नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरूङले आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिनुको अर्थ नरहने बताएका छन्।
गुरूङले आइतबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै अध्यक्ष निर्विरोध हुने र अन्य पदाधिकारीमा पनि निर्विरोधका लागि प्रयास हुने बताए।
‘राजनीतिमा केपी ओलीविरूद्ध कसैले उम्मेदवारी दिनै पाउँदैन भन्ने त होइन तर अहिले त्यसको केही अर्थ छ र? केपी ओलीविरूद्ध अध्यक्ष उठ्नुले धेरै अर्थ राख्छजस्तो लाग्दैन मलाई,’ उनले भने, ‘अध्यक्षमा त सायद निर्विरोध भइहाल्छ। अरू पदमा पनि हामी निर्विरोध गर्ने प्रयास गर्छौं। केपी ओलीले के भन्नुहुन्छ भन्ने हो। उहाँको प्रस्तावलाई सबैले स्वीकार्ने स्थिति बन्छ भन्ने मलाई लाग्छ।'
प्रतिगामी शक्तिहरू पार्टीविरूद्ध लागिरहेका बेला अध्यक्षले कुन पदमा कसलाई राख्ने भनेर ल्याएको प्रस्ताव स्वीकार्य हुनसक्ने उनको भनाइ छ।
अध्यक्षकै प्रस्तावका लागि भनेर कसैले पदाधिकारीको दाबी नगरेको उनले बताए। पार्टीको आवश्यकता र सहमतिका आधारमा जिम्मेवारी बाँडफाँट हुने र पार्टीको सचिव भएकाले पदाधिकारीमा आफ्नो दाबी स्वाभाविक हुने उनको भनाइ छ।
‘वरिष्ठ उपाध्यक्ष फलानो, उपाध्यक्षहरू फलानो/फलानो बसौं, महासचिव-उपमहासचिवमा फलानो/फलानो बसौं, ७ जना सचिव फलानो\फलानो बनौं। हामी यसरी मिलेर जानुपर्छ भनेर उहाँले भन्नुभयो भने सायद त्यो कुरा स्वीकारेर जानुपर्ने स्थिति छ यसपटक,' गुरूङले भने।
एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर हामीले एमाले सचिव गुरूङसँग गरेको भिडिओ कुराकानीका मुख्य अंश:
- नेकपा एमालेको नेता वा कार्यकर्ता भएर सोच्दा पूर्णतामा सोच्नुपर्छ। त्यसले सिंगो पार्टी कसरी अघि बढ्छ र कस्तो खालको नेतृत्व बनाउने भन्ने सोच बन्छ। यसबारे नेताहरूसँग छलफल नभएकाले म यही पदका लागि यसरी नै उठ्ने भनेर कांग्रेसजस्तो प्रचार गर्दै हिँड्न हाम्रो संस्कारले दिँदैन। त्यसैले म यही पदमा भनेर अहिले भन्न मिल्दैन। मैले अध्यक्ष र पार्टीका नेताहरूसँग छलफल गरेको छैन।
- म एमालेका १४ जना पदाधिकारीमध्ये एक हो। त्यो दर्जा त मेरो घट्दैन होला। पदाधिकारीको उम्मेदवार म हुन्छु तर कुन हो भनेर अहिल्यै भन्न सक्दिनँ।
- चुन्ने र चुनिने अधिकार सबैको हुन्छ। हाम्राअगाडि थुप्रै चुनौती छन्। पाँच दलीय प्रतिगामी गठबन्धन हाम्राविरूद्ध लागेको छ। हामी एकताबद्ध भएर गयौं भने कसैले लछारपाटो लगाउन सक्दैन।
- मनोवैज्ञानिक र भावनात्मक रूपमा एकताबद्ध पार्टी बनाए मात्रै हामी सबै चुनौती सामना गर्न सक्छौं। त्यसैले हामी सकभर सहमतिमा जान्छौं, त्यसकै लागि प्रयास गर्छौं।
- पदाधिकारीमा पनि सहमतिकै प्रयास गर्छौं। पदाधिकारीमा समेट्न नसकिएका साथीहरूका लागि ४५ जनाको स्थायी कमिटी छ। त्यसैले कसैको पनि पदाधिकारीमा दाबी नभएको हो।
- हाम्रोजस्तो गतिशील पार्टीमा उहाँ (ओली) ले जे भन्यो त्यही हुँदैन। हाम्रो पार्टीमा आलोचना/सुझाव दिन पाइन्छ। तर केपी ओली निर्णायक व्यक्ति हो। शक्तिको हिसाबले केपी ओलीले जे भन्यो त्यही हुने स्थिति छ। ओलीले धेरै कुरा सोचेर भन्नुहुन्छ। मैले जे भने पनि हुन्छ भन्ने ढंगले भन्नुहुँदैन उहाँले।
- अहिले पनि भावनात्मक एकता भइसकेको छैन। साविक माओवादी, १० बुँदे पक्षधर, साविक संस्थापन भन्ने पक्षमा छैनौं। महाधिवेशनबाट यसलाई मेटाउनुपर्छ।
- १० बुँदे कार्यान्वनमा कुनै समस्या छैन। यो ९० प्रतिशत सफल भएको छ। समग्रमा हेर्दा कार्यान्वयन भएको छ। बाँकी ठाउँमा पनि महाधिवेशनअघि मिलाउँछौं। त्यसैले अब १० बुँदेको गीत गाउनुपर्दैन। १० बुँदे कार्यदल संयोजकले कसरी आफ्नै ठाउँमा मिलाउन सक्नुभएन, त्यो उहाँकै समस्या हो। उहाँले साथीहरूसँग बसेर मिलाउन सक्नुहुन्थ्यो।
- सुदूरपश्चिमको इन्चार्जमा समस्या भएको हो। अध्यक्षले एकताको भावना राखेर अहिलेका इन्चार्जलाई छोड्दिनुस् भन्नुभएको हो।
- एकीकृत समाजवादीमा नगएका केन्द्रीय सदस्यहरूलाई जसरी पनि समेटिन्छ। पदाधिकारीमा तल-माथि हुनसक्छ तर जिल्ला, प्रदेश र केन्द्रमा तल-माथि हुँदैन।