नेपाली कांग्रेसले बनाएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन ८ दिन बाँकी छ। भदौ १८ मा देशैभरका छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको थियो।
तर वडा अधिवेशन गर्ने गरी तयारी भने गरिएका छैनन्। शुक्रबार बिहानसम्म सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाएका छैनन्।
यो पनि: क्रियाशील सदस्यको सूची माग्दै सानेपामा धर्ना बसे कांग्रेस १० शीर्ष नेता (तस्बिरहरू)
सभापतिले क्रियाशीलको सूची बुझाएपछि महादेवप्रसाद यादव नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिले पार्टी वेबसाइटमा क्रियाशीलको अन्तिम नामावली सार्वजनिक गर्ने व्यवस्था छ।
क्रियाशीलको सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन भइरहेको छ। जिल्ला सभापतिहरू र युवा नेताहरू रिले अनसनमा छन्।
वडा अधिवेशन आउन एक साता बाँकी रहे पनि क्रियाशील सदस्यको टुंगो छैन भने निर्वाचन अधिकृत तोक्नेलगायत काम पनि भइसकेका छैनन्।
कांग्रेसले ९ लाख जनालाई क्रियाशील सदस्य बनाएको छ तर ती को-को हुन् भन्ने नामावली सार्वजनिक गरिसकेको छैन।
यो पनि: क्रियाशील सदस्यको नामावली वेबसाइटमै सार्वजनिक हुन्छ, प्रक्रियामा गइसक्यो: प्रवक्ता शर्मा
वडा अधिवेशन आउन एक साता मात्रै बाँकी रहेको र क्रियाशील सदस्यताबारे अझै पनि विवाद रहेकोले भदौ १८ मै अधिवेशन हुनेमा आशंका पैदा भइरहेको छ।
यसै सन्दर्भमा कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवसँग भदौ १८ मै वडा अधिवेशन सम्भव छ? भन्नेलगायत महाधिवेशनका तयारीबारे सेतोपाटीले गरेको कुराकानी:
सभापतिबाट निर्वाचन समितिमा क्रियाशील सदस्यको सूची प्राप्त भयो?
अहिलेसम्म प्राप्त भएको छैन। प्रक्रियामा गएको छ भन्ने सुनेका छौं। क्रियाशीलको सूची आयो भने त अधिवेशन प्रक्रिया सुरू भइहाल्छ। सबै जिल्लाको क्रियाशील सूची निर्वाचन समितिमा पहिले आउनुपर्यो।
अधिवेशन आउन एक साता मात्रै बाँकी छ, भदौ १८ मा अधिवेशन सम्भव छ?
आज नै क्रियाशीलको सूची हामीलाई दिनुभयो भने सम्भव छ। जहाँबाट जसरी हुन्छ हामी भदौ १८ मै वडा अधिवेशन गर्छौं। क्रियाशीलको नामावली दिनु भएन भने त अधिवेशनको सम्भावना छैन।
अब क्रियाशील बुझाए पनि भदौ १८ मै अधिवेशन सम्भव छ र?
सकिन्छ, सकिन्छ। अधिवेशन आउनुभन्दा ४/५ दिन अघि क्रियाशीलको सूची हामीकहाँ आए पनि अधिवेशन तोकिएकै समयमा गर्न सक्छौं।
निर्वाचन अधिकृत तोक्ने काम भयो?
हामीले तयारी गरिसकेका छौं, त्यसका लागि धेरै दिन लाग्दैन। निर्वाचन अधिकृत तोकेका छौं, तयारीमै छ। क्रियाशीलको सूची पाएपछि निर्वाचन अधिकृत तोक्ने र उहाँहरूलाई सम्बन्धित ठाउँमा पठाइहाल्ने हो, यसका लागि समय छ।
क्रियाशीलको सूची हिमाली जिल्लाहरूमा कसरी पठाइन्छ?
अब हामीसँग समय कम छ, वडा अधिवेशनको समय आइसकेको छ। हतारहतार क्रियाशील सूची पठाउनु पर्ने भएमा सकेसम्म सडक मार्गबाट सम्भव नभए हेलिकप्टरबाट भने पनि पुर्याउँछौं। यसका लागि हामीलाई स्रोत र साधन उपलब्ध गराइदिनुपर्छ।