नेकपा एमाले छोडेर एकीकृत समाजवादी पार्टी रोजेकी नेतृ रामकुमारी झाँक्रीको जन्मथलो रहेको जिल्ला गुल्मीमा एमाले छोडेर जाने जनप्रतिनिधि शून्य रहेको छ।
गत भदौ १ गते एमाले विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो।
एमाले विभाजनपूर्व दुबै समूहका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला रहेको गुल्मीमा दुबै नेताहरू एमालेमै रहेपछि एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य भएको हो।
त्यस्तै, साबिक लुम्बिनीका कपिलवस्तु, पाल्पा र पश्चिम नवलपरासीबाट भने एक/एक जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।
कपिलवस्तुमा शिवराज नगरपालिका वडा नम्बर ८ देवीपुरकी कार्यपालिका सदस्य निर्मला सुनारले एकीकृत समाजवादीमा सनाखत गरेकी छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानीराम पुरीले कपिलवस्तुमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीमा एक/एक जनाले सनाखत गरेको जानकारी दिए।
सुनारले एमाले छोडेर एकीकृत समाजवादी रोज्दा शिवराज नगरपालिका १० कि वडाअध्यक्ष मन्जु मिश्राले जनता समाजवादी छोडेर लोकतान्त्रिक समाजवादी रोजेकी हुन्।
त्यस्तै, पाल्पाबाट रम्भा गाउँपालिकाका एक जना जनप्रतिनिधीले मात्रै नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रम्भा गाउँपालिका वडा न ५ का सदस्य इश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका हुन्।
श्रेष्ठले समाजवादी रोजेपछि माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको गृह जिल्लामा नेकपा एकिकृत समाजवादी निल हुनबाट जोगिएको छ।
त्यसैगरी, पश्चिम नवलपरासीमा बर्दघाट नगरपालिका वडा न ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी रोजेका छन्। चापागाईंसँगै बर्दघाट वडा नं. २ का सदस्य कृष्णप्रसाद पाण्डेले पनि एकीकृत समाजवादीमा सनाखत गरेकोमा पछि फिर्ता लिएका छन्।
जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले सनाखत फिर्ता स्वीकृत गर्न नमिल्ने भएकाले उक्त पत्र आयोगमा पठाउने बताइन्।
त्यसैगरी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जाने जनप्रतिनिधि भने शून्य भएको छ।
उता अर्घाखाँची जिल्लामा भने ६ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन्।
जिल्लामा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।
गौतमसहित शितगंगा नगरपालिका वडा नम्बर ६ का सदस्य गोविन्दप्रसाद पोख्रेल, शितगंगा नगरपालिका-१३ का वडा सदस्य जिवलाल क्षेत्री, पाणिनी गाउँपालिका वडा नम्बर ३ का सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा नम्बर १ की महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका ५ का सदस्य डालबहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
लुम्बिनीमा एकीकृत समाजवादी रोज्ने कुल ७१ जना जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै दाङबाट २१ जनाले एमाले छोडेका छन्।
त्यसैगरी, बाँकेमा ११, रुपन्देही र प्युठान समान ७/७, बर्दिया ६, रुकुमपूर्व र रोल्पाबाट ५/५ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए।