बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान लागुऔषध प्रकरणमा मुछिएर दुई सातादेखि मुम्बईको आर्थर रोड जेलमा छन्। नार्कोटिक्स कन्ट्रोल ब्युरोले गत असोज १७ गते मुम्बईको एउटा पानीजहाजमा छापा मारेर आर्यनलाई पक्राउ गरेको थियो।
शाहरूखको संघर्षपूर्ण अतीत र उनको करिअर उचाइ राम्ररी नियालेका प्रशंसकहरूलाई यो घटनाले दुःखी तुल्याए पनि धेरैले यसलाई सामान्य रूपमा लिएका थिए। भारत लगायत संसारभरि सेलेब्रिटी र तिनका सन्तान लागुपदार्थ दुर्व्यसनमा फस्नु नौलो कुरा होइन। बलिउडमै सञ्जय दत्तदेखि फरदिन खान र हालसालै दिपिका पादुकोणदेखि रणवीर सिंहसम्म लागुपदार्थ सेवन गरेको घटनामा मुछिइसकेका छन्।
आर्यन खानको घटना भने जसै जसै अघि बढ्दै गयो, यसमा थुप्रै शंका–उपशंका जोडिँदै गएका छन्।
उनलाई पक्राउ गर्नुको पछाडि लागुपदार्थ सेवन मात्र कारण हो कि भारतीय सत्ता राजनीतिको खेल पनि लुकेको छ भन्ने प्रश्न चासोको विषय बनेको छ। यस्तो प्रश्न उठ्नुमा दुइटा कारण महत्वपूर्ण छ।
पहिलो, जब आर्यनलाई आर्थर रोड जेल लगिँदै थियो, दुई जनाले दुईतिरबाट करप्प हात समातेर उनलाई गाडीमा हुलेको भिडिओ भाइरल भएको थियो। उनीहरू नार्कोटिक्स ब्युरोकै अधिकारी वा प्रहरी होलान् भन्ने धेरैले अनुमान गरेका थिए।
पछि थाहा भयो, ती न ब्युरोका अधिकारी रहेछन्, न प्रहरी। एक जना सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता मनिष भानुशाली र अर्का निजी जासुस केपी गोसाभी रहेछन्। गोसाभी पनि आधिकारिक रूपले भाजपामै आबद्ध रहेको पुष्टि भइसकेको छ। प्रहरी हिरासतमै रहेका बेला गोसाभीले आर्यनसँग सेल्फी खिचेको तस्बिर पनि सार्वजनिक भएको छ।
प्रहरी हिरासतमा रहेका आर्यनलाई हात समातेर गाडीमा हाल्दा अग्रपंक्तिमा भाजपा कार्यकर्ताहरूको उपस्थिति कसरी भयो? उनीहरू के हैसियतले त्यहाँ पुगे? यी प्रश्नले आर्यनको पक्राउ धेरैले सोचेजस्तो सरल छैन कि भनेर शंका गर्न बल पुर्याएको छ।
दोस्रो, नार्कोटिक्स कन्ट्रोल ब्युरोले सुरूमा आर्यनमाथि प्रतिबन्धित लागुपदार्थ किनेको, बोकेको र सेवन गरेको आरोप लगाएको थियो। यी खासै ठूला आरोप होइनन्। तर दुई साता नबित्दै आर्यनमाथि जुन आरोप लगाइन थालेको छ, त्यो चाहिँ गम्भीर छ।
ब्युरोका अनुसार आर्यन लागुपदार्थ सेवन र खरिदमा मात्र संलग्न थिएनन्, उनी अन्तर्राष्ट्रिय रूपले लागुपदार्थ ओसारपसार गर्ने गिरोहमा समेत संलग्न छन्। ब्युरोले भनेको छ, ‘लागुपदार्थ ओसारपसार गर्ने अन्तर्राष्ट्रिय गिरोहमा संलग्न एक विदेशी नागरिकसँग आर्यन सम्पर्कमा रहेको प्रतीत हुन्छ।’
ब्युरोले यस्तो संगीन आरोप लगाउनुका पछाडि आर्यन खानको ह्वाट्सएप मेसेजलाई मुख्य आधार बनाएको छ, जबकि ह्वाट्स एपको सन्देशलाई अदालतमा गम्भीर सबुतका रूपमा मान्यता दिइँदैन।
यसरी अदालतमा मान्यतासमेत नदिइने ह्वाट्स एप सन्देशका भरमा आर्यनलाई लागुपदार्थ दुर्व्यसनीबाट अन्तर्राष्ट्रिय गिरोहको सदस्यका रूपमा प्रस्तुत गरिनुका पछाडि ब्युरोको अभीष्ट के हो?
