एमाले उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनपछि एमालेको हैसियत के हो भनेर सबैले देख्ने दाबी गरेका छन्।
सेतोपाटीसँग संक्षिप्त भिडिओ कुराकानी गर्दै एमाले उपमहासचिव पौडेलले आउने निर्वाचनबाट पार्टी अझै सशक्त शक्ति बन्ने दाबी गरे।
'विधान महाधिवेशनपछि एमाले सशक्त शक्तिको रूपमा पार्टी अघि बढ्छ। अहिले एमाले प्राविधिक कारणले प्रतिपक्षमा छ।हामी निर्वाचनको माध्यमबाट सत्तापक्षीयको हैसियतमा बदल्ने तयारीका साथ परिचालित हुन्छौं,'उनले भने,'त्यो हैसियत हामीले प्रदर्शन गर्छौं। त्यतिबेला देख्नुहुन्छ कि यो पार्टीको हैसियत के हो?'
उनले पार्टीभित्र अब कुनै समूह नरहेको भन्दै एमाले पहिलाभन्दा सशक्त र गतिशील भएर अघि बढ्ने समेत दाबी गरे।
कार्यदलले दिएको १० बुँदे सुझाव रचनात्मक ढंगले कार्यान्वयनमा गइसकेको भन्दै उनले १० बुँदे भनेर पिरोलिनुपर्ने अवस्था नरहेको समेत बताए।
विधान महाधिवेशन पार्टी जीवनको लागि महत्वपूर्ण आयोजन भएको भन्दै उपमहासचिव पौडेलले नवौं महाधिवेशनदेखि हालसम्मका समग्र राजनीतिक घटनाक्रम समीक्षा गरेर आगामी दिनको कार्यदिशा अद्यावधिक गर्ने बताए।
'कार्यकर्ताले पार्टी विभाजित भएको भन्ने मानेका छैनन्। केही स्वार्थ र अवसरवाद प्रवृत्ति बाहिरिएको हो। यो पार्टीलाई शक्तिशाली बनाएर जान सक्षम छौं भने कार्यकर्ताहरूले ढाडस दिएका छन्,'उनले भने,'पार्टीमा कुनै समूहको अस्तित्व छैन। यो सुन्तलाजस्तो केस्रा मिलरे बनेको पार्टी होइन, स्याउजस्तो सग्लो हो। सबैलाई सम्मान र स्वाभिमानका साथ काम गर्ने परिस्थिति हामी निर्माण गर्छौं।'
एमालेको जारी विधान महाधिवेशन र यसले लिने नीतिबारे हामीले एमाले उपमहासचिव विष्णु पौडेलसँग भिडिओ कुराकानी गरेका छौं।