सोमबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन समापनको कार्यक्रम थियो।
अपरान्ह ३ बजे नै नयाँ नेतृत्व घोषणा गर्ने कार्यक्रम रहे पनि साँझसम्म नेतृत्व घोषणा हुन सकेन। बरू साँझमा कार्यक्रमस्थल कार्की ब्याङ्कवेट हलमा कुर्सी हानाहान भयो। कुर्सी हानाहान र नाराबाजीको मुख्य कारण थियो: विधानविपरीत नेतृत्व घोषणा गर्ने प्रयास।
अखिलको क्रान्तिकारीको निवर्तमान कार्यालय टिम र फ्रयाक्सनले सहमतिको आधारमा पदाधिकारी र केन्द्रीय समितिको घोषणा गर्ने अन्तिम तयारी हुँदै गर्दा कार्यक्रम हलमा विरोध भएको थियो। विरोधकै कारण क्रान्तिकारीको नेतृत्व घोषणा हुने सकेन। विधानले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र २५ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान राखेको थियो। सहमतिका नाममा ३ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र ५५ सदस्यीय जम्बो पदाधिकारी घोषणा गर्न लागेपछि विवाद चर्किएको हो।
विवाद बढेपछि अध्यक्ष पञ्चा सिंहको नाममात्रै घोषणा भएको छ। सिंहलाई भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा १७ गते नै अध्यक्ष तोकिएको थियो। प्रचण्डले सिंहको नाम स्थायी कमिटीबाटै अनुमोदन गराएका थिए।
सिंहलाई अध्यक्ष बनाउनकै लागि प्रचण्डले अध्यक्षका आकांक्षीलाई पार्टीको केन्द्रीय सदस्यसमेत बनाएका छन्। अध्यक्षका आकांक्षीहरू सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई प्रचण्डले केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर सहमति गरेका थिए।
‘अध्यक्षले कतिपय अवस्थामा निर्वाचन र मूल्यांकन दुबै हेर्न पर्ने रहेछ। त्यसैले यस पटक निर्वाचन नगरी मूल्यांकनका आधारमा नेतृत्व चयन गरौं। तपाईंहरू अब केन्द्रीय कमिटीमा बस्नुपर्छ भनेर भन्नुभयो’, अध्यक्षका एक आकांक्षीले सेतोपाटीसँग भने, ‘हामीले यसअघिका उपाध्यक्षसमेत केन्द्रीय सदस्य भएका छैनन् भन्दा उहाँले मैले विगतमा पनि यस्तो अभ्यास गरेको छु। जनयुद्व सुरू गर्दाका केन्द्रीय सदस्यलाई समेत पछि पार्दै युवालाई विगतमा पनि अघि बढाएको हो। अब तपाईंहरू अघि बढ्नुपर्छ भनेपछि हामीले नमान्ने भन्ने नै भएन।’
अध्यक्षका दाबेदारको व्यवस्थापन भए पनि अन्य पदका आकांक्षीको व्यवस्थापन हुन नसक्दा सोमबारको घटना भएको हो।
उपाध्यक्षमा रविकिरण यादव, दिपक जोशी र इन्द्र भुसाल दोहोरिने अनि निवर्तमान उपाध्यक्ष दिपेश पुन महासचिव बन्ने भएपछि थप विरोध भएको थियो। कतिपयले दिपेशलाई महासचिव बनाउन नहुने भन्दै नाराबाजी समेत गरेका थिए।
दिपेश उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। त्यस्तै प्रतिनिधिले टिके प्रथा बन्द गर्नुपर्ने भन्दै चुनावको समेत माग गरेका थिए। स्रोतका अनुसार प्रतिनिधिको सबैभन्दा ठूलो आक्रोश दिपेशलाई महासचिव बनाएकोमा थियो।
सचिवहरू ४० जनासम्म पुर्याइएको थियो। तर आकांक्षी भने १ सय ५० को हाराहारीमा थिए। सबैभन्दा ठूलो विवाद यहीँबाट सुरू भएको अर्का एक निवर्तमान उपाध्यक्षले सेतोपाटीलाई बताए।
विधानले तोकेभन्दा धेरै सदस्य र पदाधिकारी बनाइएकोले विरोध भएको क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले सेतोपाटीलाई बताइन्।
‘पदाधिकारीमा उही व्यक्ति नदोहोरिने र घटुवा भएरसमेत बस्न नपाइने भन्ने आवाज उठेको छ। हलले पारित गरेको संख्या नै कायम हुनुपर्ने प्रतिनिधिको माग छ,’ उनले भनिन्, ‘अब मैले पार्टी अध्यक्ष र फ्रयाक्सन इन्चार्जसँग छलफल गर्छु। निवर्तमान कार्यालयको टिम बसेरसमेत छलफल गरेपछि हामीले कमिटीलाई पूर्णता दिन्छौं।'
निवर्तमान सचिव नरेश रेग्मीले विधानविपरीत कमिटी बढाइएको कारण विवाद भएको र त्यसलाई हलले अस्वीकार गरेको बताए।
निर्वाचनमा नगइकन आफूखुसी नेतृत्व चयन गर्न खोज्ने प्रचण्डको कार्यशैली पनि यो घटनामा जिम्मेवार रहेको आवाज उठेको छ।
‘भन्ने बेलामा अध्यक्ष स्वयंले वडादेखि नै निर्वाचन गर्ने भन्नुभएको छ। विद्यार्थीको राष्ट्रिय सम्मेलनमा कसलाई अध्यक्ष बनाउने भनेर उहाँले तोकिदिनुभयो,’ एक निवर्तमान पदाधिकारीले भने, ‘निर्वाचनबाट नेतृत्व चयन गर्न पाएको भए जसले जिते पनि केही हुने थिएन। तर अहिले त सबैलाई व्यवस्थापन गर्ने नाममा भद्रगोल बनाइएको छ।’
यो घटनालाई अर्थमन्त्री जनार्दन शर्माको सक्रियताको रूपमा समेत हेरिएको छ। आफूनिकट रहेकी सिंहलाई अध्यक्ष बनाउन शर्माले माओवादीभित्र ठूलै लबिङ गरेको माओवादी केन्द्रका एक नेताले बताए।
राष्ट्रिय सम्मेलनले अध्यक्षको मात्रै घोषणा गरेको भए पनि अब बाँकी पदाधिकारी र सदस्यको नाम तय कहिले हुन्छ भन्ने निश्चित छैन। यद्यपी क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङले बन्दसत्र धेरै लम्ब्याएर काम छैन भनेर अध्यक्षमात्रै घोषणा गरिएको बताए। अब छिट्टै हलको भावनाअनुरूप कमिटीलाई पूर्णता दिने उनले बताए।
क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले धेरै विषयमा विवाद भए पनि मुख्य विवाद विधान कार्यान्वयन भन्ने नै रहेको बताए। उनले विधानमै रहेर फ्रयाक्सन कमिटीले निर्णय गर्ने बताए।