नेकपा एमाले सचिव योगेश भट्टराईले उपाध्यक्ष पदमा आफूले दाबी गर्ने बेला नभएको र त्योभन्दा तलको पदमा आफूभन्दा 'सिनियर'हरू रहेकाले सचिवमै आफ्नो दाबी स्वाभाविक हुने बताएका छन्।
एमालेको विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता र एक वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव पदाधिकारी रहन्छन्।
'अहिले नै म उपाध्यक्षमा जान सक्ने ठाउँ छैन। त्योभन्दा तलका ठाउँमा कतिपय सिनियर साथीहरू पनि हुनुहुन्छ। त्यो सबै कुरा ख्याल गर्दै देशभरिका प्रतिनिधि साथीहरूको पनि राय लिएर म एक-दुई दिनभित्र उचित निर्णय गर्छु,' मंगलबार सेतोपाटीसँग भिडिओ कुराकानीमा एमाले सचिव भट्टराईले भने।
'सचिवमै मैले प्रतिस्पर्धा गर्ने सम्भावना प्रबल छ। एक कार्यकाल म सचिव भएँ, विधानअनुसार फेरि एक कार्यकाल सचिव हुन मिल्छ। अर्को महाधिवेशनमा त्योभन्दा माथि जान आवश्यक तयारी गर्ने हो कि भन्ने कतिपय साथीहरूको मलाई सुझाव छ।'
पार्टीका समकालीन नेतामध्ये सबभन्दा वरिष्ठ र पार्टीको अध्यक्षसमेत भएकाले केपी ओलीलाई फेरि पनि अध्यक्षको रूपमा हेरिएको उनको भनाइ छ।
'अध्यक्षमा कसैले चुनौती दिनैपर्छ भन्ने होइन। यो समय, परिस्थिति, आवश्यकता र व्यक्तित्व सबै कुराबाट निर्धारण हुने हो। अहिले पार्टी अध्यक्ष केपी ओली नै हुने हो कि होइन भन्ने घोषणा कसैले गरेको छैन, उहाँले पनि गर्नुभएको छैन,' उनले भने, 'बाहिर बुझाइ के छ भने केपी ओली फेरि आउनुहुन्छ। नेकपा एमालेमा रहेका नेतामा केपी ओली सबभन्दा वरिष्ठ नेता हो र पार्टीको अध्यक्ष हो। त्यस अर्थमा उहाँको सम्भावना ज्यादा छ भनेर पूर्वानुमान गर्न सकिन्छ।'
पार्टीमा अरूलाई पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने छुट रहेको उनले बताए।
एमालेको दसौं महाधिवेशनको सन्दर्भमा हामीले एमाले सचिव भट्टराईसँग गरेका भिडिओ कुराकानीका मुख्य अंश:
- दसौं राष्ट्रिय महाधिवेशनको मुख्य कार्यभार नेतृत्वको चयन नै हो। नेतृत्वको सन्दर्भमा हाम्रो कम्युनिस्ट पार्टीमा आफ्नै खालका विशिष्टता र परम्परा छन्। हामी यसमा आन्तरिक छलफल गर्छौं, राय सल्लाह लिन्छौं।
- अहिले नै मैले यो पदमा भनेर घोषणा गरिसकेको छैन। म पार्टीको सचिव हो, त्यसैले स्वाभाविक रूपमा जसले पनि प्रमोसन खोज्छ। माथि जाने परिस्थिति छ कि छैन, त्यो सम्बन्धित व्यक्तिले बुझ्ने कुरा हो। माथि जाने परिस्थिति छैन भने आफू जुन ठाउँमा छ, त्यहीँ रहनु नै उपयुक्त हुनसक्छ।
