नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताका नाम र चुनाव चिन्हका लागि छलफलमा जुटेको छ।
नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी बैठकमा हस्ताक्षर संकलनसहित नाम र चुनाव चिन्हबारे छलफल भइरहेको केन्द्रीय सदस्य राजेन्द्र राईले सेतोपाटीलाई जानकारी दिए।
छलफलमा पार्टीको नामा नेकपा एमाले समाजवादीसहित विभिन्न नाममा छलफल भइरहेको राईले जानकारी दिए।
‘अन्तिम टुंगो लागिसकेको छैन, एमाले समाजवादी राख्ने कि भन्ने कुरामा कुरा मिल्ला जस्तो छ, छलफल जारी छ’, राईले भने।
यस्तै छलफलमा पार्टीको चुनाव चिह्नको बारेमा पनिस छलफल भइरहेको छ।
राईका अनुसार नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने पार्टीको चुनाव चिह्न खुल्ला किताबमाथि सूर्य या अरु पनि विकल्पका बारेमा छलफल भइरहेको छ।
यस्तै केन्द्रीय सदस्य निरा जैरूका अनुसार पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ का विषयमा पनि छलफल भइरहेको छ।
‘पार्टीको नाम नेकपा एकीकृत र चुनाव चिन्ह कलमसहित विभिन्न नामहरूका बारेमा पनि छलफल भइरहेको छ, अझै टुंगो लागेको छैन’, उनले भनिन्।
यस्तै केन्द्रीय सदस्य र सांसदहरूले हस्ताक्षरसमेत गरिरहेको राईले जानकारी दिए। ‘हिजो ५७ जना साथीहरूले हस्ताक्षर गर्नुभएको थियो। आज पनि हस्ताक्षर संकलन भइरहेको छ, आउँदै हस्ताक्षर गरेर जाँदै गर्नुभएको छ, संख्या बढ्न पनि सक्छ’, उनले भने।
छलफलपछि आजै निर्वाचन आयोग जाने पार्टीको तयारी छ।
सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो १ बजेर १० मिनेटमा जारी गरेसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन्।
पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्याउनु पर्नेहुन्छ।
प्रतिनिधि सभामा नेकपा एमालेका १२१ जना सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा ३४ जना सांसद छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी एमाले संसदीय दलमा एक सय ५५ जना सांसद छन्।
यीमध्ये प्रतिनिधि सभामा वरिष्ठ नेता नेपाल पक्षमा २२ जना सांसद छन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी एमालेका कूल सांसद १५५ जना छन्। अध्यादेशअनुसार यसको २० प्रतिशत भनेको ३१ जना सांसद हुन्छन्। नेता नेपाल पक्षले आफ्नो पक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३४ जना सांसद रहेको दाबी गरेको छ।