आहुतिले सोमबार, असार २८ गते, दिउँसो दुई बजे सेतोपाटी आउँछु भनेका थिए। उनी दुई बजे भनेपछि दुई बजे नै आइपुग्छन्, न अगाडि न पछाडि। मेरो अघिल्लोचोटिको अनुभवले यही भन्छ।
तर यसपालि दुई बज्यो, उनी आएनन्।
दुई बजेर दुई मिनेट गयो, उनी आएनन्।
दुई बजेर पाँच मिनेट गयो, उनी तै पनि आएनन्।
मैले साथीहरूलाई भनेँ पनि, ‘आज आहुतिजीलाई के भएछ, समयका पक्का हुन् त!’
मेरो मोबाइलको घडीमा दुई बजेर आठ मिनेट गएको थियो, जब उनको फोन आयो। मैले ‘हेलो’ भन्न नपाउँदै उनले अगाडि नै भने, ‘म तपाईंको अफिस आइपुगेँ है। पानी परेर अलि ढिला भयो।’
हाम्रो त्यो वार्ता जम्मा नौ सेकेन्डको थियो। मोबाइलमा कुरा गर्दै म आहुतिलाई स्वागत गर्न आफ्नो कोठाबाट तल ओर्लेँ। पानी परिरहेको छ भन्ने मलाई थाहै थिएन। आहुति फूलबुट्टेदार छाता ओढेर सेतोपाटी छिर्दै थिए।
मैले उनलाई हात–मुख दुवैले ‘नमस्कार’ गरेँ। उनले चाहिँ मुखले नमस्कार फर्काए। हातले त छाता बोकेका थिए, कसरी फर्काउनू!
उनलाई अगाडि लगाएर हामी एकतला माथिको गेस्टरूममा उक्लियौं। यही गेस्टरूम हाम्रो मल्टिमिडिया स्टुडियो पनि हो। यहाँ दुई सेट सोफा छन् र एउटा सिसाको टेबल छ र एकापट्टि भित्तामा सेतो बोर्ड छ जहाँ हरियो रङले अठार ठाउँमा सेतोपाटी लेखिएको छ। यो हाम्रो अफिसको आधिकारिक बोर्ड हो जसलाई तपाईंहरूले हाम्रा धेरै फोटो र भिडिओमा देख्नुभएकै होला। देखे पनि याद नभएको भए यही भिडिओमा देखिहाल्नुहुन्छ।
हामी स्टुडियो छिर्दा मल्टिमिडियाका सहकर्मी साथीहरू विवेक खिम्दुङ राई र रविन न्यौपाने आहुति र मेरो निम्ति दुईवटा क्यामराको सेटिङ मिलाउँदै थिए। आयताकार कोठामा आहुति पल्लो छेउको कुनापट्टि सोफामा बस्न भ्याएकै थिएनन्, विवेकले सोधे, ‘दाइ तपाईं कस्तो ठ्याक्कै प्रचण्डजस्तो देखिनुहुन्छ है, तपाईंलाई यो कुरा अरूले भनेको छ कि छैन?’
विवेकको प्रतिक्रियालाई आहुतिले सहज रूपमा लिए र मुसुमुसु हाँस्दै भने, ‘म प्रचण्डजस्तो देखिने होइन, प्रचण्ड चाहिँ मजस्तो देखिन्छन् भन्नु न।’
आहुतिको तात्तातो जवाफ सुनेर विवेक दंग पर्दै मज्जाले हाँसे।
उनीसँगै रविन हाँसे, रविनसँगै म हाँसेँ र हामी तीन जना सँगसँगै आहुति पनि हाँसे।
हाँसोको बादलले हामी बसिरहेको कोठालाई हलुका र चिसो बनायो।
विवेकले हामी दुवैलाई एउटा–एउटा माइक भिडाइदिए जसको मसिनो तार हामीले आफ्नो सर्टको टाँक खोलेर बाहिरबाट नदेखिने गरी सर्ट भित्र–भित्रै गोप्य सुरूङमार्गबाट घुसार्यौं। उनले हामी दुवैको माइक टेस्ट गरे र हामी दुवैतिर सोझिएका क्यामराको लेन्स मिलाउँदै ‘दाइ रेडी’ भनेर कुराकानीको रिङमा दुक्लै छाडिदिए।
विवेकले ‘दाइ रेडी’ भनेपछि आहुति र म सतर्क भयौं।
मैले आफ्नो सर्ट मिलाएँ र कपाल मिलाएँ र आफ्नो बसाइ मिलाएँ। यसबीच आहुतिले पनि एक गिलास पानी खाए।
एक–एकवटा क्यामरा सम्हालेका विवेक र रविनले मतिर हेर्दै एकै समयमा सँगसँगै भने– ‘एक्सन’
निर्देशन पाउनेबित्तिकै मैले क्यामराको अगाडि फेरि एकचोटि दलित मुक्ति आन्दोलनका अभियन्ता तथा विश्लेषक आहुतिलाई औपचारिक ‘नमस्ते’ गर्दै भिडिओ वार्ताको थालनी गरेँ।
आहुतिले पनि क्यामराको अगाडि मुखैले ‘नमस्ते’ फर्काए।
‘तपाईंलाई फेरि एकचोटि सेतोपाटीको स्टुडियोमा स्वागत छ।’
‘हजुर धन्यवाद।’
‘आजको हाम्रो कुराकानी अस्तिकै कुराकानीको निरन्तरता हो। आज पनि मैले तपाईंको किताब (जातवार्ता) बोकेर आएको छु। यसैमा आधारित रहेर हामी थप कुराकानी गर्नेछौं। अस्तिको एपिसोडमा हामीले नेपालको इतिहासमा पछिल्लो ७५ वर्षमा भएका दलित मुक्ति आन्दोलनका विभिन्न घटनाक्रमबारे छलफल गर्यौं। दलित मुक्ति आन्दोलनका ‘ल्यान्डमार्क’ घटनाहरूबारे तपाईंले जानकारी दिनुभयो — पशुपति मन्दिर प्रवेशदेखि शैलेश्वरी मन्दिर प्रवेश, माडीको घटना र अरू थुप्रै घटनाबारे हामीलाई बताउनुभयो। आज चाहिँ म तपाईंलाई त्योभन्दा पुरानो अवस्थामा लैजान चाहन्छु,’ मैले भनेँ।
‘यो जातीय व्यवस्था र छुवाछुत भनेको सनातनदेखि चलिआएको संस्कार हो, हाम्रो धर्म–संस्कृतिसँग जोडिएको कुरा हो, त्यसैले यसलाई छाड्नुहुन्न भनेको हामी सुन्छौं। यसरी जातीय व्यवस्थालाई संस्कृति र धर्मसँग जोडेपछि मान्छेहरू तलमाथि गर्न डराउने भए, त्यसैमा बाँधिएर बस्ने भए। मलाई यो सब कसरी सुरू भयो होला भन्ने तपाईंबाट सुन्न मन छ। सभ्यताको सुरूआतमा त हामी सबै समान नै थियौं होला तर अचानक हामीले यो जातपात, वर्ण भनेर कसरी विभाजन गर्यौं?’