यति मात्र होइन, केही समयअघि भारतमा तीन हजार किलो लागुपदार्थ बरामद भएको खबर आएको थियो जसको बजार मूल्य २० हजार करोड रूपैयाँभन्दा बढी थियो। उक्त मामिलामा नार्कोटिक्स ब्युरोले खासै गम्भीर छानबिन गरेको छैन। यो प्रकरणमा को–को संलग्न थिए भन्ने पनि ब्युरोले पत्ता लगाउन सकेको छैन।
तीन हजार किलो लागुपदार्थ बरामदको घटनाले ब्युरोको अनुसन्धान र मिडियामा जति प्राथमिकता पाउनुपर्थ्यो, त्योभन्दा बढी चर्चा र प्राथमिकता आर्यन खान र उनीबाट बरामद भएको १० ग्राम कोकिनले पाइरहेको छ। यसले पनि ब्युरोको नियतमाथि प्रश्न उठाएको छ।
यसैबीच नरेन्द्र मोदी सरकारका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले दुई साताअघि उत्तरप्रदेशको लखिमपुरी खेरी जिल्लामा किसानहरूमाथि गाडी चढाएका थिए। उक्त घटनामा चार जना किसानको घटनास्थलमै मृत्यु भएको थियो।
यति ठूलो घटना हुँदा पनि सत्तारूढ दलको दबाबका कारण प्रहरीले आशिष मिश्रालाई धेरै दिनसम्म पक्राउ गरेन। सर्वोच्च अदालतले हस्तक्षेप गरेपछि बल्ल आशिषविरूद्ध कारबाही बढाउन प्रहरी बाध्य भयो।
यसबाट के देखिन्छ भने, सत्तारूढ दलका नेता र गृहराज्यमन्त्रीका छोराले जतिसुकै गम्भीर अपराध गरेको भए पनि प्रहरीले मित्रवत् व्यवहार देखाउँछ, जबकि शाहरूखका छोराको हकमा जमानतसमेत नदिई कडिकडाउ गरिँदै आएको छ।
यी सबै घटनाक्रम हेर्दा, कतै आर्यन खान भारतीय सत्ता राजनीतिको शिकार त भइरहेका छैनन्?
बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यनलाई लागुपदार्थ गिरोहमा संलग्न रहेको आरोप त्यति बेला लगाइएको छ, जब उत्तरप्रदेशमा निर्वाचनको रन्को सुरू हुँदैछ। सन् २०२२ फेब्रुअरीदेखि मार्चभित्र हुने विधानसभा निर्वाचनलाई लक्ष्य गरेर मुख्यमन्त्री योगी आदित्यनाथ र उनको भारतीय जनता पार्टीले पछिल्लो समय मुसलमानहरूमाथिको आक्रमणलाई तीव्रता दिएका छन्।
चुनावी एजेन्डाकै कारण अहिले उत्तर प्रदेशमा हिन्दुत्वको नारा चर्किएको छ। हिन्दुत्वकै नाममा गाई वधदेखि उर्दु भाषाको मुद्दा उठाइएका छन्। मुसलमान समुदायमाथि दिनैपिच्छे सांघातिक हमला भइरहेका छन्। यसले हिन्दु र मुसलमानबीच द्वैष फैलाउने काम गरिरहेको छ। त्यही द्वैषबाट राजनीतिक लाभ लिँदै हिन्दुहरूको सहानुभूति र भोट हासिल गर्ने भाजपाको रणनीति देखिन्छ। आर्यन खानको गिरफ्तारी त्यही रणनीतिको एउटा हिस्सा हुनसक्ने भारतीय अनलाइन ‘द वायर’ ले लेखेको छ।
राजनीतिक रूपले महत्वपूर्ण विधानसभा निर्वाचनको मुखमा ‘हाइप्रोफाइल’ मुद्दा उठाउने र कुनै सेलेब्रिटीलाई त्यसको शिकार बनाउने घटना भारतीय राजनीतिमा नौलो होइन।
