स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अहिलेसम्म ५ करोडभन्दा धेरै खोपको सुनिश्चितता भइसकेको दाबी गरेका छन्।
सेतोपटीसँग भिडिओ कुराकानी गर्दै स्वास्थ्य मन्त्री खतिवडाले बुधबारसम्म २ करोड २५ लाख आसपासमा खोप आइसकेको दाबी समेत गरे।
'३ करोडभन्दा माथि खोप पाइप लाइनमा छन्। ५ करोडभन्दा माथि खोपको सुनिश्चित गरिसकेका छौं। त्यो भनेको पर्याप्त हो,'उनले भने,'अन्य सहयोग प्राप्त हुने क्रम जारी छ। बुधबारमात्रै ६० लाख खोपको प्रतिबद्धता आएको छ। यो सबै जोड्दा झण्डै ६ करोड खोप सुनिश्चित भइसकेको छ।'
उनले चैतसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई लक्ष्य अनुसारको खोप लगाइसक्ने दाबी गरे।
'सुरूमा हामीले १८ वर्षभन्दा माथिका नागरिकलाई लगाउने भनेको हो। लक्षित समूह र त्यसको ७२ प्रतिशतलाई पुर्याउँछौं भनेको हो। चैतसम्मको प्रतिबद्धता पूरा हुन्छ,'उनले भने,'१२ देखि १८ वर्ष उमेर समूहको लागि १ करोड खोप सुनिश्चित गरिसकेका छौं। त्यसमध्ये ६० लाख खोपको भुक्तानी गरिसकेका छौं। सम्झौता भएको १ महिनाभित्र खोप आउँछ।'
२ वर्षदेखि १२ वर्षसम्मको उमेर समूहको लागि खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भन्दै उनले आफूहरूलाई औपचारिक जानकारी भने नआइसकेको बताए।
यो खोपका लागि समेत प्रयत्न भइरहेको उनको भनाइ छ।
खोप केन्द्रमा नआएका र आउन नसक्नेका लागि समेत खोप लगाउने तयारी भइरहेको उनले जानकारी दिए। त्यसका लागि वडाहरूमा बहुकेन्द्र बनाउने तयारी सरकारले गरेको उनले बताए।
खोप भण्डारको लागि सातै प्रदेशमा भवन बनाउने काम सकिएको र जनवरीदेखि त्यसलाई सञ्चालनमा ल्याउने उनले बताए।
तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले कुनै तयारीबिनै अस्पतालको शिलान्यास गरेको उनको आरोप छ। आयोजनाहरूको जथाभावी शिलान्यास र उद्घाटन भएको खतिवडाले बताए।
'केपी ओलीले धरहरा उद्घाटन गरेको कति भयो। सायद ६ महिना बित्यो कि अझै बढी बित्यो अहिले तपाईं धरहरा गएर चढ्न पाउनुहुन्न। अहिले मात्रै होइन १ वर्षपछि पनि चढ्न पाउनुहुन्न। उहाँलाई आफ्नो नाम टाँस्ने मोहले गर्दा शिलान्यास गर्नुपर्ने ठाउँमा उद्घाटन गर्दै हिँड्नुभयो,'उनले भने,'न जग्गा,न पैसा,न त्यहाँको डिपिआर तयार छ। उहाँको काम उद्घाटन गर्दिने अनि खर्बौं र अर्बौं लाग्नेलाई करोड छुट्ट्याउने। अनि लाख दिएर अस्पताल बनाऊ भन्ने हो।'
पुर्जायुक्त जमिन र डिपिआर तयार पारेर आएकालाई सरकारले अस्पताल बनाउन पैसा दिएको उनले बताए।