एमाले उपाध्यक्ष युवराज ज्ञवालीले अब पार्टीभित्र गुट– उपगुट बनाउन नहुने बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै उपाध्यक्ष ज्ञवालीले समूहगत ढंगले विचार राख्ने गतिविधि गर्न नहुने समेत बताए।
‘हाम्रा सबैका आ-आफ्ना विचार छन्। पार्टीमा ४०-५० वर्ष काम गरेका नेता कार्यकर्ता छौँ। हामीले समूह बनाएर वहस र छलफल गर्नुभन्दा स्वतन्त्र ढंगले विचार प्रस्तुत गर्नुपर्छ। कतिपय कुरा कसैसँग मिल्छन, कसैसँग नमिल्न सक्छ’ उनले भने, ‘हामी १० जनाकै बीचमा सबै कुरा मिल्छ भन्ने हुँदैन। विचार आ- आफ्नै हुन्छन्। आफ्नो विचार भन्ने हो, समूहको बिचार बोल्ने होइन।’
समूहगत र गुटगत रुपमा जान नहुने भन्दै ज्ञवालीले यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउने बताए। गुटरहित पार्टी बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ। एमालेभित्र १० बुँदे कार्यान्वयनमा देखिएको जटिलता र पार्टीको आन्तरिक राजनीतिको विषयमा केन्द्रित रहेर उपाध्यक्ष युवराज ज्ञवालीसँग हामीले भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश:
- १० बुँदे सहमति कार्यान्वयन गर्न त्यति कठिन छैन। त्यसमा किटानीको साथ भनिएको छ। अन्तर पार्टी निर्देशनमा समेत भनिएको छ। २०७५ जेठ २ अघिको अवस्था, नेकपाकालीन अवस्था र पूर्व माओवादीमा नगएर एमालेमै रहेका नेता कार्यकर्ताको कुरा छ। मुलत जेठ २ को ढाँचामा लैजानुपर्छ भनिएको छ।
-
- सिर्जनात्मक ढंगले जेठ २ लागू गर्ने भनेको छ। त्यसमा अन्यौलता छैन। जेठ २ मा रहेका सबै पार्टीमा आबद्ध पनि छैनन्। कतिपय ठाउँमा समस्या त उत्पन्न हुन्छ। तर मिलाउँदै गएका छौँ। कर्णाली प्रदेशमा सहज तरिकाले लागू भएको छ। समग्रमा अधिकांश ठाउँमा लागू भइसकेको छ। सुदूरपश्चिम लगायत केही ठाउँमा समस्या छ। जनवर्गीय संगठनमा पनि केही समस्या छ।
- उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदलले काम सुरु गरेको छ। उहाँको क्षेत्रमा जेठ २ लागू हुन नसके पनि यसबारे विश्लेषण हुन्छ र समस्या समाधान हुन्छ। १० बुँदे कार्यान्वयन गर्न सबै लचिलो हुनुपर्छ। साना कुरामा अडान लिने हो भने जहाँ पनि समस्या हुन्छ।
- जेठ २ को संरचना जस्ताको त्यस्तै लागू हुँदैन। तर आधारभुत रुपमा जेठ २ को संरचनामा टेक्नुपर्छ। त्यसलाई परिस्थिति सापेक्ष ढंगले लागू गर्नुपर्छ। कतिपय नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा गएका छन्। त्यस्तो अवस्थामा पनि मापदण्ड बनाएर काम गर्न सकिन्छ।
- अहिले फुटेको पार्टीमा नजाउन् र एमालेमै रहेर काम गर्ने वातावरण बनोस् भन्नेमा ध्यान दिनुपर्छ। विगतमा माओवादीमा रहेका र अहिले एमालेमा आएका साथीहरुलाई पनि उचित व्यवस्थापन गर्नुपर्छ। कसैलाई अपमानित हुने अवस्था हुनु हुँदैन।
- यो अन्यौल्ता धेरै समय रहँदैन। विधान महाधिवेशनसम्म एक किसिमले समाधान हुन्छ। त्यसपछि पनि बाँकी रहेको ठाउँमा समाधान गर्नुपर्छ।
- कमरेड केपी ओलीसँग एउटै पार्टी भएकाले मुलभुत विषयमा समानता छ। त्यही भएर एउटै पार्टीमा छौँ। हाम्रो विचार सिद्धान्त र लक्ष्य एउटै हो।
- म प्रतिनिधि सभा विघटनको विपक्षमा छु। त्यसैले गर्दा पार्टी छिन्नभिन्न भयो, हाम्रो सरकार गएको छ। एउटा पार्टी विभाजन भएर तीन ओटा भएको छ। हामीले गरेका गल्ती कमजोरी सच्याएर जानुपर्छ। जनतालाई आफ्ना कमी कमजोरी र गरेका राम्रा कामहरु दुवै बताउनुपर्छ।
- प्रतिनिधि सभा विघटनको घटना जनताले राम्रोसँग बुझेका छन्। यसलाई हामीले प्रष्ट पार्न सक्नुपर्छ। हामीले पार्टी एक राख्न सकेनौ, पाँच वर्षसम्म सरकार चलाउन सकेनौं। यसमा हाम्रा के कस्ता कमी कमजोरी भए भनेर आत्मसमीक्षा गर्न सक्नुपर्छ।
- हामी बाध्य भएर प्रतिनिधि सभा विघटन गर्यौँ तर पनि हाम्रो कमजोरी भयो भनेर जनतालाई भन्नुपर्छ। पार्टी अध्यक्षले यो कुराको महसुस गर्नुपर्छ।