मैले खासमा प्रश्न छोटो होस् भन्ने नै चाहेको थिएँ। तर क्यामराको अगाडि कुरा गर्न अनुभवको कमी, अलिकति क्यामराकै डर र अलिकति भूमिका बाँध्ने क्रममा पहिलो प्रश्न सोचेभन्दा निकै लामो भयो।
भूमिकासहितको लामो प्रश्न सोध्दासोध्दै आहुतिले एकचोटि आफ्नो चश्मा फुकाले र केही सेकेन्ड चश्माको सिसालाई यस्तरी घोरिएर हेरे, मानौं उनी त्यसमा आफ्नो अनुहार नियाल्दै छन्।
उनले बिस्तारै चश्मा लगाए र दुवैतिरको डाँठ मिलाए। चिउँडोमा केही थोपा पसिना टिल्पिलाएका थिए। उनले देब्रे हत्केलाले पसिना पुछे। जिब्रो निकालेर आफ्नो सुख्खा ओठ भिजाए र जुँगा मुसार्दै, दुवै हात हल्लाउँदै जवाफ दिन सुरू गरे।
‘जाति र जात भनेको फरक फरक कुरा हो। एउटा निश्चित भूगोलमा, निश्चित उत्पादन अथवा आर्थिक प्रक्रिया र सामाजिक जीवनको एउटै इकाईमा लगातार जोडिँदै जाँदा तिनीहरूको छुट्टै भाषा निर्माण हुन्छ, छुट्टै संस्कृति निर्माण हुन्छ, छुट्टै मनोविज्ञान निर्माण हुन्छ र तिनीहरूको निश्चित भूमि र थलो पनि बन्न थाल्छ। यसरी एकै ठाउँमा सयौं वर्ष बसिसकेपछि एउटा जातिको निर्माण हुन्छ। यसलाई अंग्रेजीमा ‘नेसन’, ‘नेसनालिटी’ वा ‘एथ्निक ग्रुप’ भनिन्छ। नेपालीमा ‘राष्ट्र’ पनि भनिन्छ। संसारभरि जातिको निर्माण हुने प्रक्रिया यो भयो। तर हामी अहिले एउटै जातिभित्र रहेको तहगत संरचनाको कुरा गर्दैछौं। कोभन्दा को ठूलो? कोभन्दा को सानो? कसले के गर्न पाउने? कसले के गर्न नपाउने? कसलाई कसले भेदभाव गर्न पाउने? कसले नपाउने? को जन्मका आधारमा स्वतः ठूलो? को जन्मका आधारमा स्वतः सानो? यो अवधारणा चाहिँ ‘जात’ हो। सुरूमा वर्ण भनियो र पछि जातका रूपमा आयो।’
आहुतिले फेरि एकचोटि चश्मा फुकाले र उसैगरी सिसातिर घोरिएर हेरे।
मैले भनेँ, ‘यो त जाति र जातको फरक भयो, अब वर्ण व्यवस्था वा जात व्यवस्था चाहिँ कसरी सुरू भयो त?’
उनले चश्मा लगाए र दुवै डाँठ मिलाउँदै भने, ‘विभिन्न समाजशास्त्रीहरूले भनेअनुसार आजभन्दा करिब पाँच हजार वर्षअघि युरोपबाट आर्यहरू उपयुक्त जमिनको खोजीमा इरान, अफगानिस्तान हुँदै सिन्धुघाटी उपत्यका प्रवेश गरे। त्यति बेला सिन्धुघाटीमा दुईवटा सभ्यता थिए — एउटा, मोहनजोदाडो र अर्को हडप्पा। आस्ट्रिक–द्रविड मूलका मानिसले ती सभ्यता निर्माण गरेका थिए। उनीहरूको नाक बुच्चो हुन्थ्यो, रङ पहेँलो वा रातो हुन्थ्यो। त्यहाँ आर्यहरू प्रवेश गरिसकेपछि लामो समय युद्धको स्थिति बन्यो र आर्यहरू विजयी भए।’
‘आर्यहरू प्रवेश गरेको भनेको त्यही इरान र अफगानिस्तान हुँदै?’ मैले प्रस्ट हुन चाहेँ।
आहुतिले दक्षिण एसियामा आर्यहरूको प्रवेशबारे थप बिस्तार लगाउँदै भने, ‘आर्यहरूको दुइटा झुन्ड देखिन्छ। एउटा युरोपबाट पूर्वतिर लागे, अर्को युरोपबाट उत्तरतिर। पूर्वतिर लागेको जो झुन्ड छ, त्यो इरान र अफगानिस्तान हुँदै सिन्धुघाटी उपत्यका प्रवेश गरे। इरानको नामै आर्यबाट राखिएको भनिन्छ। सिन्धुघाटी उपत्यकामा आस्ट्रिक–द्रविडहरू पहिलेदेखि बसोबास गर्थे। आर्यहरूको प्रवेशपछि त्यहाँ संघर्ष भयो जसमा आर्यहरू विजयी भए। यसबाट दास र मालिकको प्रथा सुरू भयो। हारेकाहरू दास भए, जितेकाहरू मालिक। त्योभन्दा अगाडि दास युग थियो भन्ने कुनै साहित्यमा भेटिँदैन।’
उसो भए के दक्षिण एसियामा आर्यहरू सदाकाल मालिक मात्र थिए त? दास हुनेमा आस्ट्रिक–द्रविड परिवारका मानिस मात्र थिए त?
आहुतिको कुरा सुन्दासुन्दै मेरो मनमा यी प्रश्न आएका थिए जुन मैले सोध्नै परेन। उनले आफैं बेलीबिस्तार लगाए।
‘सुरूमा आर्यले द्रविडहरूलाई जितेकाले आर्यहरू मात्र मालिक भए र द्रविड वा आस्ट्रिक मूलका मानिसहरू सबै दासमा परिणत भए भन्ने भनाइ पनि छ। तर वास्तविकता यस्तो देखिँदैन। निश्चित हारेको खलक मात्र दास बनाइएका हुन्। त्यसबाहेक अरू कोही युद्धबाट भागे होलान्, कोही आफ्नो बसोबास क्षेत्र छाडेर अन्तै गए होलान्, कोही आर्यहरूसँगै मिसिए होलान्। त्यति बेला निश्चित आस्ट्रिक वा द्रविड परिवारका मानिसहरू आफ्नो भूभाग छाडेर फैलिने क्रममा नेपालसम्म आइपुगेका थिए भनिन्छ।’
‘भन्नुको मतलब, आर्यहरू सदाकाल मालिक मात्र थिए र आस्ट्रिक वा द्रविडहरू सबै दास भए भन्ने भनाइ गलत हो। समय क्रममा आर्य परिवारका मानिसहरूको पनि बिस्तार भयो। उनीहरूबीच पनि फुट भयो। उनीहरूले पनि छुट्टाछुट्टै राज्य बनाए। एउटा आर्य राज्य र अर्को आर्य राज्यबीच युद्ध हुने भयो। यसबाहेक आर्यहरूले शासित गर्न नसकेका अनार्य राज्यहरू पनि थिए।’
यहाँ आहुतिले आर्य–आर्य र आर्य–अनार्यबीच भएका दुइटा पौराणिक युद्धकथाको उदाहरण दिए।
एक, रामायण जसमा रावणको परिवार अनार्यहरूको खलक हो। रामचन्द्रले रावणलाई लडाइँमा त जिते तर लंकाको शासन रावणकै भाइ विभीषणको जिम्मामा छाडेर आए। अर्थात्, यहाँ युद्ध हारेका अनार्यलाई दास बनाइएन, न उनीहरूमाथि शासन गरियो।
अर्को, महाभारत जुन एउटै जातिको मात्र होइन, एउटै परिवारको युद्धकथा हो। आर्य–आर्य बीचको युद्धकथा। यहाँ युद्ध जित्ने आर्यहरूले युद्ध हार्ने आफ्नै खलकका आर्यहरूलाई दास बनाएका हुन सक्छन्।
यी दुइटा उदाहरणपछि आहुतिले आफ्नो भनाइको निचोड सुनाए, ‘हामीले आर्यहरूको प्रवेशपछिको घटनाक्रमलाई नयाँ भाष्यमा बुझ्नु जरूरी छ। त्यो के भने, दक्षिण एसियामा कालान्तरमा आस्ट्रिक र द्रविड मूलका मानिसहरू पनि र हारेका आर्य जातिका मानिसहरू पनि दासमा परिणत भएका छन्। त्यसैले यहाँ दास भनेर जसलाई भनिन्छ, त्यो कुनै एउटा जाति मात्र होइन, सबै जातिका मानिस हुन्।’
‘जो यहाँ पहिलेदेखि बसिरहेका थिए, उनीहरू त हारेपछि दास हुने भइहाले तर जो यहाँ आए, उनीहरू पनि विभिन समूहमा विभाजित भएर आपसी युद्धमा गए र युद्ध हार्नेहरू दास भए, होइन त?’ मैले आहुतिले भनेका कुराहरूको सार खिचेर उनैलाई सुनाएँ ताकि मैले ठिक ठिक बुझेँ कि बुझिनँ भनेर थाहा पाउन सकूँ।
आहुतिले मेरो सारमा सही थापे र आफ्नो वर्णनलाई निरन्तरता दिए, ‘जनसंख्या वृद्धि सँगसँगै र विभिन्न आवश्यक उत्पादनका कामहरूको वर्गीकरण सँगसँगै श्रम विभाजन जुनसुकै समाजमा अनिवार्य बन्छ। राज्यले सचेत रूपमा लागू गरे पनि नगरे पनि श्रम विभाजन समाजको एउटा नियम नै हो। कम्प्युटर आउनुभन्दा अगाडि हाम्रो समाजलाई कम्प्युटर इञ्जिनियर चाहिएको थिएन। कम्प्युटर आइसकेपछि कम्प्युटर इञ्जिनियर भन्ने नयाँ खलक चाहियो।’
जवाफ दिने क्रममा आहुतिका हात निरन्तर हल्लिँदै थिए। घरि दाहिने हात हल्लिन्थ्यो, घरि देब्रे, घरि दुवै। उनी कहिले दुवै हत्केला तलतिर फर्काउँदै चोरी औंलाहरू आपसमा जोडेर पृथ्वीजस्तो डल्लो आकार बनाउँथे, कहिले तास फिटेजस्तो एउटा हातमाथि अर्को हात खप्ट्याउँथे। शारीरिक हाउभाउसँगै उनको जवाफ जारी थियो।
‘संसारका सबै भागमा घोषित वा अघोषित रूपले श्रम विभाजन भए र हुँदै आए। हामीले संसारका विभिन्न समाजलाई हेर्ने हो भने त्यहाँ ईश्वरसँग सम्पर्क गराइदिने र पुरेत्याइँको भूमिका खेल्ने मानिसहरू पनि छन् र श्रम गर्ने किसानहरूको ठूलो संख्या पनि छ। त्यसपछि विज्ञान प्रविधि, गीत–संगीत आदि इत्यादिमा काम गर्नेहरू पनि छन्। श्रम विभाजनको यो प्रक्रिया अहिले पनि जारी छ। जस्तो, तपाईंहरूको यो अनलाइन भन्ने चिज जन्मेपछि अनलाइन पत्रिकामा काम गर्ने तपाईंहरूजस्तो नयाँ खलकको जन्म भयो, हो कि होइन?’
म मुसुमुसु हाँसिरहेँ।
‘दक्षिण एसियाको सिन्धुदेखि गंगा मैदानसम्म विकसित सभ्यतामा भने श्रम विभाजनको नयाँ प्रावधान थपिन पुग्यो। यहाँको श्रम विभाजन अनुल्लंघनीय थियो। त्यो भनेको के भने, कुनै पनि वंश वा परिवारलाई जुन पेसा तोकिन्छ, त्यो पेसा उसले सन्तान–दरसन्तान कहिले पनि फेर्न पाउँदैन थियो।’
‘अर्को पेसा पनि गर्न नपाइने?’ मैले सोधेँ।
‘फेर्न नपाइने भनेको नै अर्को पेसा गर्न नपाइने हो,’ आहुतिले भने, ‘संसारको अरू भागमा भएको श्रम विभाजन र दक्षिण एसियाको श्रम विभाजनको आधारभूत फरक हो यो र यो नै सबभन्दा डरलाग्दो कुरा हो। यहाँ प्रचलित सारा उत्पीडनको स्रोत यही हो।’
‘भनेपछि अरू सभ्यतामा पनि श्रम विभाजन भए तर त्यहाँ उनीहरूले सन्तान–दरसन्तान एउटै पेसामा आबद्ध भएर बस्न अनिवार्य गरेनन्?’ मैले थप प्रस्ट हुन चाहेँ।
‘हो, संगीत पेसामा लागेको आमा छ भने उसकी छोरीले अरू जुनसुकै काम गर्न पनि पायो तर यहाँ त्यस्तो भएन। जुन परिवारलाई जे काम गर्न भनी तोकिएको छ, त्यो पुस्ता–दरपुस्ता कहिले पनि फेर्न नपाइने भयो।’
‘किन यस्तो भयो त यहाँ?’
