नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भइसकेको छ।
यही भदौ १८ गते वडा अधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेको थियो। वडा अधिवेशन आउन एक साता मात्रै बाँकी छ।
केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।
क्रियाशील सदस्यता विवाद भएका क्षेत्रमा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने नेताहरूबीच सहमति छ।
कांग्रेसले करिब ९ लाख जनालाई क्रियाशील सदस्य बनाएको छ तर यसको सूची भने सार्वजनिक गरिसकेको छैन।
यो पनि: कांग्रेसमा कहाँ-कहाँ हुँदैछ पुरानै क्रियाशील सदस्यबाट अधिवेशन?
यसैबीच जिल्ला सभापतिहरू र युवा नेताहरू क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै बुधबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा रिले अनसनमा बसेका छन्।
कांग्रेसमा वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्।
महाधिवेशन नजिकिएसँगै निर्वाचन निर्देशिकामार्फत् तह अनुसारका पदमा उठ्ने उम्मेदवारले तिर्नुपर्छ शुल्क यकिन भइसकेको छ।
केन्द्रका लागि:
केन्द्रीय सभापतिको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ।
उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ लाग्नेछ। सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदको निर्वाचनका लागि भाग लिने हो भने १० हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ।
प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रूपैयाँ शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ।
प्रदेशका लागि:
प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ।
जिल्ला:
जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क लाग्नेछ।
गाउँ/नगरका वडा:
गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ।
वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रूपैयाँ शुल्क तोकिएको हो।
गाउँपालिका कार्यसमिति:
गाउँपालिका कार्यसमितिका लागि सभापति निर्वाचनमा भाग लिनेले दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क लाग्नेछ।
नगर सभापति:
नगर सभापतिका लागि हुने निर्वाचनमा उम्मेदवार हुँदा चार हजार, उपसभापति र सचिवका तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यलाई एक हजार शुल्क लाग्छ।
महानगर र उपमहानगर:
महानगरपालिका र उपमहानगर भित्रका सभापति पदको निर्वाचनका लागि पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क तोकिएको छ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति:
प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्नेछ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति:
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क लाग्छ।
साथै कांग्रेसले कोषाध्यक्षबाहेक अरू पदमा निर्वाचनमार्फत् नै चुन्ने व्यवस्था गरेको छ। निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी कोषाध्यक्ष चयन गरिने व्यवस्था छ।
यसैबीच केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृतहरू खटाउने तयारी गरेको छ।
सभापति शेरबहादुर देउवाले सबै जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाइसकेका छैनन्। उक्त सूची पाएपछि पार्टी वेबसाइटबाट सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ।
करिब ३८ जिल्लाको सूची प्राप्त भए पनि समितिले ७७ जिल्लाकै सूची आएपछि मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले वडा अधिवेशन आउन ४/५ दिनमात्रै बाँकी रहे पनि भदौ १८ मै अधिवेशन गर्न सक्ने बताए। उनले हिमाली जिल्लामा क्रियाशील सदस्यको सूची हेलिकप्टरबाट लगिने बताए।
यो पनि: सभापतिले कांग्रेस क्रियाशील सदस्यको सूची दिए भदौ १८ मै वडा अधिवेशन हुन्छ: संयोजक यादव
सभापति देउवाको नियमित कार्यकाल सकेर थप गरिएको एक वर्ष छ महिना समय यही भदौ २३ मा सकिँदैछ। वैधानिकता जोगाउन पनि कांग्रेसलाई भदौ २३ भित्र वडा अधिवेशन सुरू गर्नुपर्ने बाध्यता छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षले कार्यतालिकाअनुसार तोकिएको तहको निर्वाचन सोही दिन सक्ने गरी प्रक्रिया थाल्न आग्रह गरिरहेका छन्।
केही वडामा मात्रै भदौ १८ मा अधिवेशन गर्ने गरी नेतृत्वले तयारी गरेको आशंका गर्नै उनीहरूले छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्न आग्रह गरेका छन्।