यसअघि बिहारको विधानसभा निर्वाचन बेला भारतीय जनता पार्टीले बलिउड अभिनेता सुशान्तसिंह राजपुतको घटना उछालेको थियो। भाजपासँग निकट अधिकांश मिडियाले यो रणनीतिमा साथ दिएका थिए। अहिले तिनै मिडियाले आर्यन खानलाई ब्युरोको अनुसन्धान र अदालतको आदेशअघि नै लागुऔषध तस्करका रूपमा प्रस्तुत गरिरहेका छन्।
यी दुवै घटना कसरी एकअर्कासँग मेल खान्छन् भनेर बुझ्न बिहार निर्वाचनअघि के भएको थियो भन्ने हेरौं।
बलिउड अभिनेता सुशान्तसिंह राजपुत गत जेठ ३२ गते मुम्बईको अपार्टमेन्टमा मृत फेला परेका थिए। उनको शव पंखामा झुन्डिएको थियो। सन् २०१९ को तथ्यांकअनुसार भारतमा हरेक दिन औसत ३८१ जनाले आत्महत्या गर्छन्। आत्महत्या गर्नेमा सहरी युवाको संख्या बढी छ। सुशान्त तिनैमध्ये एक हुन सक्थे जो डिप्रेसनको शिकार भए र आत्महत्याको बाटो रोजे। तर मिडियालाई यस्तो सहज उत्तरको अपेक्षा थिएन। उनीहरूलाई बलिउड फिल्ममा जस्तै एक बलिउडकर्मीको मृत्युमा पनि एक्सन, सस्पेन्स र मेलोड्रामाको खोजी थियो।
यही खोजीमा टेलिभिजन च्यानलहरूले ‘मिडिया ट्रायल’ सुरू गरे। सुशान्तको मृत्यु हत्या हो या आत्महत्या भन्नेबारे मिडियाहरू आ–आफ्नै अड्कलबाजीमा लागे। धेरैको जोड ‘हत्या’ साबित गराउनमा केन्द्रित थियो। यसनिम्ति बलिउडको ‘नातावाद’ र ‘समूहवाद’ लाई यो घटनासँग जोडियो। सुशान्तले खेल्न ठिक्क परेको फिल्ममा कुनै स्टारपुत्र राखिएको र त्यही कारणले उनी डिप्रेसनको शिकार भएको कथा बुनियो।
यसबीच सुशान्तकी ‘प्रेमिका’ भनिने रिया चक्रवर्तीको नाम यो घटनामा उछालियो। रियाले सुशान्तको बैंक खाताबाट लाखौं रूपैयाँ गायब पारेको आरोप लगाइयो। मिडियाले उनलाई प्रेमीको सम्पत्ति पच पार्ने ‘धूर्त’ प्रेमिकाका रूपमा चित्रण गरे। एउटा च्यानलले त रियाले सुशान्तमाथि ‘काला जादू’ गरेको आरोपधरि लगायो।
सुशान्त प्रकरणमा रियाको नाम उछालिनुको एउटा कारण महाराष्ट्रको राजनीति थियो। महाराष्ट्रमा शिव सेनाका उद्धव ठाकरे मुख्यमन्त्री छन्। उनी पहिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट थिए। पछि भाजपा छाडेर प्रतिपक्षी दलहरूसँग एकता गरे र संयुक्त सरकार बनाए। यसले ठाकरे र मोदीको सम्बन्ध बिग्रेको थियो।
सुशान्तको घटनामा ‘मिडिया ट्रायल’ चलिरहँदा ठाकरेका छोरा र रियाको निकट सम्बन्ध छ भन्ने हल्ला चल्यो। यही सम्बन्धका कारण महाराष्ट्र सरकारले ‘सुशान्तको हत्यालाई आत्महत्या साबित गर्न खोजेको’ कथनले मिडियामा पर्याप्त स्थान पायो। यस्तो हल्ला चर्काउन सामाजिक सञ्जालमा ८० हजारभन्दा बढी ‘नक्कली’ अकाउन्ट खोलिएको महाराष्ट्र प्रहरीले दाबी गरेको थियो। नक्कली अकाउन्ट खोल्नेमा भाजपा समर्थकहरू बढी पाइएका थिए।
त्यति बेला पनि रिया र सुशान्तका कर्मचारी तथा साथीहरूबीच आदानप्रदान भएका ह्वाट्सएप मेसेजका आधारमा रियाले सुशान्तको निम्ति गाँजाको प्रबन्ध मिलाउँथिन् भनेर आरोप लगाइएको थियो। यही आधारमा नार्कोटिक्स कन्ट्रोल ब्युरोले रियालाई पक्राउ गर्यो। उनीमाथि लागुपदार्थ सिन्डिकेट चलाएको अभियोग लगाइयो।
यति मात्र होइन, बलिउड लागुपदार्थको अखडा बनेको र बलिउडकर्मीहरू दुर्व्यसनको शिकार भएको आरोप पनि लगाइयो। करण जौहरको एउटा व्यक्तिगत पार्टीको भिडिओ भाइरल भयो, जसमा केही कलाकार नशामा देखिए।
निजी पार्टीको भिडिओ फुटेज र व्यक्तिगत ह्वाट्सएप मेसेजकै आधारमा अभिनेत्रीहरू दिपिका पादुकोण, सारा अलि खान लगायतलाई नार्कोटिक्स ब्युरोले बयान दिन बोलायो। यी अभिनेत्रीहरू बयान दिन गएको दृश्य मिडियाले यस्तरी प्रस्तुत गरे, मानौं उनीहरू ठूलै आतंकवादी हुन्। एउटा मिडियाले त दिपिका चढेको गाडी पछ्याउँदै सनसनीपूर्ण रिपोर्टिङ गरेकोसमेत देखियो।
यसरी सुशान्तको मृत्युबाट सुरू घटनाक्रम लागुऔषध प्रकरणसम्म आइपुग्दा भारतीय सत्ता कुनै न कुनै बहानामा बलिउडलाई बदनाम गर्न चाहन्छ भन्ने प्रस्ट देखिन्थ्यो। यो अभीष्टमा भाजपानिकट मिडिया हतियारका रूपमा प्रयोग भएका थिए।
आखिर भाजपाले एक बलिउडकर्मीको मृत्युलाई यति ठूलो मुद्दा किन बनायो?
सुशान्तसिंह राजपुतको पुर्ख्यौली घर बिहार हो। बिहारलाई भारतकै एक पिछडिएको प्रान्तका रूपमा चिनिन्छ। धेरै कम व्यक्ति छन् जसले बिहारबाट संघर्ष गर्दै बलिउडमा ‘हिरो’ को मुकाम बनाए।
आफ्नो भूमिबाट उठेर महानगरी मुम्बईमा छाप छाड्न सफल सुशान्तको व्यक्तिगत उतारचढावले बिहारका जनतामा ठूलो प्रभाव पार्छ। उनीमाथि हुने न्याय–अन्यायले बिहारको राजनीति तरंगित हुन्छ। त्यसमाथि उनको मृत्यु हत्या हो कि आत्महत्या भन्ने प्रश्न सबभन्दा बढी बिहारकै निम्ति चासोको विषय थियो। यदि त्यो हत्या हो भने किन ढाकछोप गर्न खोजियो र निष्पक्ष अनुसन्धान किन भएन भन्ने प्रश्न उठ्नु स्वाभाविक थियो।
राजनीतिमा कुनै पनि प्रश्नको वजन समयले निर्धारण गर्छ। सामान्य समय हुँदो हो त सुशान्तको मृत्यु मुम्बई क्राइम ब्रान्चको निम्ति मात्र टाउको दुखाइ बन्थ्यो होला। तर यो प्रश्न त्यति बेला उठेको थियो जब बिहार चुनावको मुखमा थियो। भाजपाले सुशान्तको मृत्युलाई ‘हत्या’ साबित गराउनमा आफ्नो राजनीतिक लाभ देख्यो।
