एमाले नेता कर्णबहादुर थापाले १० बुँदे सहमति अनुसार भीम रावल सुदूरपश्चिमको इन्चार्ज हुने भन्ने नरहेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै सुदूपरपश्चिम प्रदेश कमिटीका अध्यक्ष समेत रहेका एमाले नेता थापाले अहिलेको कार्यविभाजन अनुसार लेखराज भट्ट नै इञ्चार्ज रहेको बताए।
२०७५ जेठ २ को अवस्थालाई रचनात्मक ढंगले लागू गरिन्छ भन्नुको अर्थ नै जस्ताको तस्तै लागू हुँदैन भन्ने रहेको उनले बताए।
‘१० बुँदे अनुसार उहाँ कतैबाट पनि इञ्चार्ज हुनुहुन्न। त्यो अनुसारको व्याख्या गर्न पनि मिल्दैन र माग गर्न पनि मिल्दैन,’ थापाले भने, ‘अहिले त हामीलाई पार्टीका तलका कमिटीहरूमा समायोजन गर्ने सन्दर्भमा सहजीकरण गर्न मात्रै भनिएको हो। यो कुनै कमिटी पनि होइन। यसको उहाँले संयोजन गर्ने मात्रै हो।’
सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनको सहजीकरणका लागि भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई पार्टीले जिम्मेवारी दिएको छ।
उनले एमालेको सुदूरपश्चिपम इञ्चार्ज को हो भन्नेमा बहस नै गर्न नपर्ने बताए।
‘भीम रावल लगायतका कमरेडहरू एउटा मात्रै केन्द्रीय कमिटीमा आउनुभएको छ। त्यो भन्दा पहिला अरू पनि बैठक बसेका छन्। अन्तर पार्टी निर्देशन जारी भएको छ। नयाँ कार्य विभाजन नहुँदासम्म अहिलेको कार्यविभाजन कायमै रहन्छ,’ उनले भने, ‘सुदूरपश्चिममा १० बुँदे कार्यान्वयनमा कुनै समस्या छैन। शतप्रतिशत कार्यान्वयन गर्ने गरी हामी अघि बढेका छौं।’
एमाले, त्यसपछि नेकपा र पुस ५ पछिको गरी तीन कालका नेतृत्वलाई उपयुक्त व्यवस्थापन गरेर अघि बढ्ने भन्दै उनले १० बुँदेमा पनि त्यही भनिएको र पार्टीको केन्द्रीय कमिटीले समेत त्यही निर्णय गरेको बताए।
१० बुँदे कार्यान्वयन गर्ने सन्दर्भमा बुझाई फरक हुन सक्ने भए पनि पार्टी जीवनमा त्यसको अभ्यास गर्ने सन्दर्भमा कुनै समस्या नहुने थापाको दाबी छ।
‘१० बुँदेमा २०७५ जेठ २ अघि मूलभूत रुपमा जाने र सामान्यत: जाने भनेको छ। नेकपा एमाले, नेकपा र नेकपा एमालेको कालमा भएका जिम्मेवारीबारे व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको कार्यविभाजनको हिसाबले लेखराज भट्ट पार्टीको इञ्चार्ज हो। पार्टीको उपाध्यक्ष भएकाले सुदूरपश्चिममा १० बुँदे कार्यान्वयनका लागि संयोजनकारी भूमिका खेल्नु स्वाभाविक हो।’
तलका सबै संरचनाहरू जेठ २ मा गएको भन्दै उनले आफूलाई १० बुँदे कार्यान्वयन गर्न खोजेन भन्नु शतप्रतिशत गलत रहेको बताए।
‘हामीले नै सबैभन्दा पहिला एकताको पक्षमा निर्णय गरेका छौं। पार्टीलाई संकटको घडीमा जोगाउन समेत विगतमा पनि निरन्तर लागिरहेको हो,’ उनले भने।