- पार्टीभित्र एक किसिमको एकता कायम गर्नुछ। पार्टीमा जुन संकट छ, त्यसलाई पनि हामीले हल गर्नुछ। त्यसैले को व्यक्ति कहाँ बस्ने भन्ने कुरालाई त्यति महत्व दिनु हुँदैन। यो अहिले गौण हुन्छ। तर मानिसहरूको सम्मानजनक स्थान हुनुपर्छ भन्ने कुरा स्वाभाविक हो।
- बाहिरबाट पार्टीभित्रको समीकरण आकलन गर्ने छुट सबैलाई छ। तर विगत र अहिलेमा केही फरक छ। विगतमा विचार समूहबीच प्रतिस्पर्धा भयो। यो-यो उम्मेदवार हुनुहुन्छ भन्ने पहिल्यै घोषणा हुने गरेको थियो। यसपटक पार्टीमा त्यो ढंगको गुटबन्दी छैन।
- सहमतिबाट नेतृत्व चयन हुनसक्ने सम्भावना देख्छु। सहमति भएन भने विभिन्न पदमा उठ्न सक्ने कुरा स्वाभाविक हुन्छ। अहिले सचिव छु, त्यसमा दाबी गरिराख्न परेन। अहिले नै औपचारिक ढंगले घोषणा गर्ने बेला भएको छैन।
- कस्तो पार्टी, कस्तो नेतृत्व यी सबै साधन हुन्। साधन परिवर्तन हुनसक्छ। १५ जना पदाधिकारीको प्रस्ताव गरिएको छ। यो संख्या बढाउनुपर्छ भन्ने हुन सक्ला वा घटाउनुपर्छ भन्ने पनि हुनसक्छ। तर यी सबै प्राविधिक कुरा हुन्। प्राविधिक कुरालाई मिलाएर पार्टी एकताबद्ध हुन्छ भने त्यसमा धेरै बलमिचाइँ गर्नु हुँदैन।
- हिजोजस्तो सर्लक्कै यो नेताको टिम र उ नेताको टिम भन्ने यसपटक हुँदैन। त्यसरी नजाऊँ भनेर पार्टी अध्यक्षले पटक-पटक भन्नुभएको छ। त्यस्तो हुँदा स्थायी खालको टिम बनेकाले विगतमा हामीलाई धेरै घाटा भयो। त्यसैले स्वतन्त्र ढंगले व्यक्तिगत प्रतिस्पर्धा गर्ने परिपाटी स्थापित गर्न खोजिरहेका छौं।
- नेकपा एमालेका पछिल्ला महाधिवेशनमा हामी एक भएर आएका छौं। विधान महाधिवेशनले निकालेका विचार आठौं र नवौं महाधिवेशनको उच्चतम रूप हो। विधान महाधिवेशनमा जे विचार पारित भयो, हामी सबैको विचार हो। विधान महाधिवेशनको विचार केपी ओलीको पनि हो र हाम्रो पनि हो।
- दस भाइ भन्ने खास परिस्थितिको वस्तुगत अवस्थाले सिर्जना गरेको हो। यो परिस्थिति पार्टी एकताको निम्ति हामीले बनाएका हौं। पार्टी विभाजन हुन नदिन र विभाजन भए पनि पार्टी विभाजनको असर कम होस् भनेर यो एउटा वस्तुगत परिस्थिति बनेको हो। त्यो वस्तुगत परिस्थितिले पार्टी विभाजन रोक्न सकेन तर पार्टी विभाजनको असर कम गरेको छ। सधैं यो एक ठाउँमा बसिरहनुपर्छ, कुनै परिवर्तन हुँदैन भन्ने होइन।
- पार्टीभित्रका सम्बन्धहरू एकदमै परिवर्तनशील छन्। यो नेकपा एमालेमा मात्र होइन, दुनियाँका सबै पार्टीमा आफ्ना पार्टीभित्रका व्यक्तिगत सम्बन्ध एकदमै डाइनामिक हुन्छन्। गतिशील हुन्छन्। भोलि एमालेमा पनि व्यक्तिका सम्बन्ध नयाँ-नयाँ ढंगले प्रकट हुन सक्छन्।