भाजपाले सुशान्तलाई बिहारको ‘धर्तीपुत्र’ का रूपमा अगाडि सार्यो। धर्तीपुत्रका हत्यारालाई सजाय दिलाउनु उसको चुनावी एजेन्डा बन्यो। त्यति बेलाका चुनावी पोस्टरले नै यो एजेन्डा छर्लंग पार्थ्यो जसमा भनिएको थियो– ‘हामीले बिर्सेका छैनौं, हामी तपाईंहरूलाई पनि बिर्सन दिँदैनौं।’
पछिल्लो बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भाजपाको गठबन्धनले १२५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ। निर्वाचन नतिजा सार्वजनिक भएसँगै सुशान्तसिंह राजपुत र रिया चक्रवर्तीको मुद्दा भारतीय मिडियाबाट हराउँदै गए। नार्कोटिक्स ब्युरोमा तारन्तार बयान दिन गइरहेका दिपिका, सारा लगायतको मुद्दा पनि बिस्तारै सेलाउँदै गयो।
बिहार निर्वाचनअघि रचिएको त्यो राजनीतिक खेललाई आर्यन खानको गिरफ्तारीसँग दाँजेर हेर्ने हो भने यो घटना आसन्न उत्तरप्रदेश निर्वाचनसँग जोडिएको हुनसक्ने बलियो सम्भावना देखिन्छ।
उत्तरप्रदेशमा निर्वाचनकेन्द्रित एजेन्डाका कारण जसरी मुसलमान समुदायमाथि आक्रमण भइरहेका छन्, आर्यन खानको पक्राउ त्यसैको निरन्तरता हुनसक्छ। यहाँ आर्यनलाई माध्यम मात्र बनाइएको हो, खासमा निशाना उनका पिता शाहरूख खान हुन्।
शाहरूख भारत मात्र होइन, संसारभरि नै लोकप्रिय बलिउड ‘सुपरस्टार’ हुन्। मुस्लिम समुदायका शाहरूखले हिन्दु केटीसँग विवाह गरेका छन्। मुसलमानले हिन्दुसँग विवाह गर्नुलाई भाजपानिकट हिन्दुवादी संगठनका कार्यकर्ताहरू ‘लभ जिहादी’ का रूपमा लिन्छन्। सर्वसाधारणका हकमा यस्तो विवाह गर्नेलाई हिन्दु कार्यकर्ताहरू भौतिक आक्रमणसमेत गर्छन्। पछिल्लो समय यस्तो आक्रमण बढ्दै गएका थुप्रै उदाहरण छन्।
बलिउड ‘बादशाह’ शाहरूख खानलाई ‘लभ जिहादी’ को आरोप लगाएर भौतिक हमला गर्नु सजिलो काम होइन। तर उनको करिअरमाथि हमला गर्नु वा उनको परिवारको कुनै सदस्यमाथि लागुपदार्थ गिरोहको सदस्य भएको आरोप लगाउनु भौतिक हमलाभन्दा कम पनि होइन। आर्यनलाई पक्राउ गरेर र उनलाई लागुपदार्थ गिरोहको सदस्य भएको आरोप लगाएर सत्तारूढ भाजपाले त्यही बाटो समातेको शंका गरिएको छ।
अर्कातिर, शाहरूखले ‘सेक्यूलर’ छवि बनाएका छन्। उनका प्रशंसकहरूमा मुसलमान जति छन्, त्योभन्दा बढी हिन्दुहरू नै छन्। उनी आफ्नो घरमा इद मात्र मनाउँदैनन्, दिवाली र गणेश पूजा पनि धुमधामका साथ गर्छन्। हिन्दु पत्नी गौरीका कारण पनि उनको धार्मिक छवि निरपेक्ष बनेको छ। यति हुँदाहुँदै उनी सार्वजनिक समारोहहरूमा दाहिने हात उठाएर, शिर हल्का झुकाएर ‘आदाब’ गर्छन् जसले उनको मुस्लिम पहिचान झल्काउँछ। कट्टर हिन्दुवादीहरूलाई शाहरूखको यही रवैया बिझाउँदै आएको छ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि शाहरूखलाई आतंकवादी हाफिज सइदसँग तुलना गरेका थिए जो मुम्बई हमलाका ‘मास्टरमाइन्ड’ हुन्। शाहरूखले ‘भारतको अन्तर्राष्ट्रिय छवि बिगारेको’ आरोप पनि योगी आदित्यनाथले लगाएका थिए।
