नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय सदस्यहरूले ऐक्यवद्धता जनाएर फर्केका छन्।
सानेपामा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला रिले अनसनमा बसेका छन्।
उनीहरूलाई 'सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान' बाट रञ्जित कर्ण र डिल्लीराम सुवेदीले साथ दिएका छन्।
१४ औं महाधिवेशनको प्रक्रिया सुरू हुन लागेका बेला वरिष्ठ नेता पौडेलनिकट जिल्ला सभापतिहरूले धर्ना र रिले अनसन सुरू गरेका हुन्।
उनीहरूको माग छ- क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्, विधिअनुसार मात्रै क्रियाशील सदस्यता दिइयोस् र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गरियोस्।
कांग्रेसको विधानमा जिल्ला सभापति उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्छ।
तर एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउने गरी निर्वाचन निर्देशिका बनाइएकोमा जिल्ला सभापतिहरूदेखि वरिष्ठ नेता पौडेलको आपत्ति छ।
बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक गरेर जिल्ला सभापतिहरूका मागमा समर्थन जनाएका पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू दिउँसो सानेपामा पुगेका थिए।
वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु र दीपक गिरी रिले अनसनस्थल पार्टी कार्यालयमा पुगेर फर्केका हुन्।
पार्टी मुख्यालय भवनको मुल ढोकामा रिले अनसन जारी छ। अनसनमा ऐक्यवद्धता जनाउन पुगेकी नेविसंघ महामन्त्री उर्मिला थपलियाले तत्कालै क्रियाशील सदस्यको सूची पार्टी वेबसाइटमा सार्वजनिक गर्न माग गरेकी थिइन्।
'सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान' बाट प्रतिनिधित्व गर्दै बोलेकी थपलियाले आफ्नो क्रियाशील सदस्यता छ कि छैन भन्ने देशभरका कांग्रेसजनले हेर्न पाउनुपर्ने बताइन्। कांग्रेसले करिब ९ लाखलाई क्रियाशील सदस्य बनाएको छ तर यसको सूची भने प्रकाशित गरिसकेको छैन।
यसपछि बोलेका पूर्वसांसद शंकर पाण्डेले पार्टी विधि विधानअनुसार चल्नुपर्ने बताए। वडा तथा जिल्लाबाट विधिसम्मत तवरले सिफारिस गरी पठाइएका क्रियाशील सदस्यको विवरण हटाएर केन्द्रले आफूखुसी नाम थपघट गरेको भन्ने गुनासा आएकोले त्यस्तो नगर्न उनले आग्रह गरेका छन्।
शीर्ष नेताहरूको तर्फबाट रिले अनसनस्थलमा वरिष्ठ नेता पौडेलले सम्बोधन गरेका थिए। पौडेलले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग राखेर कार्यालयमै नेता/कार्यकर्ता धर्ना, रिले अनसनमा बस्नुपर्ने अवस्था सिर्जना हुनु बिडम्वनापूर्ण भएको र यसले आफूलाई दु:खी बनाएको बताए।
उनले सभापति शेरबहादुर देउवाले प्रतिवद्धता जनाएअनुसार काम नगर्दा यस्तो अवस्था आइपरेको दाबी गरे।
‘सभापतिजी सधैँ भन्नुहुन्छ- समयमै महाधिवेशन गर्छु-गर्छु-गर्छु, तर तयारी त्यस्तो देखिएन,’ पौडेलले भने, ‘क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्यो भनेर मैले भनेँ, सार्वजनिक हुन्छ भन्नुभयो तर अहिलेसम्म सार्वजनिक गर्नुभएन।’
क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि सभापति देउवाले निर्वाचन समितिलाई क्रियाशीलको नामावली बुझाउने र निर्वाचन समितिले पार्टी वेबसाइटमा अन्तिम सूची राख्ने वैधानिक व्यवस्था छ। तर कांग्रेस संस्थापन पक्षले तयारी नपुगेको भन्दै क्रियाशीलको विवरण सार्वजनिक गरिसकेको छैन।
यसले गर्दा पार्टीमा विश्वासको संकट पैदा भएको पौडेल बताउँछन्। ‘पार्टीमा अहिलेजस्तो कहिल्यै पनि विश्वासको संकट आएको थिएन। यो हटाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उनले भने।
उनले क्रियाशीलमा देखिएका विवाद तत्कालै समाधान गर्नुपर्ने पनि बताए। क्रियाशीलका विवाद समाधान गरेर मात्रै वडा अधिवेशन थाल्न र भदौ १८ मै देशैभरका वडामा अधिवेशन गर्न पौडेल पक्षले माग गरिरहेको छ।
‘एक/दुई दिन राम्रोसँग काम गर्ने हो भने क्रियाशील विवाद समाधान गर्न सकिन्छ। विवाद समाधान गरेर क्रियाशीलको नामावली सार्वजनिक गर्नुपर्दछ,’ पौडेलले भने, ‘संवैधानिक संकट आउन नदिने गरी भदौ १८ मै वडा अधिवेशन गर्नुपर्छ।’
उनले युद्धस्तरमा काम गर्न संस्थापन पक्षलाई आग्रह गरेका छन्। साथै जिल्ला सभापतिको उम्मेदवारी पनि विधानअनुसार जे छ त्यही हुनुपर्ने पौडेल बताउँछन्। ‘विधानले व्यवस्था गरेअनुसार नै जिल्ला सभापति उम्मेदवारीबारे केन्द्रीय समिति बैठकले टुंगो लगाओस्,’ उनले भने।
क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न कांग्रेसले सुरूमा केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो। उक्त समितिले साउन १२ मा सभापति देउवालाई प्रतिवेदन बुझाएपछि बाँकी विवाद हल गर्ने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले पाएका थिए।
उनीहरूले सहमतिमै विवाद हल गरेर सभापति देउवालाई प्रतिवेदन बुझाइसकेका छन्। विवाद भएका वडामा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने सहमति नेताहरूबीच भएको छ। वडा अधिवेशन आउन ९ दिन मात्रै बाँकी रहे पनि अहिलेसम्म सभापति देउवाले निर्वाचन समितिलाई क्रियाशीलको विवरण बुझाएका छैनन्।