नेकपा एमालेका सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालले अलग्गै बाटो तय गरिसकेजस्तो लागेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै सचिव ज्ञवालीले नेपालका गतिविधिले आफूलाई यस्तो लागेको उनले बताए। यद्यपि नेपाल समूहमा रहेका धेरै नेता-कार्यकर्ता एकताको पक्षमा रहेकोसमेत उनको दाबी छ।
'हामीले साउन ३ विश्वासको मत दिने प्रक्रियालाई केही दिन स्थगित गरेर पार्टी एकताको प्रयास गरौं भनेको हो। तर उहाँले १० बुँदे सहमति नमान्ने र शेरबहादुर देउवालाई विश्वासको मतसमेत दिने बताउनुभयो। उहाँले आफू अल्पमतमा हुने बैठकमा नजानेसमेत स्पष्ट पार्नुभयो,' ज्ञवालीले भने,'त्यसैले माधव कमरेडले अलग्गै बाटो तय गरिसक्नुभयो भन्ने लाग्छ। त्यो हाम्रो आरोप होइन। उहाँको गतिविधिले देखाएका कुरा हो। उहाँसँग जोडिएका धेरै साथीहरू पार्टी एकताको पक्षमा छन्।'
कुनैबेला नेपालको पक्षमा ४२ जना सांसद भए पनि त्यो संख्या घट्दै गएकोसमेत ज्ञवालीको दाबी छ।
एमालेभित्र देखिएको विवाद र एकताका लागि भएको प्रयासबारे हामीले एमाले सचिव ज्ञवालीसँग भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश यस प्रकार छन्:
-नेकपा एमालेको एकता र एमालेको राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका सिंगो देश, आम-जनता र कार्यकर्ताको चाहना हो। समग्र राष्ट्रिय हितका लागि पनि मुख्य राजनीतिक दलहरू सुदृढ हुन जरूरी छ। यसको एकतासँग मुलुककै राजनीतिक भविष्य जोडिएकाले हामी अलि गम्भीर भएर एकताको लागि लागेका छौं। धेरैभन्दा धेरै साथीहरूलाई एकताको मूल प्रवाहमा आवद्ध गर्न सकिन्छ भन्ने विश्वास छ।
-उहाँका (माधव नेपाल) अभिव्यक्तिहरू त हामीले सुनिरहेका छौं। एकताको लागि गम्भीर छु भन्नु एउटा कुरा हो, के गरिरहनुभएको छ भन्ने महत्वपूर्ण हो। उहाँले १० बुँदेलाई स्वीकार्नु भएन।
-जुन ढंगले उहाँले सरकार ढाल्न र कांग्रेसलाई बलियो बनाउन जुन हदसम्म क्रियाकलाप गर्नुभयो। उहाँको दायरा त्यति नै साँघुरिएको छ। उहाँको गतिविधिबाट धेरै साथीहरू चिन्तित छन्। हामी ती साथीहरूसँग कुरा गरिरहेका छौं।
-हामीले को आउन पाउने को नपाउने भनेका छैनौं। तर केही साथीहरू नआउने भनेर कसमै खाएको देखियो। धेरै साथीहरू एकताको पक्षमा छन्। हामीले एकताका लागि छलफल पनि गर्दै जाने पार्टी काम पनि तीव्र बनाउँदै जाने भनेका छौं।
-हामीले संगठनात्मक कामलाई तीव्रता दिन्छौं। साथीहरूलाई समेट्ने हाम्रा प्रयास पनि जारी रहन्छन्। केही नेताहरू बुढानिलकण्ठ र खुमलटार दिनदिन जान भ्याउनुहुन्छ। तर आफ्नै पार्टीको नेता प्रधानमन्त्री भएको बेलामा बालुवाटार र अहिले बालकोट जान चाहनुहुन्न। आज पनि केपी ओलीलाई कसरी कमजोर गर्ने भन्नेमै उहाँहरूको ध्यान केन्द्रीत छ। अहिले पनि एमाले बलियो बनाउनेभन्दा पनि गठबन्धन बलियो बनाउनेमा केही साथीहरू लागेका छन्।
-महाधिवेशनको निश्चित अवधिको म्यान्डेट नमान्ने हो भने महाधिवेशनको लफडा किन गर्नुपर्यो। अध्यक्ष माग्ने कुरा बिल्कुल गलत, अलोकतान्त्रिक र अशोभनीय छ। त्यति हुँदा पनि पार्टी एकताको रक्षाका लागि दोस्रो अध्यक्ष दिन अध्यक्ष ओलीसमेत तयार हुनुभएको हो। तर नेपालले साथीहरूलाई उल्टै हकार्नुभएछ। म पदलोलुप हो, मलाई पदको लागि लडेको भन्ने देखाउन खोजेको भन्नुभएछ। जसको लागि प्रस्ताव राखिएको थियो उसैले चाहिँदैन भनेपछि यो सकिएको छ।
-बराबरी हैसियत माग्नु बिल्कुल गलत र असम्भव हो। त्यस्तो हो भने महाधिवेशनमा जाऔं न त, एउटा महाधिवेशनको म्यान्डेट अर्को महाधिवेशनसम्म नमान्ने नेता लोकतान्त्रिक नै हुन सक्दैन कम्युनिष्ट त धेरै परको कुरा हो। एउटा कार्यकाल पनि कुर्न सक्दैनौं भने ठूला-ठूला विधि र नीतिका कुरा गरेर के काम हुन्छ।
-एउटा यथार्थ के हो भने माधव नेपालसँग रहेको टिम सहितको ठूलो पंक्ति विभाजनको विपक्षमा छ। अहिलेसम्म विभाजनको परिणाम पनि अप्रिय नै देखिएको छ। विभाजनको भविष्य छैन भनेका साथीहरू र एमाले कमजोर हुँदा राष्ट्र कमजोर हुने बुझेका साथीहरू एकताको पक्षमा छन्।
-विधानको प्रस्तावले उहाँहरूलाई केही असर गर्दैन। यो एउटा प्रस्तावमात्रै हो। विधान महाधिवेशनले यसलाई परिमार्जन र परिष्कृत गर्न सक्छ। यसको अन्तिम फैसला विधान महाधिवेशनले गर्छ। यसले एकतामा कहीँकतै असर गर्दैन।