नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट ओर्लिएपछि एमाले वृत्तभित्र र सञ्चारमाध्यममा फोर्स, आर्मी, कमान्डजस्ता शब्द चर्चामा छन्।
एमाले नेताहरूले आन्तरिक विवादले फुटको संघारमा पुगेको पार्टी मिलाउने प्रयास जारी राखेको बताइरहेका बेला चर्चित बनेका यी शब्दले एमालेका दुबै पक्ष वार्ता सँगसँगै बाहुबलको पनि जोहो गरिरहेका छन् भन्ने देखाउँछ।
लामो समयदेखि शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा रहेको एमाले आफ्नैहरूका विरूद्ध प्रयोग हुने गरी किन बाहुबली जत्था तयार गर्दैछ भन्ने धेरैको प्रश्न छ।
गत साउन ८ गते राति एमाले सचिव योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सको औचित्यमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राखे।
पञ्चायतदेखि अहिलेसम्म सशक्त रूपमा आन्दोलनको मोर्चामा उभिएको अनेरास्ववियू र बहुदल आएपछि गठन भएको युवा संघजस्ता संगठनलाई ओझेलमा पार्न खोजिएकोमा उनले विरोध जनाएका थिए। कुनैबेला अनेरास्ववियूको नेतृत्व गरेका भट्टराईले अखिल फोर्स र युथ फोर्सलाई कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत बाहुबली समूह भनेका थिए। यी समूह खारेज गर्न उनले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग अनुरोधसमेत गरेका थिए।
भट्टराईले सामाजिक सञ्जालमा उक्त स्टाटस लेखेको अघिल्लो दिन साउन ७ गते नेपाल पक्षको युवा संघले 'पिपुल्स भोलेन्टियर' गठन गरेको थियो भने अर्को दिन अर्थात् साउन ९ गते अध्यक्ष ओलीनिकट युवा संघमातहतको युथ फोर्सको भ्याली कमान्ड घोषणा गर्ने कार्यक्रम थियो।
पिपुल्स भोलेन्टियरको घोषणा कार्यक्रममा वरिष्ठ नेता नेपाल आफैं भक्तपुर पुगेका थिए। युथफोर्सको भ्याली कमान्डको घोषणा कार्यक्रममा एमाले अध्यक्ष ओली जाने बताइएको थियो। अन्तिममा उक्त कार्यक्रममा महासचिव ईश्वर पोखरेल प्रमुख अतिथि बनेका थिए।
एमालेका दुई पक्षबीच अहिले फोर्स गठनको होडबाजी नै चलेको छ। भातृ संगठनका नाममा भएका फोर्सहरूले लडाकु दस्ताकै झल्को दिने गरेका छन्।
फोर्स घोषणाको सुरूवात ओली पक्षले नै गरेको हो। असार २९ गते युवा संघका इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले युथ फोर्स ब्युँताएको घोषणा गरेका थिए। क्षितिज थेवे यसका प्रमुख हुन्। उनी पूर्वमन्त्री वसन्त नेम्वाङनिकट हुन भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत नजिक छन्।
बस्नेत स्वंयको पनि युथ फोर्ससँग लगाव छ। उनी २०६५ सालमा युथ फोर्सको प्रमुख बनेका थिए। युथ फोर्सको प्रमुख भएपछि नै उनले आफ्नो सञ्जाल देशव्यापी बनाएका हुन्।
माओवादीको दबदबा भएको बेला युथ फोर्सलाई सक्रिय बनाइएको भए पनि यसले राजनीतिकभन्दा पनि अराजनीतिक गतिविधि गरेपछि विघटन गरिएको युवा संघका तत्कालीन अध्यक्ष अजम्बर राई काङमाङले सेतोपाटीलाई बताए।
'त्यो बेलामा युथ फोर्स एक वर्ष नपुग्दै विघटन भएको थियो। यसको आडमा कमाउधन्दा धेरै भएकाले अघि नबढाइएको हो,' उनले भने,'महेशजीको युथ फोर्स सँगको लिगेसी छ किनकी त्यसकै आडमा उहाँले युवा संघको नेतृत्व लिनुभयो। आफ्नो लिगेसीलाई जोगाइराख्नु मान्छेको स्वभाव हो। सायद त्यही भएर ब्युँताइएको होला।'
कुनै पनि कोणबाट युथ फोर्स, अखिल फोर्सजस्ता संगठनको जरूरी नरहेको उनको भनाइ छ।
कांग्रेसले सत्ता र शक्तिको दुरूपयोग नगरोस् र चुनावमा यसको प्रभाव नपरोस् भनेर आफूहरूले युथ फोर्स गठन गरेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए।
