गत कात्तिक १२ गते बसेको केन्द्रीय कमिटी बैठकले एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गर्यो।
बैठकपछि पत्रकारले एक केन्द्रीय सदस्यलाई ठठ्टामा सोधे, ‘१९ सय ९९ मध्ये झण्डै १३ सय जति प्रतिनिधि त 'आइ लभ यु केपी बा' भन्ने आउछन् होला है?
जवाफमा ती केन्द्रीय सदस्यले भने- त्यतिले पुग्दैन, १५ सय भन्दामाथि त्यस्ता प्रतिनिधि आउछन्।
ती केन्द्रीय सदस्यको भनाइले प्रष्ट गर्छ, १० औं महाधिवेशनमा केपी ओली निर्विकल्प अध्यक्ष बन्नेछन्। त्यति मात्र हैन, उनले चाहेको व्यक्ति मात्र पदाधिकारी बन्नेछ। त्यसैले पदाधिकारीमा आकांक्षा राख्ने सबैका आँखा अहिले देखिनै महाधिवेशनमा आउने प्रतिनिधिमा हैन, अध्यक्ष ओलीमा एकटक अडिएका छन्।
ओली निर्विकल्प अध्यक्ष भन्न पदाधिकारीका आकांक्षीबीच एक किसिमको होड नै छ। अहिलेको एमालेमा ओलीको विकल्प छैन भन्ने सबैलाई थाह छ। तर पदाधिकारीकै आकांक्षीहरुले त्यो कुरा मिडियामा बारम्बार भन्न जरुरी ठान्नुले उनीहरुको अहिलेको मनोविज्ञान दर्साउछ।
माधव नेपाल एमालेबाट बाहिरिएपछि सो पार्टीमा ओलीपछि महासचिव ईश्वर पोखरेल वरिष्ठ हुन्। त्यस हिसाबले पार्टी अध्यक्षमा उनको दावी हुन सक्थ्यो तर उनी ओली कुनै पनि कारणले आफूसँग रिसाउछन् कि भनेर जोगिएर प्रतिक्रिया दिने गरेका छन्।
सेतोपाटीसँगको कुराकानीका क्रममासमेत उनले ओली निर्विकल्प रहेको बताए।
‘आउने दसौं महाधिवेशनपछिको अध्यक्ष केपी ओली नै हो। मैले अहिलेसम्म बुझेको आधारमा मेरो यो निष्कर्ष र ठम्याइ हो। त्यो एमालेको हितमा र मुलुकको हितमा छ,' उनले भने, 'केपी ओली अध्यक्ष हुनुहुन्छ भन्नेमा कुनै बहस र विवाद हुन्छ जस्तो लाग्दैन।'
यो पनि: वरिष्ठ उपाध्यक्षमा मेरो स्वभाविक दाबी रहन्छ: ईश्वर पोखरेल (भिडिओ)
पोखरेलले स्वयमले भने पार्टीमा नयाँ सिर्जना गरिएको वरिष्ठ उपाध्यक्ष पदमा आँखा लगाएका छन्। यो पद आफ्नै लागि बनाइएको पोखरेलको बुझाइ छ। २०७१ सालयता पोखरेलले कहिले पनि ओलीलाई अफ्ठ्यारो पर्ने गरी बोलेका छैनन्। ओली नेतृत्वको सरकारमा अपेक्षा गरे अनुसारको भूमिका नपाउँदासमेत उनले सार्वजनिक रुपमा कहिल्यै असन्तुष्टि जनाएनन्।
महाधिवेशनको मुखमा आएर ओलीलाई अस्तुष्ट बनाउनु भनेको आफ्नो आकांक्षामा पानी खन्याउनु हो भन्ने उनलाई राम्रोसँग थाहा छ। पोखरेल मात्र हैन, पार्टी पदाधिकारीमा आकांक्षी अरु नेता पनि चुप लागेर ओलीले आफ्ना लागि कुन पद छुट्याउछन् भनेर पर्खिबसेका छन्।
एमालेको नयाँ विधानअनुसार अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष सहित ५ उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव पदाधिकारी रहने व्यवस्था छ। निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने भएकोले विधानअनुसार यो पद खाली हुने निश्चित छ।
पदाधिकारीमा ओलीसँग निकट रहेकै नेताहरु आकांक्षी छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बने ४ वटा उपाध्यक्ष पद बाँकी रहन्छन्।
