नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन तीन सातामात्रै बाँकी छ। महाधिवेशन नजिकिएसँगै सभापतिलगायत विभिन्न पदका आकांक्षीले तयारी तीव्र पारेका छन्।
कांग्रेसमा स्थापनाकालदेखि नै कोइराला परिवारको विरासत छ।
यसपालि महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइराला सभापति उठ्ने तयारीमा छन्। कोइराला परिवारबाटै तीन जना सभापतिका आकांक्षीको भएपछि उनीहरूका शुभचिन्तकहरूले मिलेर जान सुझाएका छन्।
कांग्रेसको नेतृत्वमा आउन कोइराला परिवारको दोस्रो पुस्ताका यी नेताहरू पनि आपसमा सर-सल्लाह गरिरहेका छन्।
मंगलबार साँझ बसुन्धारास्थित शेखर कोइरालाको घरमा सभापतिको उम्मेद्वार को हुने भन्नेबारे छलफल भएको थियो।
शेखरको घरमा शशांक पुग्दा उनीहरूले फोनबाट सुजातासँग पनि कुराकानी गरेका थिए।
स्रोतका अनुसार कुराकानीपछि शशांक र सुजाता यसपालि शेखरलाई सभापति छोड्न तयार भए। यसको औपचारिक जानकारी सुजातालाई समेत सँगै राखेर बुधबार बिहान शशांक निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर दिने टुंगो लाग्यो।
शशांक र सुजातालाई सहमतिमा ल्याएको ठानेर उत्साहित भएका शेखर बुधबार बिहान पत्रकार सम्मेलनका लागि शशांक निवासमा महाराजगञ्ज पुगेका थिए। साढे १० बजे पत्रकार सम्मेलन गर्ने तय भएको थियो।
शेखर र सुजातालाई बचन दिएर बसुन्धाराबाट महाराजगञ्ज फर्किएका शशांक रातभरिमा बदलिए।
शेखर आइसकेपछि पनि शशांक पत्रकार सम्मेलनका लागि तयार भएनन्। यसबीचमा उनलाई एउटा फोन आयो।
फोनमा कुराकानी गरेपछि शशांकले म त बालुवाटार जानु पर्ने भयो, पत्रकार सम्मेलन ८ गते गरौं भने। बालुवाटारबाट शशांक फर्किन्छन् कि भनेर शेखर केही समय उनकै घरमा कुरेर बसे।
स्रोतका अनुसार शशांककै सचिवालयमा रहेका एक जनाले बसुन्धारामा भएको कोइरालात्रयको सहमतिबारे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सुनाइसकेका थिए।
आफूविरूद्ध कोइरालाहरू एक हुन लागेको थाहा पाएर देउवाले शशांकलाई बालुवाटार बोलाए।
देउवासँगको भेटपछि झन्डै १२ घन्टाअघि शेखरलाई दिएको वचन तोडेर शशांक संखुवासभातिर उडे।
उनलाई संखुवासभाका कांग्रेस सभापति दीपक खड्काले हेलिकप्टरमा लिएर गएका हुन्। पूर्वमन्त्री समेत रहेका खड्का कोइरालानिकट भए पनि उनको सम्बन्ध देउवासँग पनि राम्रो छ।
शशांक कहाँ गए भन्ने शेखरले बुधबार मध्यान्ह हुँदासम्म थाहा पाएका थिएनन्। खड्काले फेसबुकमा स्टाटस राखेपछि मात्रै शशांक संखुवासभा पुगेको शेखरले पत्तो पाए।
‘शशांक र सुजाताले शेखरलाई सभापति छाड्ने सहमतिबारे आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम थियो। शशांक बालुवाटार गएपछि यो कार्यक्रम हुन सकेन,’ कांग्रेसका एक नेताले भने।
संखुवासभामा कांग्रेसको जिल्ला अधिवेशन भइसकेको छ। त्यहाँ आज-भोलि कांग्रेसको कुनै विशेष कार्यक्रम छैन। पार्टीको कुनै कार्यक्रम नभए पनि शशांक भोलिसम्म संखुवासभामै बस्ने स्रोतको दाबी छ।
लामो समय देउवासँगै रहेका विमलेन्द्र निधि आफैं सभापतिमा उठ्न लागेका बेला कोइरालाहरू पनि एक भए देउवालाई आगामी महाधिवेशनबाट फेरि सभापति चुनिन कठिन हुने देखिन्छ।
निधिलाई पटक-पटक सभापति उठ्ने भए उठे हुन्छ भनिरहेका देउवाले कोइरालाहरूबीच हुन थालेको एकता भने तत्कालका लागि तुहाइदिएका छन्। त्यसको बदलामा उनले शशांकलाई के वचन दिएका छन् भन्ने अहिले खुलिसकेको छैन।