नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी संकटमा रहेको अहिलेको अवस्थामा केपी ओलीको आवश्यकता भएको बताएका छन्।
पाण्डेले बुधबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै संकटको अवस्थामा सबैलाई समेट्ने नेतृत्व जरूरी रहेको बताए। यस्तो अवस्थामा आसन्न महाधिवेशनपछि ओली अध्यक्ष दोहोरिने वातावरण बनिसकेको उनको भनाइ छ।
'सम्भवत: कमरेड केपी ओली नै अध्यक्ष उम्मेदवार हुने र त्यसमा सबैको सहमति हुने वातावरण देखेको छु। सबैलाई समेटेर जान त्यो आवश्यक छ। संकटको घडीमा पार्टीलाई नेतृत्व दिन पनि उहाँको आवश्यकता देख्छु,' पाण्डेले भने, 'सबैतिरबाट पार्टीमाथि प्रहार भएको छ। आउने महाधिवेशनपछि हुने चुनावका लागि र नेकपा एमाले बिग्रिए हुन्थ्यो भन्नेलाई जवाफ दिन पार्टी एकताबद्ध हुन जरूरी छ।'
महाधिवेशनमा आफू कुन पदको दाबेदार हुन्छु भनेर अहिले नै भन्ने बेला नभएको उनले बताए। अघिल्लो महाधिवेशनमा महासचिवको उम्मेदवार भइसकेकाले कम्तीमा त्यसैमा आफ्नो दाबी स्वाभाविक हुने उनको भनाइ छ।
'म पहिला नै महासचिवको उम्मेदवार भएको व्यक्ति हो। त्यसैले त्योभन्दा तलको पदमा उठ्न यसै पनि असहज स्थिति हुन्छ,' उनले भने, 'तर यसबारे हामीले छलफल गरिसकेका छैनौं। कसैले पनि आफू यो पदमा वा त्यो पदमा भन्ने अवस्था बनिसकेको छैन। कम्युनिस्ट पार्टीमा यस्तो भनिहाल्ने चलन पनि छैन।'
हामीले एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर एमाले स्थायी कमिटी सदस्य एवं दसौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका सह-संयोजक सुरेन्द्र पाण्डेसँग गरेको भिडिओ कुराकानीको संक्षेप:
- केपी ओली अध्यक्ष दोहोरिने परिस्थिति बनिसकेको छ। अहिलेको अवस्थाले त्यस्तै देखिएको छ। सबैलाई समेट्ने गरी नेतृत्व गर्नुपर्ने कारणले पनि उहाँको आवश्यकता देख्छु।
- उहाँले सुरू सुरूमा दोहोर्याएर आउने होइन भनेर भन्नुभएको थियो तर अहिलेको विशेष अवस्थाले त्यस्तै परिस्थिति उत्पन्न भएको छ।
- सबैको सहमतिबाट एउटा निष्कर्षमा पुगिन्छ। त्यसका लागि बढी भूमिका अध्यक्षकै हुन्छ। उहाँले ल्याएको प्रस्ताव पारित हुन पनि सक्छ। हामी सामूहिक छलफल गरेर गर्छौं कि अध्यक्ष एक्लैले सोचेर गर्नुहुन्छ, त्यो त हेर्न बाँकी नै छ।
- महासचिवको उम्मेदवार भइसकेकाले अहिले नै केमा उठ्ने भने टुंगो गरिसकेको छैन। त्योभन्दा तल उठ्नु यसै पनि असहज हुन्छ।
- यसपटक टिमबन्दीको महाधिवेशन हुने छैन। आठौं महाधिवेशनमा प्यानलका आधारमा प्रत्यक्ष चुनाव गर्यौं। तर नवौं महाधिवेशनमा टिम राखेर, आँखा चिम्लेर टिक लगाउनेजस्तो बनायौं। त्यसले तलसम्म असर गर्यो।
- पार्टीभित्रको लोकतान्त्रिक विधि र प्रक्रिया अगाडि बढाउनुपर्छ। त्यसलाई मर्न दिनुहुँदैन। सँगसँगै, पार्टीमा स्थायी गुटबन्दी हुने र पार्टी विभाजन वा असहज बन्ने स्थिति रोक्नुपर्छ। यो काम दसौं महाधिवेशनबाट सुरू गरौं भन्ने एक प्रकारको सहमति छ। प्यानलका आधारमा चुनाव लड्ने अवस्था रोक्नुपर्छ।
- हाम्रो पार्टी अहिले विशेष अवस्थामा छ। नेकपा विभाजित भयो। एमाले पनि चोइटिएर गयो। फेरि अगाडि चुनाव छ। ती सबै कुरा हेर्दा सहमतिपूर्ण ढंगले महाधिवेशन अगाडि बढाउने सोचमा छौं। त्यो सहमति नहुँदा पनि प्यानलका आधारमा चुनाव नगर्ने तर प्रतिस्पर्धा गर्न दिने मोडालिटीबाट यसपटकको महाधिवेशन हुनेछ।
- सकभर पदाधिकारीमा सहमति गर्न सके राम्रो हुन्थ्यो भन्ने मलाई लागेको छ। १५ वटा पद हो। पद थोरै छ तर २२५ जनाको केन्द्रीय कमिटी छ। २१० जना केन्द्रीय सदस्य (१५ पदाधिकारीबाहेक) निर्वाचित हुन्छन्। आकांक्षीको संख्या भने ठूलो छ। पार्टी अध्यक्षलाई तपाईं नै नाम मिलाएर घोषणा गर्दिनुस् भन्यो भने स्वयं अध्यक्षमाथि ठूलो दबाब आउनेछ। कसैलाई पनि नाम तयार पार्न सजिलो छैन।
- दसबुँदे सहमति अलग समूह बनाउन भएको होइन। पार्टी विभाजन रोक्न गरिएको प्रयास हो। त्यसमा आंशिक सफलता मिलेको छ।
- दसबुँदे सबै ठाउँमा जस्ताको तस्तै लागू हुन सकेन। धेरै ठाउँमा लागू भएको छ र नयाँ हिसाबले अघि बढ्ने अवस्था भइसकेको छ। महाधिवेशनपछि त यसकै निर्णय सर्वेसर्वा हुन्छ। अब जेठ २ कै कुरा गरिरहनु सान्दर्भिक पनि हुँदैन। अब नयाँ हिसाबले पार्टीलाई अगाडि लैजानुपर्छ।
- निर्वाचन गर्दा कहिले को कसको समूहमा, कहिले को कसको समूहमा भन्ने भइरहेको छ। हाम्रो पार्टीमा स्थायी गुटबन्दी भन्ने हुँदैन।
- नारायणगढमा कमसेकम ५ लाख मानिस उपस्थित हुनेछन् भन्ने आकलन गरेका छौं। नारायणी किनारमा मंसिर १० गते उद्घाटन समारोह हुनेछ र १२ बजेदेखि उद्घाटन सुरू हुन्छ।
- मंसिर ११ गते बिहानैबाट बन्दसत्र सुरू हुन्छ। बन्दसत्रमा लामो प्रस्तुति हुँदैन। अध्यक्षको मन्तव्य होला, अध्यक्ष मण्डल गठन होला। महाधिवेशनलाई आवश्यक पर्ने समिति, उपसिमिति गठन होला। निर्वाचन आयोगबाट निर्वाचनको तिथि, मिति तय हुन्छ। सोही दिन साँझसम्म उम्मेदवारी दर्तादेखि फिर्तासम्मको प्रक्रिया सकिन्छ। १२ गते ८ बजेदेखि मतदान सुरू हुन्छ।