कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशबासीका नाममा सम्बोधन गरेका छन्।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले प्रदेशबासीका नाममा सम्बोधन गरेका हुन्।
यसअघि केही समयअघि मन्त्रिपरिषद बैठक पनि बसेको थियो। बैठकमा भएका निर्णयसहित सम्बोधन गरिने मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।
सम्भवतः मुख्यमन्त्री शाहीको राजीनामा आउन सक्ने सचिवालयको भनाइ छ।
वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।
अल्पमतमा पर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाउन महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेसले आज मुख्यमन्त्री शाहीको राजीनामा पर्खिरहेको छ।
आइतबार सत्ता हस्तान्तरणका विषयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो। छलफलमा मुख्यमन्त्री सकारात्मक बनेको कांग्रेस प्रदेशसभा दलका प्रमुख जीवनबहादुर शाहीले बताए।
आजको बैठकको निर्णय पनि सकारात्मक निर्णय आउने अपेक्षा गरिएको उनले बताए।
‘हामीसँगग भएको छलफलमा सहमति कार्यान्वयन गर्ने कुरामा उहाँहरु सहमत हुनुहुन्छ, हामी पनि यसमा विश्वस्त छौं।’
कांग्रेस कर्णाली प्रदेश सभा दलले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने योजना समेत बनाएको थियो। सहमति अनुसार आज चार बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुअघि कांग्रेस र माओवादीबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भएको छ।
११ बुँदे लिखित सहमतिको एउटा बुँदामा ‘फ्लोर क्रस गरी मन्त्री भएकाहरूको सांसद पद नगएमा साउन १ गतेभित्र र यदि उनीहरूको सांसद पद गएमा कात्तिक १५ गतेभित्र कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने’ छ।
मुख्यमन्त्री शाहीको राजीनामा आएपछि कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने तय भइसकेको छ।
आजै फ्लोर क्रस गरी मन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का तीन जना मन्त्रीको पदावधि पनि सकिँदै छ। उनीहरू अहिले सांसद छैनन्।
सांसद नभएको मान्छे बढीमा ६ महिनासम्म मात्र मन्त्री हुने व्यवस्था छ। जसअनुसार आज राति १२ बजेदेखि उनीहरूको पदावधि स्वतः सकिने छ।
सांसद पद गुमेपछि वैशाख १५ गते नियुक्त भएका भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापा, उद्योग मन्त्री नन्दसिंह बुढा र कृषि मन्त्री कुर्मराज शाहीको पदावधि आजदेखि सकिँदै छ।