्रणाली चलेको छैन। न्याय प्रणालीमा यति ठूलो अराजकता छ। न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार र अनियमितता भइरहेका कुरा अध्ययनबाट आइरहेका छन्। यसरी कसरी संविधान चल्छ? कसरी लोकतन्त्र चल्छ? प्रजातान्त्रिक मूल्यमान्यता विघटनको प्रवृत्ति छ यसलाई सम्बोधन गर्ने नेतृत्व र बहसमा ल्याउने अवसर पनि मैले यही महाधिवेशनलाई देखेको छु।
अर्कोतर्फ हाम्रो छिमेकी, अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धाको गम्भीर प्रभावको छ। यी विषय राष्ट्रिय अस्तित्वसँग पनि जोडिन्छन्। यी एजेन्डामा छलफल गर्ने व्यग्र चिन्ता पार्टी नेतृत्वसँग नभएसम्म मुलुकलाई कांग्रेसले गर्दै आएको ऐतिहासिक भूमिका र योगदान निर्वाह गर्न सक्दैनौं।
मेरो उम्मेदवारी जय र पराजयमा सीमित म राख्दिनँ। म जितौं वा हारौं। म गुटको राजनीतिबाट ग्रसित पार्टी र धमिरा लागेको सांगठानिक शक्ति र प्रदूषित निर्वाचन प्रणाली देख्दैछु।
यस्तै विचार र नीति प्रस्तावित नगरी नेता बन्न खोजिँदैछ यो गम्भीर चिन्ता म महाधिवेशनमा आउने साथीहरूसँग सेयर गर्न चाहन्छु।
तपाईंले उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभयो, तपाईंको सभापति को हो?
मैले अगाडि सारेका एजेन्डा बोक्ने सामर्थ भएको व्यक्ति मेरो सभापति हुन्छ। म आफू सभापतिको दौडमा छैन। मभन्दा सिनियर र मभन्दा पछाडिका साथीहरू पनि सभापतिको दौडमा हुनुहुन्छ।
म विचारको राजनीतिलाई प्रभावित गर्न सकूँ भन्ने मेरो चाहना छ। मैले सभापति व्यक्तिका रूपमा चयन गर्ने भन्दा पनि यी मुद्दा बोकेर साथीहरू आउनुस् भन्ने हो।
तपाईंले नीतिलाई प्राथमिकता राख्नुभएको छ। तर नेताहरू नीतिभन्दा नेतृत्वलाई प्राथमिकता राखेका छन् यसलाई कसरी लिनुभएको छ?
यो गलत हो। नीतिवेगर नेतृत्व चयनको प्रक्रिया प्रतिउत्पादक हुन्छ भन्ने लाग्छ। त्यसमाथि गुटको राजनीति भनेको आन्तरिक लोकतन्त्रमाथि क्षयिकरण हो। हामीसँग समय नपुगेर नीति र नेतृत्वमा बहस नगरेको होइन। ६ वर्ष गुजारिसकियो यो कार्यकाल।
गुटको धमिराले पार्टी सिध्यायो भन्नुभएको छ। तपाईंको उम्मेदवारी स्वतन्त्र हिसावले कि कुनै नेताको पछि लागेर?
मैले आफूलाई साथीहरूको विशाल पङ्तिको विवेकमा छाडेको छु। मेरो निम्ति जित र हार महत्वपूर्ण कुरा होइन। जय र पराजयको कुनै चिन्ता मेरो मनमा छैन। मैले यो एजेन्डामा बहुसंख्यक साथीहरूको ध्यानाकर्षण गर्न सकेँ भने मेरो उम्मेदवारी दिने औचित्य पूरा हुन्छ भन्ने ठानेको छु।
मैले कुनै नेता अड्याउन जरूरी पनि छैन। साथीहरूले यो मुद्दामा पार्टी हेलिनुपर्छ र राष्ट्रिय मुद्दा बनाउनुपर्छ भन्नुभयो भने मेरो विजय हुन्छ। सबैको शुभेच्छा चाहन्छु तर म नेता अठ्याउन जान्न।
केन्द्रीय नीति प्रतिष्ठानमा जान उपसभापति उम्मेदवारी हो भन्नुभयो, पार्टीभित्र त्यो प्रतिष्ठान गुट निर्माणको थलोको रूपमा पनि विकसित भइरहेको छ नि!