रामबहादुर थापा, सुवास नेम्वाङ उपाध्यक्षका बलिया उमेद्वार हुन्। एमालेभित्र कतिले ओलीले बादललाई उपाध्यक्ष बनाउन सक्ने अड्कल पनि गरेका छन्। माधव नेपाललाई छाडेर आएका बहालवाला उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, भीम रावल कम्तीमा पनि उपाध्यक्षको स्वभाविक दावेदार हुन्छन्।
अन्तिममा रावलले कुन पदमा दावी राख्छन् भन्ने अझै केही खुलेको छैन। ओली र रावलको सम्बन्ध राम्रो बन्न सकेको छैन। रावल आफूले घोषणा नगरे पनि अध्यक्ष उठ्ने कि भन्ने मनस्थिती भने बनाएका छन्।
नेपाललाई अन्तिम समयमा छाडेर एमालेमै बसेका १० जना मध्ये रावल र घनश्याम भुसालबाहेक अरुले पनि आफ्नो भविष्यका लागि ओलीतिरै हेरेका छन्। पार्टी कमिटीहरुमा समेत रावल र भुसालबाहेक कसैले १० बुँदे कार्यानन्वयन नभएका बिषयमासम्म प्रखर रुपमा विरोध गरेका छैनन्।
महासचिवमा ओलीका दुई विश्वासपात्र विष्णु पौडेल र शंकर पोखरेलको दावी छ। पौडेल र पोखरेललाई ओलीले कसरी मिलाउँछन् भन्ने धेरैको चासो छ। पार्टीभित्र पौडेल र पोखरेलमध्ये ओलीसँग को धेरै नजिक छ भनेर अनुमान लगाउन कठिन हुने केन्द्रीय नेताहरु नै बताउँछन्। कामको प्रकृति हेरेर ओलीले कहिले पौडेल र कहिले पोखरेललाई अघि सार्छन्।
संगठनात्मक आधारमा भने पोखरेलभन्दा पौडेल धेरै बलिया छन्। त्यो नवौं महाधिवेशनमा पनि प्रष्टसँग देखिएको थियो। दुबै जना ओली प्यानलबाट उपमहासचिवमा उठेका थिए, पोखरेलले हारे भने पौडेलले जितेका थिए।
पौडेललाई महासचिव बनाए भने ओलीले पोखरेललाई उपमहासचिवमा मनाउन सक्छन्। तर पोखरेल निकटहरु उनको दावी महासचिवमै रहेको बताउँछन्। ओलीले पोखरेललाई महासचिव दिने हो भने पौडेललाई उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्षमा मिलाउनु पर्ने हुन्छ। पार्टीभित्रको संगठनमा पकडका कारण पौडेलले महासचिवमै दावी नछाड्ने उनी निकटहरु बताउँछन्।
पोखरेल, पौडेल वा अरु कसैको जुनसुकै पदमा दावी रहे पनि अन्तिममा ओलीले जुन पदमा बस्न भन्छन् त्यसलाई कसैले ‘क्रस’ गर्न नसक्ने एक नेताले बताए। त्यही भएर पनि महाधिवेशनको मुखमा सबैका आँखा ओलीमा केन्द्रित छन्, ओलीका आँखा कुन कुन नेतामा छन् भन्ने भने यकिनका साथ दावी गर्न कोही पनि सक्दैनन्।
महासचिवमा वर्तमान उपमहासचिव घनश्याम भुसालको पनि दावी रहने उनीनिकट नेताहरुको भनाइ छ। भुसाल स्वयंम भने पछिल्लो समय मौनजस्तै छन्। वर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले पनि आफू महासचिवको उमेदवार बन्न सक्नेबारे निकटस्थहरु सँग परामर्श गरेका छन्। उनले यसबारेमा मुख खोलेका छैनन्।
सचिवमा आकांक्षीहरु झनै धेरै छन्। नवौ महाधिवेशनका पाँच जना आकाक्षी हुने नै भए, त्यसमाथि ओलीनिकट रहेका रधुवीर महासेठ, किरण गुरुङदेखि केपी ओलीका पक्षमा नाराजुलुसको व्यवस्थापन गर्ने महेश बस्नेतसम्म सचिवको आकांक्षी छन्।
महिला नेताहरुले पनि पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत सिट महिलाका लागि छुट्टयाउनु पर्ने माग राखेका छन्।