‘एउटा त अध्यात्मवादी विचार छ र अर्को आदर्शवादी विचार छ। जस्तो– एउटा विशाल ब्रह्माजी वा कुनै विशाल ईश्वरको उत्पत्तिको कथा छ जसको मुखबाट एउटा वर्गको मान्छे जन्मियो, छातीबाट अर्को वर्गको मान्छे जन्मियो र गोडा वा पैतालाबाट अर्को वर्गको मान्छे जन्मियो भनिन्छ। मान्छेको जन्म नै यसरी भएको हुनाले उसले गर्ने काम पनि त्यहीअनुसार तोकियो भन्ने एउटा अवधारणा भयो। कतिपय मानिसले यो त्यति बेलाको समाजले सल्लाह गरेर वा मिलेमतो गरेर सजिलै बनाएको व्यवस्था हो भनेर पनि भन्छन्। तर वास्तविकता त्यो होइन। यो त राज्यले बलात् दमन गरेर, भयंकर विद्रोहहरू हुँदा पनि त्यसलाई दबाएर निर्माण गरिएको व्यवस्था हो।’
आहुतिले यसलाई विवाह संस्थासँग जोडे र भने, ‘अहिले बिहे भनेपछि नाचगान गर्ने, खुसी हुने र एकदमै आनन्दित हुने अवसरका रूपमा चिनिन्छ। तर वास्तविक बिहे यसरी सुरू भएको होइन। महिलालाई लुटेर ल्याएर, कुटेर, बाँधेर, वर्षौंसम्म उसलाई बलात् एकल स्वास्नी बनाएर निर्माण गरिएको संस्था हो यो। अहिले त यो संस्कृति भयो। बिहे गर्न नपाउँदा मान्छेहरू रूने कुरा भयो। बिहे गर्न पाउँदा मान्छेहरू आनन्द मान्न थाले। यसलाई सबभन्दा पवित्र बन्धन भन्न थालियो। हुँदाहुँदा सात जुनीसम्म सँगै बस्ने अवधारणा विकास भयो। तर यसको सुरू चाहिँ दमनबाट भएको हो। पितृसत्ताले वा पुरूषहरूले अर्को कबिलाको महिलालाई लुटेर ल्याएर, वर्षौं बाँधेर, कुटेर, दासी बनाएर एउटै पुरूषसँग मात्र बस्न बाध्य पार्ने र उसको मात्र बच्चा जन्माउनुपर्ने अवस्थाबाट सुरू भएको हो।’
‘वर्ण व्यवस्थाको सुरूआत पनि यसरी नै भएको हो,’ आहुतिको स्वर चर्को भयो र उनले दाहिने हत्केला मुठ्ठी पारेर हावामा उचाले, ‘कुनै वंश वा परिवारले सन्तान–दरसन्तानसम्म एउटै पेसामा मात्र बस्नुपर्ने कुराले जुन समस्या उत्पन्न भयो, त्यसविरूद्ध जुन विद्रोह भयो, त्यसलाई बल प्रयोग गरेर, जबर्जस्ती दमन गरेर उनीहरूलाई त्यही नियम पालना गर्न बाध्य पारियो।’
‘यो खालको श्रम विभाजन हामीकहाँ ३५ सय वर्षअगाडि सुरू भइसकेको थियो। यसको प्रमाण के त भन्दा, भारतीय उपमहाद्विपको सबभन्दा पुरानो ग्रन्थ ‘ऋग्वेद’ हो जसको ‘पुरूष सूक्त’ भन्ने अध्यायले एउटा विराट पुरूषको विभिन्न अंगबाट चार वर्णका मानिस उत्पन्न भए भनेको छ। यसको मतलब त्यो बेला जन्मिएको भनिएको होइन। पहिले नै जन्मिएका यी–यी वर्गका मान्छेलाई यस्ता–यस्ता खालको श्रममा विभाजन गर्ने भनिएको हो। त्यो त एक प्रकारको कानुनजस्तो हो। समाजमा कानुन बन्ने भनेको कि त पहिलेदेखि चलिआएको कुनै कार्यलाई नष्ट गर्न या वैधता दिन बन्छ। ऋग्वेदको त्यो व्यवस्था चाहिँ यहाँको श्रम विभाजनलाई वैधता दिन बनेको थियो। भन्नुको मतलब, हामीकहाँ ३५ सय वर्षअगाडि नै चार वर्ण व्यवस्था सुरू भइसकेको थियो।’
‘त्यसलाई वैधता चाहिँ ऋग्वेदले दियो, होइन त?’
‘हो ऋग्वेदले त्यसलाई वैधता दियो। अब त्यो चार वर्ण व्यवस्था भनेको के थियो त? त्यो मुख्यतः श्रम समूह थियो। यस्तो श्रम समूह जसको उल्लंघन गर्न नपाइने।’
‘यहाँ म अलिकति प्रस्ट हुन चाहेँ,’ मैले आहुतिलाई बीचैमा रोकेर सोधेँ, ‘जुन आर्यहरू युरोपबाट आएका थिए भनेर तपाईंले भन्नुभयो, पाँच–छ हजार वर्ष वा त्योभन्दा पनि अगाडि, के श्रम विभाजनको यस्तो व्यवस्था ती आर्यहरूले आफूसँगै लिएर आएका थिए?’