त्यसलाई बदल्नुपर्छ भन्ने हो। मैले त्यो प्लेटफर्मलाई प्रयोग गरेर मैले अगाडि सारेका एजेन्डाहरूका विज्ञसँग छलफल गरेर धारणा बनाउन चाहन्छु।
पराराष्ट्र नीतिलगायतमा अन्तरपार्टी संवाद पनि आवश्यक छ। संसद, सरकार र न्याय प्रणालीमा यति ठूलो क्षति देखिएको छ यो कांग्रेसको मात्र होइन राष्ट्रिय एजेन्डा हो। यसका लागि बृहत छलफल गर्नुपर्छ।
तपाईंलाई महाधिवेशन प्रतिनिधिहरूले किन मत दिने?
मैले उठाएका मुद्दा हेरेर मत दिने हो। संगठनदेखिका कुरा मैले उठाएको छु। गुटको समिकरणले एकले अर्को गुटलाई हराउने अभ्यास रहिरहने हो भने छोटो अवधिमा हाम्रो पार्टीको शक्ति व्यापक क्षयिकरण हुने सम्भावना छ। विधानलाई गम्भीर ढंगले पुनर्विचार गर्नुपर्छ। हाम्रो निर्णय प्रक्रिया अलोकतान्त्रिक बन्न दिनु हुन्न। विधानमा त्रुटि छन् भने खोजेर सुधार गर्नुपर्छ। यिनै एजेन्डा सुधार गर्न मलाई भोट दिनुहोस् भन्ने हो।
तपाईंले एक व्यक्ति एक कार्यकालको नीति आवश्यक छ भन्नुभएको हो?
मैले त्यही भने। संगठनमा धमिरा लाग्नुका कारण र स्रोत भनेको एकपटक सभापति भएको व्यक्ति सोही पदमा दोहोर्याउन चाहन्छ। दोहोर्याउने प्रक्रिया बल प्रयोग र अस्वभाविक अभ्यास हुने गरेको छ। विधानसँग सम्बन्धित कार्यकाल, निर्वाचन प्रणालीलगायत विषयबारे सोच्ने बेला भएको छ।
कांग्रेसले सहमहामन्त्री ८ जना राखेको छ। नेता व्यवस्थापन गर्न यो संख्या बढाउने प्रस्ताव सभापति शेरबहादुर देउवाबाट आएको छ नि!
यिनै कुराहरूबाट विकृति जन्मिराखेको छ। पार्टीलाई समावेशी बनाउने कुरा उचित छ। तर समावेशी बनाउने नाममा प्रतिनिधित्वको संरचनामा अस्वस्थ्यकर प्रयोग गर्दैछौं, व्यक्तिलाई व्यवस्थापन गर्ने ढंगले पदहरूको सिर्जना गर्ने होडबाजी चल्दैछ।
उपसभापतिमा उम्मेदवारी दिनेबारे नेताहरूसँग पनि कुरा भएको छ?
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि कुरा गरेको छु। उम्मेवारी दिने यी एजेन्डाबारे पनि भनेको छु। जिल्लामा नेतृत्वमा रहेका साथीहरूलाई पनि आफ्ना कुरा राखिरहेको छु। मेरो क्षमता र निष्ठामा आशंका छन् भने भन्नुस् भनेको छु, प्रतिक्रिया राम्रै पाएको छु।
देउवा र पौडेलले तपाईंका कुरा हामी उठाइहाल्छौं, उम्मेदवारीबाट पछि हट्नुस् भनेमा के गर्नुहुन्छ?
मलाई उहाँहरूले त्यस्तो भन्नुभएको छैन। म मेरा कुरा महाधिवेशनमा उठाउने निक्यौल गरेको छु।