हुन त शाहरूखले अल्पसंख्यक मुस्लिम समुदायको पक्षमा खुलेर वकालत गरेका छैनन्। मुस्लिम समुदायमाथि भइरहेका आक्रमणका घटनामा उनी सामान्यतया मौन रहँदै आएका छन्। तर उनको सहानुभूति मुसलमानप्रति रहेको आरोप हिन्दु कार्यकर्ताहरूले लगाउने गरेका छन्।
यहाँ आर्यन खान पक्राउ पर्नु तात्कालिक घटना मात्र हो, पछिल्लो समय सिंगो बलिउडलाई नै भारतीय सत्ता राजनीतिले निशाना बनाइरहेको छ।
बलिउड भनेको हिन्दी फिल्म उत्पादन गर्ने र स्टारहरू जन्माउने कारखाना मात्र होइन, भारतको सामाजिक–राजनीतिक पृष्ठभूमिमा बलिउडका दुइटा विशेषता छन्।
पहिलो, बलिउड आफैंमा भारतको छुट्टै प्रान्तजस्तै हो। यस्तो प्रान्त जहाँ धर्म निरपेक्षताको बोलबाला छ। जहाँ धार्मिक आस्था, राजनीतिक झुकाव र भूगोलको सीमाले कुनै अर्थ राख्दैन। जहाँ नेपाली अभिनेत्रीदेखि पाकिस्तानी अभिनेतासम्मले बराबर हैसियत पाउँछन्। जहाँ उदारवादी सोच, दृष्टि र मूल्य–मान्यताले वर्षौंदेखि जरा हालेको छ।
दोस्रो विशेषता हो, बलिउड भारतका अनेक संस्कृतिभित्रको छुट्टै संस्कृति हो। यस्तो संस्कृति जसको प्रभाव भारतको सीमाबाट उठेर दक्षिण एसिया र विश्वभरि फैलिएको छ। जसको प्रभाव कालापानी र लिम्पियाधुरा विवादबीच पनि नेपालमा कम छैन। जसले सीमामा सिपाहीहरू लडिरहँदा पनि चिनियाँ राजधानी बेइजिङमा नेतादेखि जनतासम्मको स्नेह पाउँछ। जसले भारतका तमाम भाषाभाषी, गाउँ–सहर, जातपातलाई एकसूत्रमा उनेको छ।
आजको मितिमा भाजपालाई हिन्दु राष्ट्रवाद देशभरि फैलाउन कंग्रेस वा अन्य प्रतिपक्षीभन्दा ठूलो तगारो बलिउड नै हो। जबसम्म बलिउडमा उदारवादी सोच हाबी भइरहन्छ, तीन 'खान' जबसम्म देशका सुपरस्टार रहन्छन्, तबसम्म भाजपाको हिन्दु राष्ट्रवाद फैलाउने अभीष्ट पूरा हुन गाह्रो छ।
बलिउडले ‘बादशाह’ मानेका शाहरूखलाई अहिले निशाना बनाउन खोज्नु यही अभीष्टको एउटा कडी हुनसक्छ। शाहरूखजस्ता ‘महानायक’ लाई त हामीले छाडेनौं भने भारतमा अरू मुसलमानको के हैसियत छ भन्ने कुरा उनीहरूले स्थापित गराउन खोजेका हुन् कि भन्ने पनि पछिल्ला घटनाक्रमहरूबाट देखिन्छ।
यो रणनीति कत्तिको सफल हुन्छ भन्ने आर्यन खानको मुद्दाले आगामी दिनमा कुन रूप लिन्छ भन्नेमा भर पर्छ। उनको मुद्दाको सुनुवाइ बुधबार हुँदैछ।