आहुतिले गिलासमा बचेको थोरै पानी पिएर आफ्नो मुख भिजाए र भने, ‘इतिहास हेर्दा त्यस्तो देखिँदैन। युरोपको धार्मिक पन्थहरूको अध्ययन गर्दा, त्यहाँ पनि बहुदेउताहरू छन्। कोही हावाका देउता छन्, कोही युद्धका देउता छन्। त्यसमा पनि तीन–चार जना सबभन्दा महत्वपूर्ण देउता छन्। हामीकहाँ जस्तो त्रिशूल नै बोक्ने देउता पनि छ।’
उनको हात महादेवले त्रिशूल बोकेजस्तै हाउभाउमा हल्लिँदै थियो।
‘त्यो बहुदेउताको अवधारणा यहाँ आर्यहरूले नै लिएर आएका हुन् कि होइन? युरोपको त्यही अवधारणा यहाँ आइपुगेको हो कि वा यहाँ आएपछि फेरि त्यसलाई नयाँ रूपमा विकास गरिएको हो कि वा त्यो अवधारणा उनीहरू आउनुभन्दा अघिदेखि नै यहीँ थियो? यसबारे गहिरो अध्ययन भएको छैन। हामी के चाहिँ भन्न सक्छौं भने, वेद श्रुति परम्परामा आधारित थियो जुन लेखिएको ३५ सय वर्षअगाडि हो। पैंतीस सय वर्षअगाडि जब वेद लेखियो, त्यति बेलासम्म यो भूभागमा वर्ण व्यवस्था सुरू भइसकेको थियो भन्ने कुरा चाहिँ प्रस्ट हुन्छ।’
‘अब आयो, त्यो वर्ण व्यवस्था वर्गीय रूपमा कसरी विभाजित भयो? वर्ण व्यवस्था भनेको वर्ग होइन भनेर कतिपय मान्छेले भन्छन् तर त्यो वर्गकै रूपमा विभाजित थियो। यसमा चारवटा श्रम क्षेत्र वा समूह छुट्टयाइयो। एउटा समूहमा ती मानिस थिए जसले समाजलाई ईश्वरसँग सम्पर्क गराउने काम गर्थ्यो, जसले राज्य सञ्चालनका नीतिनियम निर्माण गर्थ्यो र जसले औपचारिक ज्ञान आर्जन गर्ने र अरूलाई दीक्षित गर्ने काम गर्थ्यो। यो पहिलो वर्गका मानिसले गर्ने काम भए। यो वर्गका मानिसलाई ‘ब्राह्मण’ भनियो। त्यति बेला ती कति संख्यामा थिए भन्ने थप अनुसन्धान गर्दै जाने विषय हो।’
‘दोस्रो वर्गमा ती मानिस थिए जसले आफ्नो क्षेत्र वा राज्यको सीमालाई बाह्य आक्रमणबाट जोगाउने काम गर्थे, जसले राज्यको अर्थतन्त्र चलाउने र राज्यभित्र गल्ती गर्नेहरूलाई सजाय दिने काम गर्थे। भनेपछि कुनै निश्चित क्षेत्रको जिम्मेवारी लिने वा रखवारी गर्ने मान्छेहरू यो वर्गमा परे जसलाई ‘क्षत्रीय’ भन्न थालियो। यही आधारमा क्षत्रीयहरू राजा हुने भए। उनीहरूको काम राज्य सञ्चालन गर्ने, कर उठाउने, बल निर्माण गर्ने, अरूको आक्रमणबाट राज्यलाई जोगाउने, आफ्नो नियम नमान्नेलाई सजाय दिने लगायत थियो। ब्राह्मण र क्षत्रीय त्यति बेलाका शासक वर्ग थिए।’
दोस्रो वर्गका मानिसहरूको वर्णन गर्दा आहुतिले आफ्नो दाहिने मुठ्ठी कसेका थिए र बूढी औंला आकाशतिर तेर्सिएको थियो।
‘त्यसपछिको वर्गमा व्यापार गर्ने र कृषि वा पशुपालनको व्यवस्थापन गर्ने मानिसहरू पर्छन् जसलाई ‘वैश्य’ भनिन्छ। यहाँ धेरैलाई वैश्य भनेको कृषि काम गर्ने वा पशुपालन गर्ने भन्ने परेको छ। तर खासमा त्यस्तो होइन। वैश्य भनेको त्यसको व्यवस्थापन गर्ने हो। व्यवस्थापन गर्ने क्रममा केही श्रम पनि गर्ने भए, त्यो अलग कुरा हो। तर मूलभूत रूपमा उनीहरूले गर्ने काम भनेको व्यवस्थापन हो। अर्कातिर व्यापार भनेको त्यति बेलाका लागि सेवाको विषय थियो। त्यो कुनै शासनको विषय थिएन। अहिले पो व्यापार भनेको शासनको विषय भयो। अर्थतन्त्र कब्जा गर्ने भन्ने कुरा त अहिले पो आयो। त्यति बेला व्यापार भनेको सेवा हो, व्यापारी भनेका सेवक हुन्। घरघरै दूध पुर्याउन जाने, घरघरै सामान पुर्याउन जाने सेवक।’
‘राज्यको दैनिक क्रियाकलाप सञ्चालन गर्नेलाई व्यापारी भनिँदो रहेछ होइन?’ मैले भनेँ।
‘हो, सेवक हुन् ती त। यसरी व्यापार वा राज्यलाई सेवा गर्नेहरूलाई वैश्यको खलकमा राखियो। यो तेस्रो वर्ग भयो। त्यति बेला कृषि उत्पादन भइसकेपछि पनि पुरेतलाई कति भाग दिने, मन्दिरलाई कति भाग दिने, राजालाई कति भाग, शूद्रहरूलाई कति भाग दिने, आफूले कति खाने लगायत व्यवस्थापनको निकै ठूलो झन्झट थियो। वैश्यहरूले यी सबै काम गर्नुपर्थ्यो।’
‘त्यसपछि आयो, चौथो वर्ग जसलाई ‘शूद्र’ भनियो। उनीहरूको काम मूलतः तीनवटा छन्,’ आहुतिले आफ्नो दाहिने हातले देब्रे हातको एउटा औंला भाँचे, ‘पहिलो काम हो कृषि श्रम गर्ने। यो भनेको कृषि र पशुपालन दुवैमा श्रम गर्ने हो।’
उनले दोस्रो औंला भाँचे, ‘अर्को काम भौतिक र विज्ञान प्रविधिको भयो। जस्तो– फलाम खानीबाट फलाम निकाल्ने, तामा खानीबाट तामा निकाल्ने। त्यसपछि छाला प्रशोधन गर्ने, लुगाफाटो उत्पादन गर्ने। अहिले सबभन्दा माथिल्लो स्तरको भौतिक विज्ञान के हो भन्दा कम्प्युटर भन्न सकिन्छ। तर त्यति बेला विज्ञान प्रविधिको सबभन्दा उन्नत काम के हो भन्दा खानीबाट खनिज पदार्थ उत्खनन् गर्ने र त्यसलाई प्रशोधन गर्ने। यो पनि शूद्रहरूले नै गर्नुपर्थ्यो। यो निकै कठिन काम थियो। यसबाहेक संगीतको काम पनि उनीहरूले गर्नुपर्यो। नाचगानको काम पनि उनीहरूले गर्नुपर्यो। सूचनाको काम पनि उनीहरूले गर्नुपर्यो। आज जसलाई पत्रकार वा सञ्चारकर्मी भनिन्छ नि, त्यति बेलाको सञ्चारकर्मी को हो त? त्यो भनेको शूद्र हो जो बस्ती–बस्ती गएर, गाउँ–गाउँ गएर ढोल ठटाउँदै राज्यको सूचना दिँदै हिँड्थ्यो। कतिपय ठाउँमा यो प्रचलन अहिले पनि छँदैछ।’
उनले तेस्रो औंला भाँच्दै भने, ‘यसबाहेक तेस्रोमा अन्य सेवाजन्य कामहरू पनि शूद्रकै भागमा पर्थ्यो। नगरहरू विकास भएका छन् भने ती नगरहरू सफा गर्नुपर्यो। पानी बाँड्ने काम गर्नुपर्यो। यसको एकदमै लामो चक्र छ। यो एकदिनको कुरा होइन। पैंतीस सय वा चार हजार वर्षदेखि चल्दै आएको कुरा हो।’
‘श्रम विभाजनको यो प्रक्रिया पनि सजिलै लागू भएको होइन। यसको निम्ति त भयंकर वर्ग संघर्ष भयो। कसैले आफूलाई तोकिएको काम गर्न चाहेन होला, राज्यले उसलाई दमन गरेर त्यो काम गरायो होला। यसलाई सरल रूपमा बुझ्नु हुँदैन। अहिले हाम्रो आधुनिक राजनीतिमा जे भइरहेको छ, त्यति बेला पनि त्यस्तै भएको हो। अहिले जनजातिहरूले हामीलाई पहिचान चाहिन्छ भनिरहेका छन्, राज्यले त्यसमा दमन गरिरहेको छ। यो त्यही वर्गसंघर्षको निरन्तरता हो। महिलाहरूले हामीलाई यस्तो राज्य प्रणाली चाहियो भनिरहेका छन्, राज्यले घुमाइफिराइ दिन मानिरहेको छैन। आफूले भनेको नमान्नेलाई राज्यले ठोक्ने, जेल हाल्ने गरिरहेको छ। राज्य सञ्चालन क्रममा सयौं, हजारौं वर्षदेखि एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने सिलसिला चल्दै आएको छ। यहाँनिर म अब दोस्रो विषयमा जान चाहन्छु, छुवाछुत चाहिँ कसरी सुरू भयो त?’
