सुनिता बराल, नेकपा एमालेनिकट अनेरास्ववियुकी नयाँ अध्यक्ष हुन्। यसअघि उपाध्यक्ष रहेकी बराल असोज २ गते बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालयको विस्तारित बैठकबाट अध्यक्ष चयन भएकी हुन्।
२०६४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेकी बराल सचिवालय सदस्य, उपाध्यक्ष हुँदै १४ वर्षपछि अध्यक्ष बन्न सफल भएकी छन्। अनेरास्ववियुमा अध्यक्ष बन्ने बराल तेस्रो महिला हुन्। यसअघि रामकुमारी झाँक्री र नविना लामा अध्यक्ष बनेका थिए।
बरालले महिलाको नेतृत्वलाई समाजले चनाखोपूर्वक हेरिरहेको बताएकी छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै बरालले राजनीतिमा आउने सबैलाई अप्ठ्यारो भए पनि महिला हुनुका थप चुनौती रहेको बताइन्।
'महिलाका अधिकार संविधानमै लिपिबद्ध छन्। तर त्यसलाई कार्यान्वयन गर्नुपर्ने विषय छन्। अब महिलाहरू नेतृत्वमा पुग्न थालेका छन् है भन्ने सन्देशका साथमा थपिएका चुनौती झन् धेरै छन्,'उनले भनिन्,'पुरूष नेतृत्व देखिरहेको हाम्रो समाज महिलाप्रति सचेततापूर्वक चनाखो भएर हेरिरहेको हुन्छ। त्यसकारणले आम महिलाप्रतिको भरोसा बढाउने कुराको जिम्मेवारी पनि हामीमा छ।'
महिलाहरूले जिम्मेवारी पाए भने गर्न सक्छन् भन्ने पनि स्थापित गराउनुपर्ने उनले बताइन्।
'अलिकति थप चुनौती छ भन्ने लाग्छ। हुन त चुनौती नहुने त कोही हुँदैन। त्यसमा पनि महिलाका कतिपय प्राकृतिक चुनौतीलाई स्वभाविक रूपमा लिएर अघि बढ्नुपर्छ,'उनले भनिन्।
अनेरास्ववियुको नेतृत्वमा पुगेपछि गर्ने कामहरू र राजनीति गर्ने क्रममा भोगेका चुनौती लगायतका विषयमा केन्द्रित रहेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश यसप्रकार छन्:
-हामीले आफैंले नेतृत्व चयन गरेको हो। देशभरिका साथी आउनुभएको थियो। केन्द्रीय सचिवालयको बैठक हलबाट गरेको हो।राजनीतिक दलसँग जोडिएको भएर नेतासँग समन्वय भएको हो। तर नेतृत्व हामीबीचको समझदारीमा केन्द्रीय सचिवालयबाट चयन भएको हो।
-केही वर्षयता हामीले निर्वाचनबाटै नेतृत्व छान्न थालेको हो। त्योभन्दा अगाडि पनि सर्वसम्मत रूपमा नै छनोट हुने गरेको थियो।यसपटक पनि राजनीतिको एउटा परिस्थिति थियो। महाधिवेशन गर्न केही समय बिलम्ब भइसकेको थियो। सँगै कोभिडको संक्रमण पनि थियो। त्यसैले हामीले महाधिवेशनमा जान सम्भव थिएन। तर नेतृत्व परिवर्तन गरेर नेतृत्वलाई गतिशील बनाउने कुरा आवश्यक भइसकेको थियो। त्यसकारणले यो परिस्थिति निर्माण भएको हो।
-कमिटी आफैंमा भद्दा बनाउनु राम्रो होइन। तर सर्वसम्मति भयो भन्दैमा भद्दा बनाउनुपर्छ भन्ने होइन। अहिलेको माग अनि संगठनलाई गतिशील बनाउनुपर्ने आवश्यकताको आधारमा हामी अघि बढेका छौं।
-हामी केही समयदेखि अल्मलिएजस्तो भएको छ,भौतिक परिस्थितिको कारणले। तर यसलाई अब हामीले नियमित र निरन्तरता दिनुपर्छ। संगठनलाई अघि बढाउनुपर्छ।
-विद्यार्थीका सबैखाले समस्या समाधानमा पहल गर्ने हाम्रो मुख्य एजेण्डा हो। आजको आवश्यकता अनुसार शैक्षिक एजेण्डा हामी उठाउँछौं। विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई जीवन उपयोगी बनाउने कुरामा विद्यार्थीका पक्षमा र राज्यलाई नीति निर्माण गर्ने कुरामा सहयोगीको रूपमा हामी भूमिका खेल्छौं।
