भदौ १ गते सेतोपाटीले कुराकानी गर्न खोज्दा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हेटौंडा जाँदै थिइन्। आफू बाटोमा भएकाले कुरा गर्न नमिल्ने बताइन्।
कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीकी कट्टर आलोचकका रूपमा परिचित शाक्य पछिल्लो समय भने तटस्थ बन्दै गएकी थिइन्।
उनले पार्टी एकताको विकल्प नरहेको र एमालेभित्रै गएर लड्नेसमेत बताउने गरेकी थिइन्। उनले माधव नेपालबिना पार्टी एकता नहुनेसमेत स्पष्ट पार्दै आएकी थिइन्।
संयोग यस्तो पर्यो, माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएकै दिन अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी छन्।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा एमाले संसदीय दलको नेता बनेर शाक्य मुख्यमन्त्री बनेकी हुन्।
बागमती प्रदेशमा एमालेको एकल बहुमत छ।एकल बहुमत भएकै कारण संसदीय दलको नेता बनेकै दिन शाक्य मुख्यमन्त्री बन्न सफल भएकी हुन्।
शाक्य मुख्यमन्त्री भएसँगै उनको कार्यकाललाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। शाक्य नेपाल समूह छोडेर ओली समूहमा गएकाले नेपाल नेतृत्वको नयाँ पार्टीले मान्यता पाएपछि उनी मुख्यमन्त्री रहन्छिन् की रहँदिनन् भन्ने महत्वपूर्ण कुरा हो।
निर्णायक समयमा गुट परिवर्तन गरेर गएकाले नेपाल नेतृत्वमा बन्ने पार्टीले उनलाई साथ दिन्छ कि दिँदैन भन्ने विषय महत्वपूर्ण हुन्छ। २०७४ माघमा भएको प्रदेश सभा संसदीय दलको निर्वाचनमा नेपाल समूहबाट उम्मेदवार बनेकी शाक्य ओलीनिकट डोरमणि पौडेलसँग पराजित भएकी थिइन्।
तिनै डोरमणिको समर्थनमा एकाएक मुख्यमन्त्री बन्नुको पछाडि भने केही रहस्य पक्कै भएको नेपाल पक्षको अनुमान छ। अर्थात् उनले ओलीसँगको सहाकार्यको बाटो रोजेको भनेर बुझ्न सकिन्छ।
यद्यपि संसदीय दलको नेता बन्नुभन्दा पहिला शाक्यले नेपालसँग सुझाव मागेकी थिइन्। नेपालले पनि उनलाई मुख्यमन्त्री बन्न भनेका थिए। नेपालको समेत समर्थनमा मुख्यमन्त्री बनेकाले नयाँ पार्टीमा शाक्य आउन सक्ने आशा यो समूहले गरेको छ।
'अष्ट कमरेडले मुख्यमन्त्री बन्ने बेलामा नेपाल कमरेडसँग सुझाव लिनुभएको थियो। नेपालले पनि अघि बढ्नु भनेपछि मुख्यमन्त्री बन्नुभएको हो,' बागमती प्रदेशका नेपालनिकट सांसद लक्ष्मण लम्सालले सेतोपाटीसँग भने,'पार्टी विभाजन भएपछि उहाँले कुन पार्टी रोज्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो। त्यसले नै उहाँको कार्यकालको निर्धारण हुन्छ।'
बागमती प्रदेशमा एमालेका ५६ जना सांसद छन्। एकजना सभामुख भएकाले सरकार फेरबदलमा ५५ जनामात्रै सहभागी हुन पाउँछन्।
१ सय ९ सदस्यीय प्रदेश सभामा झिनो बहुमतमा रहेको एमालेका १/२ जना सांसदमात्रै यताउता हुँदा पनि शाक्यको बहुमत गुम्छ।
माधव नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रियामा गएको २१ दिनभित्र उनको पार्टीमा सहभागी हुन सांसदहरूले मौका पाउँछन्। त्यस्तो अवस्थामा मुख्यमन्त्री शाक्यको टिम एमालेमै रह्यो भने उनी मुख्यमन्त्रीमा रहन सम्भव देखिँदैन। शाक्य सहितको टिम नआए पनि नेपाल नेतृत्वको पार्टीमा १५ जनाभन्दा धेरै प्रदेश सांसद आउने नेपाल समूहको दाबी छ।
त्यस्तो अवस्थामा कांग्रेस, माओवादी केन्द्र र नेपाल नेतृत्वको पार्टीको गठबन्धन बन्न सक्ने सम्भावना हुन्छ। बागमती प्रदेशमा माओवादी केन्द्रका २३ र नेपाली कांग्रेसका २२ सांसद छन्।