आहुतिले सोफामा आफ्नो बसाइ अलिकति बदले, थोरै पानी पिएर घाँटी भिजाए र ३५ सय वर्षअगाडि औपचारिक रूपमा लागू गरिएको वर्ण व्यवस्था कसरी छुवाछुतमा परिणत भयो भन्ने कथा सुरू गरे।
‘वर्ण व्यवस्थामा सुरूदेखि छुवाछुत छैन भन्ने छ। त्यहाँ श्रम विभाजन छ, त्यो श्रम विभाजनमा अनुल्लंघनीयता छ, अर्थात् आफ्नो भागमा परेको श्रम फेर्न पाइँदैन तर त्यहाँ छुवाछुत छैन। अब यो छुवाछुत कसरी सुरू भयो त? जापानमा ‘बाराकुमिन’ भन्ने समुदाय छ जहाँ छुवाछुत हुन्थ्यो। इसाईहरूभित्र पनि एउटा समुदाय छ, त्यहाँ पनि छुवाछुत हुन्थ्यो। संसारका विभिन्न सभ्यतामा कुनै न कुनै प्रकारको छुवाछुत हुन्थ्यो। ती विभिन्न सिद्धान्तमा आधारित थिए। कोही विवाहको सीमा उल्लंघन गरेको भन्ने सिद्धान्तमा आधारित थियो। कुनै धर्मबाट च्यूत भएकाले सजाय दिइएको भन्ने सिद्धान्तमा आधारित थियो। कुनै फोहोरको सिद्धान्तसँग सम्बन्धित थियो। कुनै एउटा बस्तीले लामो समय शासकहरूको आदेशबमोजिम फोहोर उठाउने काम गर्दै जाँदा वा गरिबी लगायत कारणले सफासुग्घरमा ध्यान दिन नसक्दा उनीहरूलाई छुवाछुतको व्यवहार गरिन्थ्यो। संसारमा छुवाछुतसँग सम्बन्धित यस्ता विभिन्न सन्दर्भ र सिद्धान्तहरू अध्ययन भएका छन्।’
‘हामीकहाँ भने जुन जात व्यवस्था वा वर्ण व्यवस्थामा आधारित छुवाछुत छ, यो न फोहोरको सिद्धान्तमा आधारित छ, न हाडनाता करणीको सिद्धान्तसँग सम्बन्धित छ। एकथरीले हाडनाता करणीबाट जन्मेका बच्चाहरूलाई अछुत बनाइयो भन्ने गरेका छन्। यो सत्य होइन। पहिलो कुरा त संसारमा हाडनाता करणीबाट कुनै समुदाय निर्माण नै हुँदैन। संसारमा सधैंभरि हाडनाता करणी कतै न कतै भइरहेकै हुन्छ तर समुदायले त्यसलाई सेटिङ गर्छ। त्यसलाई त्यहीँ कुनै जातिभित्र वा डाँडा कटाएर व्यवस्थापन गर्छ। डाँडा कटाइएपछि ऊ जुन ठाउँमा गएर नयाँ जीवन सुरू गर्छ, त्यहाँ ऊ आफ्नो पुरानो परिचय छाडेर अर्कै मान्छे भएर बस्छ। यसले कुनै समुदायको निर्माण हुँदैन।’
आहुतिले आफ्नो ओठको देब्रे कुना औंलाले बिस्तारै चलाए र अगाडि भने, ‘फोहोरको सिद्धान्त पनि हाम्रो छुवाछुतसँग मिल्दैन। किनभने, सबभन्दा सफा काम गर्ने पनि यहीँ छन्, फोहोर काम गर्ने पनि यहीँ छन्। त्यसो भए के हो त यो? के सिद्धान्तमा आधारित छ त हाम्रो छुवाछुत?’
‘सयौं वर्षदेखि वैश्य र शूद्रहरू र त्यसमा पनि मूलतः शूद्रहरूले राजकीयतामा जान नपाउने, शासनमा जान नपाउने, शिक्षामा जान नपाउने, सेनामा जान नपाउने, आर्थिक क्रियाकलाप गर्न नपाउने भइसकेपछि उनीहरूको जीवन ध्वस्त भयो। एउटै काम पुस्तौं पुस्तासम्म गरिरहनुपरेपछि त्यो वर्गको जीवन क्षतविक्षत भयो। यसको मतलब, अहिलेको मजदूर वर्गको जीवन क्षतविक्षत भयो भनेजस्तै हो। भनेपछि त्यसविरूद्ध विद्रोह हुनु त अनिवार्य थियो। विभिन्न शास्त्रहरूमा हामीले देखेका छौं, कसैले तपस्या गरेर विद्रोह गरेका छन्, कसैले युद्ध गरेर विद्रोह गरेका छन्। ती सबै विद्रोहकै रूप हुन्। यसरी लामो समयसम्म उत्पीडित वर्ग, खासगरी शूद्रहरूले सशरीर वा विभिन्न उपायबाट विद्रोह गर्नु अनिवार्य थियो। त्यो विद्रोहको प्रक्रियालाई राज्यले दमन गर्नैपर्थ्यो। किनभने त्यो वर्ग संघर्ष थियो। तिनीहरूलाई दमन नगर्ने हो भने त ब्राह्मण र क्षत्रीहरूको वर्गीय राज्य वा उनीहरूले निर्माण गरेको संरचना उथलपुथल हुने भयो। त्यस कारणले दमन गर्नु अनिवार्य बन्यो।’
‘त्यति बेला दमन प्रक्रिया के थियो त? त्यति बेला स्थायी जेल थिएन, धेरै राज्यहरूसँग स्थायी सेना पनि थिएन। पृथ्वीनारायण शाहसँग त स्थायी सेना थिएन, परेपछि बोलाउने हो,’ आहुति मुसुमुसु हाँस्दै सोफामा अलिकति अगाडि सरे।
‘तीन हजार वर्षअगाडि त झन् स्थायी सेना राख्नु निकै गाह्रो कुरा थियो। खास खास लडाइँमा सबैलाई बोलाएर, प्रशिक्षण गराएर लडाउने भन्ने हुन्थ्यो। त्यस्तो अवस्थामा विद्रोहीहरूलाई सजाय कसरी दिने त? अपराध चाहिँ राज्यविरूद्ध विद्रोह गरेको छ तर सजाय कसरी दिने? स्थायी जेल नभएकाले वर्षौंसम्म जेल हाल्न सकिने अवस्था भएन। त्यो जमानामा सबभन्दा कडा दण्डसजाय भनेको दुईवटा थियो– कि त उसलाई मृत्युदण्ड दिने कि देश निकाला गर्ने।’
‘अब यहाँ के पर्यो भने, एकाध व्यक्तिलाई भए पो मृत्युदण्ड दिने, ठूलो जनसंख्यालाई कसरी मृत्युदण्ड दिने? फेरि त्यो जनसंख्या यस्तो थियो जसले समाजको मुख्य चालक शक्ति भएर उत्पादन गर्दै आएको थियो। राज्यको दैनिक व्यवहार नै चलाइरहेको थियो। गीत गाउने काम पनि उसैले गरेको थियो, संगीतको काम पनि उसैले गरेको थियो, कृषिमा सबभन्दा बढी काम उसैले गरेको थियो। अहिले पनि हेर्नुस् न, तराईको त्यो मुसहर जाति जो सबभन्दा उत्पीडित छ तर प्रत्येक हिन्दु उच्च जातिको मान्छेले उसलाई आफ्नो गाउँ छाडेर नजाऊ भन्छ। ऊ समाजको निम्ति नभई हुँदैन। आफू बस्ती सर्दाखेरि उसलाई पनि सँगै लिएर जाने भयो, किनभने सबभन्दा बढी काम त उसैले गर्छ। त्यस्तो जनसंख्यालाई मृत्युदण्ड कसरी दिन सकिन्छ, होइन?’
‘अब देश निकाला गरूँ भने पनि त्यही समस्या आउने भयो। उनीहरूलाई देश निकाला गरेपछि उनीहरूले गर्दै आएको काम कसलाई लगाउनू? त्यो काम कसले गर्नू? आफैं गर्ने कुरा आएन। आफ्नै वर्गको अरू कसैलाई लगाउने कुरा आएन। भनेपछि के सजायँ दिने त? जरिवाना तोक्ने त? जरिवाना तोक्न सकिन्थ्यो होला, तर ती शूद्रहरू जोसँग सम्पत्ति राख्ने अधिकार नै थिएन, उनीहरूले जरिवाना कसरी तिरून्? के तिरून्? हेर्नुस् है कस्तो अवस्था छ? अपराध छ राज्य विद्रोहको तर उसलाई ठूलो सजाय दिन मिल्दैन।’
‘यी सबै अवस्थामा त्यति बेलाका सजाय प्रक्रियाहरू हेर्दा के देखिन्छ भने, सार्वजनिक जीवनबाट बहिष्कार गर्ने सजाय त्यति बेलाको निम्ति सबभन्दा ठूलो थियो। अरूले खाएको पानी खान नपाउने। अरूले खाएको खानेकुरा खान नदिने। अरू बसेको ठाउँमा बस्न नदिने। अरूले गरेको खेतीपाती गर्न नदिने। अरूले लगाएको लाउन नदिने। उनीहरूको बसोबास पनि गाउँ वा सहरबाट पुछारको बिब्ल्याटो ठाउँमा वा अप्ठ्यारो ठाउँमा राख्ने। डाँडामा राज्य छ भने उब्जनी नहुने गाह्रो ठाउँमा उनीहरूलाई बस्न दिने। यस्ता तमाम बन्देज वा बहिष्करणहरू सजाय प्रक्रियाका रूपमा लागू गरिए। यस्तो बहिष्करणको प्रक्रियाले स्वाभाविक रूपमा पछि छुवाछुतको रूप लियो। मैले खाएको ठाउँमा तैंले खान पाउँदैनस् भन्नेबित्तिकै त्यो छुवाछुत भइहाल्यो। म बसेको ठाउँमा तँ जान पाउँदैनस् भन्नेबित्तिकै त्यो छुवाछुत भइहाल्यो। यस प्रकार सजाय पाएका राज्यका विद्रोही र तिनको खलक जो वैश्य र शूद्र वर्णका मान्छेहरूले बनेका थिए, तिनलाई ‘पञ्चम वर्ण’ भन्न थालियो। कहीँ कहीँ ‘महाशूद्र’ पनि भनिएको छ। यो पञ्चम वर्ण नै आजको जात व्यवस्थाको सबभन्दा पिँधको वर्ग हो जसमा जातीय विभेद भयो, छुवाछुत भयो र अहिले उनीहरू संघर्षका रूपमा आफूलाई ‘दलित’ भन्छन्।’
