नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले संवैधानिक अंगहरूमा गरेका नियुक्तिहरू बदर गर्न ‘अहिले अदालतमा तमासा भइरहेको’ बताएका छन्।
ओलीले आफू प्रधानमन्त्री हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासँगको मिलेमतोमा संवैधानिक अंगहरूमा भागबन्डा गरेको आरोप लाग्दै आएको छ। ओलीले सोमबार राति विराटनगरमा आफ्ना कार्यकर्तामाझ गरेको भाषणले उक्त मिलेमतोको प्रस्ट संकेत गरेको छ।
पछिल्लो समय ओलीका विश्वासपात्र बनेका सांसद एवं उद्योगी मोती दुगडको विराटनगरस्थित होटल ह्यारिसनमा सोमबार राति अबेरसम्म कार्यकर्तालाई सम्बोधन गरेका थिए। सुवास नेम्वाङ, शंकर पोखरेलसहितका नेताहरू पनि सहभागी उक्त कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो।
भेलामा सहभागी केही कार्यकर्ताले ओलीको सम्बोधनको भिडियो बनाएको पाइएको छ। उक्त भिडिओमा ओलीले एमालेले गरेका संवैधानिक नियुक्ति बदर गर्न यो झमेला भएको बताएका छन्। ओलीले त्यस क्रममा चार जना मिलेर एक जनालाई काम गर्न नदिइएको समेत बताएका छन्।
‘अहिलेको यो झमेला के पनि हो भने हामीले नियुक्ति गरेका, हाम्रो सिफारिसमा नियुक्त भएका, संवैधानिक परिषदले सिफारिस गरेर क्याबिनेटले नियुक्त गरेका निर्णयहरू बदर गराउनका लागि यो तमासा भइरहेको त छैन?’ ओलीले भनेका छन्।
‘ती संवैधानिक नियुक्ति बदर गरेर आफ्ना बुख्याँचा खडा गर्ने उद्देश्यले यो तमासा त भइरहेको छैन? यसको लिंक खोज्नुपर्ने अवस्था भएको छ। हामीले त अदालतको फैसला मानिराखेका छौं। तर मान्नै नसक्ने अवस्थामा त अदालतका श्रीमानहरू पुग्नुभयो नि!’
हेर्नुहोस् ओलीको भाषणको भिडिओ: