एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने हैसियत र क्षमता आफूसँग रहेको बताएका छन्।
'हामीलाई आवश्यकता पर्छ भनेर वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको हो। मेरो निष्ठा, क्षमता र क्रियाशीलताले जे आवश्यक पर्छ, म त्यो जिम्मा लिन्छु,' उनले सोमबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै भने, 'म वरिष्ठ उपाध्यक्ष हुन नसक्ने कुरै भएन।'
नेतृत्वदायी तहका नेताहरू र देशभरिका कार्यकर्ताको सल्लाह र परामर्शले यसको टुंगो गर्ने उनले बताए।
उनले दसौं महाधिवेशनपछि केपी ओली नै अध्यक्ष बन्ने दाबीसमेत गरे। आफूले अध्यक्षमा दाबी नगर्ने र विधानअनुसार महासचिव हुन नमिल्ने र हुने चाहनासमेत नरहेको उनको भनाइ छ।
'आउने दसौं महाधिवेशनपछिको अध्यक्ष केपी ओली नै हो। मैले अहिलेसम्म बुझेको आधारमा मेरो यो निष्कर्ष र ठम्याइ हो। त्यो एमालेको हितमा र मुलुकको हितमा छ,' उनले भने, 'केपी ओली अध्यक्ष हुनुहुन्छ भन्नेमा कुनै बहस र विवाद हुन्छ जस्तो लाग्दैन।'
एमालेको दसौं राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रित रहेर हामीले एमाले महासचिव ईश्वर पोखरेलसँग गरेको भिडिओ कुराकानीका मुख्य अंश:
- हामी छलफल र सरसल्लाहले नै कसले कुन जिम्मेवारी लिने भन्ने टुंगो गर्छौं। त्यसमा हानथापको कुरा हुन सक्दैन। हामी एउटा उन्नत लोकतान्त्रिक अभ्यास गरेर नेतृत्व चयन गर्छौं। उन्नत लोकतान्त्रिक प्रतिस्पर्धा भनेको प्रतिस्पर्धा गर्ने, प्यानल बनाउने र प्यानलका आधारमा चुनाव लड्ने, कोही जित्ने कोही हार्ने हो। तर एउटा बृहत् छलफलपछि सहमतिका साथ नेतृत्व चयन गर्यौं भने पनि त्यो उन्नत लोकतान्त्रिक अभ्यास हुन्छ। हामीले त्यस हिसाबले यसलाई बुझ्नुपर्छ।
- आजको राष्ट्रिय आवश्यकता पूरा गर्न कसले के जिम्मा लिँदा उचित हुन्छ, त्यो हामी सल्लाह गर्छौं र समझदारीका आधारमा नेतृत्व चयन गर्छौं।
- केपी शर्मा ओली फेरि अध्यक्ष हुने भयो भनेर मात्रै सोच्नु हुँदैन। आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा छ। एकातिर एमाले छ जुन केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको छ। जसले आर्थिक विकास र समृद्धिको कुरा उठाएको छ। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा उठाएको छ। सामाजिक सद्भाव कायम गर्ने र समाजमा अराजकता अन्त्य गर्ने कुरा उठाएको छ। यस्तो एमालेलाई केपी ओलीले नेतृत्व गर्नुभएको छ।
- अर्कातर्फ अपवित्र र आपराधिक योजनाका साथ गठबन्धन बनेको छ। त्यो गठबन्धनले संविधान र कानुनलाई बेवास्ता गर्ने, मूल्य-मान्यतालाई बेवास्ता गर्ने, आर्थिक विकास र समृद्धिका अभियानमा अवरोध सिर्जना गर्ने काम गरेको छ।राजनीतिक स्थायित्वलाई कमजोर बनाउने र विदेशीका सामु घुँडा टेक्ने काम गरेको छ।
- मुलुकको राजनीति सही दिशामा जाने कि गलत दिशामा जाने भन्ने लडाइँ चलिरहेको छ। यस्तो बेला सही राजनीतिलाई नेतृत्व गर्ने व्यक्ति केपी ओली हो। उहाँको निरन्तरता हुनुपर्छ। यो एमालेभित्रको आमचाहना हो। त्यसैले एमालेका आमकार्यकर्ताले आउने महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनेको देख्न चाहेका छन्। यो हामी सबैले बुझेका छौं।
- म महासचिव हुन्न। हाम्रो विधानको प्रावधानअनुसार महासचिव हुन मिल्दैन पनि।
- अहिलेसम्मको मेरो इतिहास, मेरो निष्ठा, मेरो क्रियाशीलता र मेरो क्षमताका आधारमा मैले के जिम्मा लिनुपर्छ, त्यसका लागि म तत्पर छु।
- एउटै कार्यकारी पदमा कतिपटक बस्ने भनेर नवौं महाधिवेशनले एउटै कार्यकारीमा दुईपटक बस्न नपाउने र ७० वर्षपछि कार्यकारी पदमा बस्न नपाउने भनेको हो। ७० वर्ष पुगे पनि कार्यकाल पूरा गर्न पाउने भनेर त्यसलाई थप व्याख्या गरिएको छ।
- उमेरभन्दा एउटै पदमा लगातार दुई कार्यकाल बस्न नपाउने भन्ने राजनीतिक कुरा हो। उमेरको कुरा त्यति राजनीतिक हुँदैन। विधान महाधिवेशनले पारित गरेको भएर यसमा मतामत केही छैन। सबभन्दा ठूलो राष्ट्रिय महाधिवेशन हो। यसले जरूरत पर्यो भने र राष्ट्रिय राजनीतिमा आवश्यक पर्यो भने कतिपय विषय परिवर्तन गर्न सक्छ।
- १० बुँदे कार्यान्वयन भइसकेको छ। जहाँ जहाँ समस्या परेको छ, त्यसलाई मिलाउन सकिन्छ।
हेर्नुहोस् भिडिओ: