नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ। आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित भएका हुन्।
बैठकमा एमाले उपमहासचिव घनश्याम भुसालले तीनओटा विषयमा फरक मत राखेका थिए। भुसालले समाजवादमा जाने ठोस तयारी नभएको, जबजको स्पष्ट परिभाषा नगरिएको र प्रतिनिधि सभा विघटन संविधान विपरित रहेको विषय उठाएका थिए।
'२०६४ सालदेखि नै मैले उठाउँदै आएको छु। हामी समाजवादामा जाने हो, तर निजी सम्पति अन्त्य गर्न सम्भव छैन। त्यो दशकौंको कुरा हो' उनले भने, 'त्योभन्दा अघि समाजवादमा जान, त्यसको तयारी गर्न ठोस कार्यक्रम हुनपर्छ। त्यो ठोस कार्यक्रमको अभाव छ।'
उनले जनताको बहुदलीय जनवाद जसले जे बुझ्यो त्यस्तै तरिकाले व्याख्या गरिएको बताए। 'जबजलाई परिभाषित गरेका छैनौँ।यसरी हामी लामो समय जाँदैनौ। त्यो के हो भनेर जान सकिन्छ।' उनले भने 'यसलाई परिभाषित गरौँ, परिपुरण गरौँ भन्ने मेरो कुरा हो।'
त्यस्तै भुसालले प्रतिनिधि सभा विघटनको समीक्षा गर्नुपर्ने बताएका थिए। उनले प्रतिनिधि सभा विघटन संविधान विपरित भएको स्पष्ट पारेका थिए।
यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने संसद विघटनको बचाउ गरेका थिए।
ओलीले गत पुस र जेठमा प्रतिनिधि सभा विघटन गरेका थिए। दुबै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको आदेश दिएको थियो।
सर्वोच्चले नेपालको संविधानमा संसदबाट नयाँ सरकार बन्न सक्ने अवस्था रहुन्जेल संसद विघटन नहुने व्यवस्था रहेको व्याख्या गरेको छ।
कुनै प्रधानमन्त्रीले चाहँदैमा संसद विघटन हुन नसक्ने सर्वोच्चको आदेशमा उल्लेख छ।