-म एमालेसँग सम्बद्ध छु। त्यसैले म नेकपा एमालेका नेतासँग समन्वय गरेर काम गर्छु। यो मेरो व्यक्तिगत राजनीतिक जीवनको विषय हो। तर अनेरास्ववियुको अध्यक्ष भएकाले मेरो कार्यक्षेत्र शैक्षिक संस्था नै हुन्। मेरो कार्यक्षेत्रका मुख्य सरोकारवाला भनेका विद्यार्थी हुन्। हामी सामाजिक अभियान्ता पनि हो। समाजका विकृति विसंगतिका विरूद्धमा काम गर्छौं। यस्ता कामका लागि हामीलाई एमालेभन्दा माथि उठेर काम गर्न कसैले रोक्दैन।
-हामीले गर्ने भनेको झकझक्याउने मात्रै हो। किनकि हामी निर्णायक होइन। हामीले विद्यार्थीका एजेण्डालाई निर्णायक ठाउँमा पुर्याउने हो। विद्यार्थीहरू विद्यार्थी संगठनसँग अलि धेरै आश्रित हुन खोज्छन्। हामीले त्यसलाई न्यूनीकरण गर्नुपर्छ।
-संगठनमा गरेको निरन्तरता मेहनत र लगनशीलता अनि कामप्रतिको जवाफदेहिता महत्वपूर्ण हो। मैले योभन्दा अघि जति जिम्मेवारी लिए यो सबै जवाफदेहीतापूर्वक गरे।
-२०६४ सालमा केन्द्रीय कमिटीमा आबद्ध भएँ। त्यो बेला म विराटनगरमै अध्ययन गर्थें। त्यसपछि काठमाडौंमा आएँ। त्यसयता अहिलेसम्म अनेरास्ववियुमै छु।
-तपाईं आउनुभएको छ, ल है अब महिलाहरूले गर्न सक्छन् भन्ने स्थापित हुनुपर्यो, देखाउनपर्यो। ल है महिलालाई पर्याप्त रूपमा सहभागी गराउनपर्यो, राजनीति क्षेत्रमा अब महिलालाई अघि बढाउनुपर्यो भन्ने खालका सुझाव पाइला-पाइलामा आउँछन्।
-समाजले हेर्ने दृष्टिकोण अपेक्षा, पछिल्लो विकसित भएको चेतना र त्यो चेतनाको आवश्यकता बमोजिमको हाम्रो उपलब्धतामा कमी भइरहेको छ। यो सामाजिक परिवेशका आवश्यकतालाई पूर्ति गर्ने एउटा महत्वपूर्ण माध्यम अनेरास्ववियु बन्न सक्छ।त्यसको नेतृत्व सुनिताले गरेका कारणले पनि अझ बढी महिलाहरूलाई प्रोत्साहन गर्न सकिन्छ भन्ने एकदमै ठूलो संख्या छ। जसले मलाई अध्यक्ष बन्दै गर्दादेखि बनिसके पछाडिका हरेक दिनमा धेरै यस्ता सुझाव दिनुभएको छ।
-सम्भावनाका क्षेत्र धेरै हुँदाहुँदै पनि महिला नेतृत्व स्थापित हुन सकेको छैन। उदाहरणको लागि, तीन तहको सरकार निर्माण गर्ने हाम्रो संवैधानिक प्रावधान छ। स्थानीय तहमा अनिवार्य रूपमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला भनेका छौं। त्यसमा अरू तहमा पनि पूर्णत समावेशी व्यवस्था गरिएको छ। समावेशीमा महिलासँगै अरू धेरै क्षेत्र छन्। सामाजिक रूपमा आधा भन्दा धेरै जनसंख्याको हिस्सा ओगटेको महिलाहरू आज समावेशीताको क्षेत्रबाट मात्र आउनुपर्ने या अनिवार्य संविधानमा व्यवस्था गरिदिएका कारण समावेश गराउनुपर्ने अवस्था छ।
- विषयवस्तुको ज्ञानमा कमी भएपछि हामीले निर्णायक हस्तक्षेप गर्न सक्दैनौं। त्यसमा राजनीतिक चेतना नै मुख्य कारण हो।
-राजनीतिमा महिलालाई कम प्राथमिकता दिने हाम्रो समाजको मनोविज्ञान छ। महिलाको विषयलाई गौण बनाइन्छ।विश्वनीयताको कुरामा धेरै प्रश्न उठाइन्छ। बच्चा हुर्काउँदैदेखि छोरा-छोरीको स्कुलिङमा फरक गरिन्छ। छोरीलाई संस्कार सिकाउन खोज्ने तर छोरालाई नखोज्ने परम्परा छ।