सेतोपाटीसँगको कुराकानीमा सचिव पृथ्वीसुब्बा गुरूङले पदाधिकारिको टुंगो भने छलफलकै आधारमा लाग्ने बताए। उनले केपी ओली अध्यक्ष बन्ने र उनकै प्रस्तावमा पदाधिकारी चयन हुने बताए।
‘महाधिवेशनमा केपी ओलीविरूद्ध कसैले उम्मेदवारी दिनै पाउँदैन भन्ने त होइन तर अहिले त्यसको केही अर्थ छ र? केपी ओलीविरूद्ध अध्यक्ष उठ्नुले धेरै अर्थ राख्छजस्तो लाग्दैन मलाई,’ उनले भने, ‘अध्यक्षमा त सायद निर्विरोध भइहाल्छ। अरू पदमा पनि हामी निर्विरोध गर्ने प्रयास गर्छौं। केपी ओलीले के भन्नुहुन्छ भन्ने हो। उहाँको प्रस्तावलाई सबैले स्वीकार्ने स्थिति बन्छ भन्ने मलाई लाग्छ।'
यो पनि: पृथ्वीसुब्बा गुरूङ भन्छन्- केपी ओलीविरूद्ध उम्मेदवारी दिएर केही अर्थ छ र? (भिडिओ)
महासचिव ईश्वर पोखरेल र सचिव पृथ्वीसुब्बा गुरुङले केपी ओली सर्वेसर्वा हुने र उनकै प्रस्ताव कार्यान्वयन हुने भन्नु नौलो भएन। तर कुनै बेला ओलीको खरो आलोचकका रुपम चिनिएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समेत ओलीकै मुख ताकेका छन्।
माधव नेपालले पार्टी विभाजन गर्ने समयमा उनलाई साथ नदिइकन एमालेमै रहेका १० नेताको समूह अहिले एकै ठाँउमा छैन। उनीहरुले आफ्नो समूहमा रहेर सुरक्षित हुने संभावना देखेका छैनन्। त्यसैले उनीहरु विभाजित भइसकेका छन्। सेतोपाटीसँगको कुराकानीमा पाण्डेले पनि केपी ओली निर्विरोध अध्यक्ष बन्ने र ओलीले पदाधिकारीकालागि गरेको प्रस्ताव पारित हुनसक्ने बताए।
‘सबैको सहमतिबाट एउटा निष्कर्षमा पुगिन्छ। त्यसका लागि बढी भूमिका अध्यक्षकै हुन्छ। उहाँले ल्याएको प्रस्ताव पारित हुन पनि सक्छ,’ उनले भने, ‘हामी सामूहिक छलफल गरेर निर्णय गर्छौं कि अध्यक्ष एक्लैले सोचेर गर्नुहुन्छ, त्यो त हेर्न बाँकी नै छ।’
यो पनि: म पहिले नै महासचिवको उम्मेदवार, त्योभन्दा तल असहज हुन्छ: सुरेन्द्र पाण्डे (भिडिओ)
ओलीले सहमति गर्न चाहेमा पदाधिकारीको संख्या अन्तिममा बढ्न सक्ने एक नेताले बताए। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले आवश्यकताअनुसार कमिटीको आकार बढाउनु ठूलो कुरा नहुने उनले तर्क गरे।
‘विधान महाधिवेशनले १५ जना पदाधिकारी बनाउने भने पनि सहमतिका लागि महाधिवेशनमा त्यो संख्या बढाउन सक्ने क्षमता ओलीसँग छ। उहाँले चाहेमा अध्यक्षबाहेक सबै पदाधिकारीको संख्या बढ्न सक्छ,’ ती नेताले भने, ‘ओली आफू सर्वेसर्वा हुने भएपछि कमिटी जति ठूलो बनाए पनि केही फरक पर्दैन। पद धेरै भएपछि कसलाई के जिम्मेवारी दिने भन्ने निर्णय उहाँकै हो।’
हिजो माधव नेपाललाई छाडेर एमालेमै बसेका नेतालाई पनि ओलीले पदाधिकारीमा समेट्न चाहे भने पदाधिकारीको संख्या ठूलो हुने नत्र १५ भन्दा नबढ्ने नेताहरु बताउँछन्।
उनले पदाधिकारीको संख्या बढाउँछन् वा बढाउँदैनन्, कसलाई कुन पदमा मिलाउँछन् भनेर एमालेको सिंगो पङ्तिका आँखा अहिले देखिनै अध्यक्ष ओलीतिर सोझिएका छन्। ओलीले के चाहेका छन् भन्ने केही अपवाद बाहेकलाई छनकसम्म छैन।