'आममतदाता र जनताको मनोबल बढाउन हामीले यस्तो गरेको हो। हाम्रो संगठनबाट अराजकता फैलाउन नदिन हामी सचेत छौं। अरूले पनि हाम्रो देखासिकी गरेकाले समस्या आउन सक्ला,' उनले भने,'हामी आफैं कसैलाई आक्रमण गर्दैनौं तर प्रतिरोधी संस्था भने हो। हामीले सरकार छोडेपछि समाज आतंकित हुन थालेको छ। देशी-विदेशी शक्तिले चलखेल गरेका छन्। त्यस्ता षडयन्त्र चिर्न पनि युथ फोर्स गठन भएको हो।'
युथ फोर्स स्वंयसेवी संगठन भएको र यसले पार्टीको नीति र नेतृत्वको रक्षा गर्ने उनले बताए।
युथ फोर्स गठन भएको २ दिनमै नेपाल पक्षले अखिल फोर्सको गठन गर्यो। असार ३१ गते प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीको नेतृत्वमा अखिल फोर्स गठन भएको हो।
विधानमा भएको सांगठनिक संरचनालाई ब्युँताइएको नेपालनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सेतोपाटीलाई बताए। फरक परिस्थिति भएका कारणले मात्रै चर्चा धेरै भएको उनले बताए। राजनीतिक संगठनले राजनीतिक मुद्धामा चासो दिनु स्वभाविक भएकोसमेत उनको भनाइ छ।
'अखिल फोर्सले शिक्षा क्षेत्रमा देखिएको विकृति पनि भण्डाफोर गर्छ। अर्को कुरा, केपी ओली पक्षले हाम्रा नेताहरूलाई धाक-धम्की दिइरहेको छ। उनीहरूले आक्रमणको योजना बोकेका छन्। त्यसको प्रतिरोधका लागिसमेत यो फोर्सले काम गर्छ,' उनले भने,'सांसद भएका महेश बस्नेतको तहका व्यक्तिहरूले समेत आक्रमणको धम्की दिएका छन्। आफ्नो विचार समूहका नेतामाथि हुनसक्ने सम्भावित आक्रमण रोक्ने हाम्रो उद्देश्य हो।'
पार्टीले विघटन गरेको युथ फोर्स दस्तालाई ब्युँताएर ओली पक्षले गलत गरेको उनले बताए।
हिजो-आज एमालेका दुबै पक्षका फोर्सको कुनै न कुनै कार्यक्रम भइरहेका हुन्छन्।
साउन १६ गते अखिल फोर्सले काठमाडौंमा भेला गरेको थियो। भेलामा नेपालले ओलीविरूद्ध चर्का अभिव्यक्तिसमेत दिएका थिए।
अर्कोतिर ओली पक्षले युथ फोर्सपछि महिला युथ फोर्ससमेत गठनको तयारी गरेको छ। साउन २३ गते ओली पक्षले महिला युथ फोर्सको घोषणा गर्ने भएको छ। त्यसको उद्घाटन ओलीले गर्दैछन्।
त्यतिमात्रै होइन ओली पक्षले 'आइटी आर्मी' नामक साइबर दस्तासमेत बनाएको छ। यसका प्रमुख सिबी साह हुन्। यसको संरक्षकत्वको जिम्मा माओवादी परित्याग गरेका एमाले नेता प्रभु साहले लिएका छन्। आइटी आर्मीले शनिबार रौतहटमा प्रदर्शनसमेत गरेको थियो।
भातृ संगठनका विभागका नाममा यस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको तर्क छ।
'युवालाई विभिन्न रचनात्मक काममा लगाउनु पर्छ। यसरी लड्ने र भिड्ने काममा लगाउने होइन। पार्टीमा काम गर्न थुप्रै निकाय छन्,' उनले भनिन्,'पार्टीका कामिटीमा समेत छलफल नभइकन गठन भएका संगठनले पार्टीलाई नै बदनाम गराउँछन्। यसमा हामी सचेत हुन जरूरी छ।'
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भातृ संगठनले आफ्ना विभाग गठन गर्दा पार्टीले निर्णय गरेर अनुमति दिन जरूरी नरहेको बताए। यद्यपी संगठनका गतिविधिबारे पार्टीलाई जानकारी हुने उनले बताए। उनले रचनात्मक काम गरे संगठनले सकारात्मक सन्देश दिनेसमेत दाबी गरे।
जुन पक्षले जे दाबी गरे पनि एमालेभित्र अहिले गठन भएका फोर्सहरू शक्ति प्रदर्शन गर्ने होडबाजीमै केन्द्रीत छन्। एक अर्काको पक्षमा लाग्नेहरूले यसको बचाउ गरेका छन्। जो तटस्थ छन् उनीहरूले यसको विरोध गरेका छन्।
त्यसकै उदाहरण हुन्- योगेश भट्टराई। उनले यस्ता गतिविधिको विरोधमात्रै गरेका छैनन् पार्टीभित्रका गुटमा वैचारिक चरित्र सकिँदै जाँदा एकअर्काविरूद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो? भनेर प्रश्नसमेत गरेका छन्। उनले यसलाई कम्युनिष्ट आन्दोलनको चिहान आफैंले खनिरहेको भनेर चिन्तासमेत गरेका छन्।