नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार आफूनिकट पार्टी पदाधिकारीलाई बालुवाटारमा बोलाएर महाधिवेशन तयारीबारे आन्तरिक छलफल गरे।
छलफलमा सहभागी हुन उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायत पुगेका थिए।
यही मंसिरमा हुने १४ औं महाधिवेशनका लागि आन्तरिक रणनीति बनाउन देउवाले आफ्नो टिमसँग छलफल गरेका हुन्।
कात्तिक २८ मा हुने केन्द्रीय कार्यसमिति बैठक र महाधिवेशन तयारीलगायतमा आफ्नो टिमबाट एउटा खाका बनाउने देउवाको तयारी थियो।
बिहीबार बालुवाटारमा भएको अनौपचारिक छलफलको सुरूमै सभापति देउवाले कुरा राखेका थिए। आफू फेरि पनि सभापति उठ्ने भएकोले टिमबाट सहयोग हुनुपर्ने धारणा उनको थियो।
त्यसपछि उपसभापति विमलेन्द्र निधिले कुरा राखेका थिए। सभापति देउवाका कुरामा निधिले असहमति जनाए। महाधिवेशन तयारी, अबको नेतृत्व र सत्तारूढ गठबन्धनले बनाएको ११ सदस्यीय राजनीतिक समन्वय समितिका विषयमा निधिले कुरा राखेका थिए।
उपसभापति निधि मंसिर २४ देखि २६ सम्म हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा छन्। उनले सम्पर्क कार्यालय खोलेर महाधिवेशन केन्द्रित छ्लफललाई तीव्रता दिइरहेका छन्। यसपटक सभापतिमा देउवालाई सभापति पदमा चुनौती दिने गरी तयारीमा निधि लागेका छन्।
सभापति देउवाले बोलाएको छलफलमा निधिले आफू पनि सभापति उठ्ने र सहयोगको अपेक्षा गरेका थिए।
‘२०७२ मा भएको १३ औं महाधिवेशनमा मैले तपाईंलाई सहयोग गरेको हुँ। त्यसबेला १४ औं महाधिवेशनमा मलाई सहयोग गर्छु भन्ने प्रतिवद्धता जनाउनुभएको थियो, कार्यान्वयन गर्ने बेला आयो,´ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसपटक तपाईंको सहयोग र समर्थनमा म नै सभापति उठ्ने हो, सहयोग गर्नुपर्यो।’
उपसभापति निधिका कुरा सुनेर देउवा हाँसिरहे। भने, `सभापति उठ्ने अधिकार जसलाई पनि छ कांग्रेस पार्टीमा। तर अहिले होइन, तपाईं १५ औं महाधिवेशनमा सभापति हुने हो।’
सभापति देउवाले अझै कम्तीमा चार-पाँच वर्ष सभापति लड्नका लागि कुर्न संकेत गरेपछि उपसभापति निधिले यसैपटक सभापति पदमा उठ्ने अडान राखेका थिए। ‘१५ औं महाधिवेशनमा होइन, यसैपालि सभापति उठ्ने हो,´ निधिले आफ्ना कुरा फेरि दोहोर्याए।
उपसभापति निधिले अडान राखेपछि देउवाले हाँस्दै भने, ‘त्यसो भए शुभकामना छ।’ सभापति देउवाले शुभकामना दिएपछि निधि खुसी भएका थिए। ‘यो त मेरो लागि गुड न्युज नै भयो,’ उपसभापति निधिले भने।
तर सभापति देउवाले अहिलेका लागि नभई १५ औं महाधिवेशनका लागि शुभकामना दिएको बताएपछि फेरि हाँसो चल्यो। ‘यसपटक मलाई सहयोग गर्नुस्, मैले त १५ औं महाधिवेशनको लागि पो शुभकामना भनेको त!’ सभापति देउवाको भनाइ थियो।
सभापति देउवा र उपसभापति निधिको कुराकानी र ठट्टा सुनेर अरू पनि हाँसे। उपसभापति निधिले यहीबीचमा ज्योतिषका कुरा निकाले। ‘तपाईं (देउवा) लाई ज्योतिषले पटकपटक प्रधानमन्त्री पो हुनुहुन्छ भनेको त, सभापति त होइन,’ निधिले भने।
सभापति देउवालाई २०७४ को चुनावकै मुखमा ज्योतिषले सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको बताएपछि त्यसको बेलाबखत चर्चासमेत हुने गर्छ। देउवा गत असार २९ मा पाँचौंपटक प्रधानमन्त्री भएका थिए।
यसपछि उपसभापति निधिले कुरा फेरि भावी नेतृत्वतर्फ नै लगे। आमकार्यकर्ता र जनताले पनि यसपटक नेतृत्व हस्तान्तरण चाहेको निधिको भनाइ थियो।
‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलभन्दा पनि कार्यकर्ता र जनताको चाहना कांग्रेसमा नयाँ नेतृत्व आओस् भन्ने नै छ,’ निधिले भने, ‘तपाईंहरूले यसपालि सभापति नउठेर अरूलाई सहयोग गर्दा हुने हो।’
उपसभापति निधिले सरकारका कामकारबाही र पछिल्लोपटक गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिप्रति पनि आफ्ना कुरा राखेका थिए। उनले समन्वय समिति गठनप्रति असन्तुष्टिसमेत जनाएको स्रोतको दाबी छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल दुई महिनालाई समन्वय समितिका संयोजक छन्। त्यसपछि सत्तारूढ दलका शीर्ष नेता आलोपालो संयोजक हुने सहमति छ। यो समितिले सरकारका कामकारबाहीमा हस्तक्षेप गर्न सक्ने निधिको भनाइ थियो।
उपसभापति निधिले समन्वय समितिलाई निरन्तरता दिँदा यो चुनावसम्मै जान सक्ने पनि बताएका थिए। उनले कांग्रेस तालमेल नभई आफ्नै बलबुताले चुनावमा जानुपर्ने बताएका थिए।
गठबन्धनले चुनावी तालमेल गर्न यस्तो समन्वय समिति बनाएको जिकीर निधिको थियो। तर सभापति देउवाले यो समितिले तत्कालका लागि राष्ट्रिय सभा निर्वाचनको लागि दलहरूबीच समन्वय गर्न बनेको भन्दै बचाउ गरेका थिए।
यो गठबन्धन दीर्घकालीन जाने/नजानेबारे देउवाले थप बोलेनन्। बरू निधिले थपे, ‘गठबन्धनका नेताहरूले चुनावसम्मै यो समन्वय समिति जान्छ भनिरहेका छन्, के हो?’
यसपछि निधि आफूले भेटघाटका लागि समय दिएको भन्दै बालुवाटारबाट निस्केका थिए।
कांग्रेसलाई हिजोआज महाधिवेशनको चटारो छ। प्रधानमन्त्री भइकन पनि देउवा फेरि पार्टी सभापति सजिलोसँग जितिनेमा ढुक्क छैनन्।
१३ औं महाधिवेशनमा साथ दिएको टिम उनीसँग सहयोगीभन्दा पनि प्रतिस्पर्धा गर्ने ‘मुड’मा पुग्दा देउवा अप्ठ्यारोमा छन्। निधि, सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठ आफैं सभापति बन्ने दौडमा छन्।
देउवालाई साथ दिइरहेका उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिलबहादुर थापालगायतलाई उपयुक्त भूमिका दिनुपर्ने ठाउँमा पनि देउवा छन्। सभापति देउवामाथि आफ्नो टिममा रहेकाहरूलाई पार्टीमा भूमिका दिई व्यवस्थापन गर्ने चुनौती पनि छ।