‘यसरी राज्यको दमनद्वारा एक प्रकारको थिति बनिसकेपछि त झन् राज्यलाई यति मजा भयो, उनीहरूले सुविधा पनि केही नखोज्ने भए र कठोर श्रम पनि चुपचाप गरेको गर्यै भए। र, शूद्रसँग पनि उनीहरूको फाटो भयो। शूद्र त समाजबाट बहिष्कृत भएन तर यो पञ्चम वर्ण शूद्रहरूबाट पनि बहिष्कृत भयो। शूद्रको विशाल संख्याबाट पनि उनीहरू कटौती भए। समय क्रममा राज्यको ऋण तिर्न नसक्ने वा राज्यसँग विद्रोह गर्ने अन्यलाई पनि त्यो समूहमा थप्दै लगियो। यसले पञ्चम वर्णले ठूलो आकार लिँदै गयो र यो हिन्दु समाजभित्रको २० प्रतिशत संख्या बन्न पुग्यो।’
‘यहाँ म अलिकति प्रस्ट हुन चाहेँ, जसलाई हामी अहिले दलित वा समाजको पिँधमा परेको वर्ग भन्छौं, जसलाई छुवाछुत गरिन्छ, ती सबै शूद्र वर्गका होइनन्?’ मैले सोधेँ।
म यता प्रश्न सोधिरहँदा आहुतिले पानी पिउन गिलास समाते। गिलास खाली थियो।
उनले क्यामरा पछाडि रहेका सहकर्मी रविनलाई पानी थपिदिन आँखाले इसारा गरे। हामीले कुराकानीको बीचमा चाहिएला भनेर एक जग पानी नजिकै राखेका थियौं। रविनले त्यो जग उनको अगाडि लगेर राखिदिए।
आहुतिले आफैं गिलास भरे र एक घुट्की पानी पिएर मुख भिजाइसकेपछि जवाफ सुरू गरे, ‘अहिले पनि पिछडिएको समाज भनेर थुप्रै मान्छे शूद्र छँदै छन्। हिन्दु समाजमा ब्राह्मण, क्षत्री, गिरी, पुरी, सन्न्यासी बाहेकका र दलितबाहेकका अरू को हुन् त? तीमध्ये अधिकांश शूद्र समूहकै हुन्। ती सबैलाई छुवाछुत त गरिँदैन। शूद्रबाट जसले विद्रोह गरे, तिनीहरूलाई दमन गर्ने क्रममा जन्माइएको सबभन्दा पिँधको वर्गलाई मात्र छुवाछुत गरिन्छ जसलाई शास्त्रले ‘पञ्चम वर्ण’ भन्छ। यो हो छुवाछुत निर्माणको कथा।’
आहुतिले यी सबै कथाको सार खिच्दै अन्तिममा एक वाक्य थपे, ‘सारांशमा भन्दा यो शास्त्रमा लेख्दिएर, धर्मको कुरा गरेर मात्र बनेको संरचना होइन। यो त उत्पीडक र उत्पीडितबीचको भीषण वर्ग संघर्षले निर्माण गरेको संरचना हो। त्यो संघर्षमा हारेका विद्रोहीहरूलाई त्यसो गर्न बाध्य पारिएको हो।’
त्यसपछि मैले पनि उनको भनाइको सार दोहोर्याउँदै भनेँ, ‘त्यसो भए हामीले जसरी जातीय व्यवस्था र छुवाछुतलाई हजारौं वर्षदेखिको संस्कार हो, हाम्रो धर्म हो भनेर भन्छौं, त्यो होइन रहेछ। मानव सभ्यताले पछि निर्माण गरेको संरचना रहेछ, होइन?’
‘अब यो कुरा यस्तो हुन्छ– मैले अघि विवाह प्रणालीको बारेमा भनेँ। विवाह प्रणाली महिलाहरूमाथिको चरम उत्पीडन र बलात्कारबाट सुरू भएको थियो तर हाम्रो पितृसत्तात्मक समाजले त्यसलाई भव्य रूपमा दर्शाउन थाल्यो, त्यसलाई ‘ग्लोरिफाई’ गर्न थाल्यो, त्यसलाई गौरवान्वित बनाउन थाल्यो। यो सम्बन्ध भनेको पहिले अर्कै जुनीमा बनेको हो भन्यो, तिम्रो भाग्यको खेल हो भन्यो। एक दिन भन्यो, दुई दिन भन्यो, आमाले भन्यो, बाबाले भन्यो, हजुरबुबाले भन्यो, छिमेकीले भन्यो, त्यति बेलाका विद्वानहरूले भने, सबैले भनेपछि मान्छेले यसलाई त्यही रूपमा स्वीकार गरे। पुरूषहरूले सातवटी बिहे गरे पनि महिलाहरूले त्यसलाई स्वीकार गर्ने भए। उनी भित्रभित्रै रूने त भइन् तर पुरूषहरूले ममाथि अन्याय गर्यो भन्ने उनलाई लाग्ने भएन। सयौं, हजारौं वर्षदेखि थोपरिएको सोचको प्रभाव त यस्तो हुन्छ नि?’ आहुतिले आफ्नो कुरा थप प्रस्ट पारे।
यहाँनिर मैले उनको सिलसिला भंग गरेँ र आफूलाई लागेको एउटा जिज्ञासा राखेँ, ‘अघि तपाईंले भन्नुभएको थियो नि, आर्यहरूले कसरी सिन्धुघाटी सभ्यताका आस्ट्रिक वा द्रविडहरूलाई दास बनाए वा आफू–आफू लडाइँ गरेर जितेका आर्यले हारेका आर्यलाई दास बनाए भनेर, त्यसरी दास बनाइएकाहरू पनि कालान्तरमा तल्लो वर्गमा पर्न गए त? उनीहरूमाथि पनि छुवाछुत भयो त? के भयो होला त्यसमा?’
जवाफमा आहुतिले भने, ‘दक्षिण एसियाको दास व्यवस्था अन्य समाजमा जस्तो व्यापक स्तरमा छैन। जसरी चीनमा दासहरू थिए, युनानमा दासहरू थिए, रोममा दासहरू थिए, रूसमा दासहरू थिए, त्यहाँ लाखौंको संख्यामा दासहरूको फौज नै हुन्थ्यो। दक्षिण एसियामा भने त्यस प्रकारको दास समाज देखिँदैन। यहाँ दासहरू थिए तर ती असाध्यै थोरै संख्यामा थिए। त्यस्तो किन भयो त? किनभने, दासहरूले गर्ने सम्पूर्ण काम हाम्रो दक्षिण एसियामा शूद्रहरूले गर्थे, अछुतहरूले गर्थे। दास भनेको चाहिँ किन्न–बेच्न पाइने, शूद्र वा अछुतहरूलाई त किन्न–बेच्न पनि नपर्ने।’
‘तर किन्न–बेच्न नपाए पनि उसले पुर्खौं पुर्खादेखि त्यही काम गरिरहने भयो जुन दासहरूले गर्नुपर्थ्यो,’ मैले आफ्नो बुझाइ आहुतिसमक्ष राखेँ।
आहुतिले टाउको हल्लाउँदै त्यसलाई स्वीकार गरे र अगाडि भने, ‘पश्चिम नेपालको पहाडतिर जानुभयो भने त्यहाँ मोही किसान भन्ने भेट्न गाह्रो हुन्छ। किनकि त्यहाँ जग्गा जोतिदिने हलिया प्रथा छुट्टै हुन्छ। हलिया प्रथालाई मोही भनिँदैन। जमिन उसले जोतिदिन्छ तर उसलाई मोहियानी हक दिनुपर्दैन। यहाँ जसरी हलिया प्रथा भएपछि मोहीहरू नचाहिने भयो, त्यसरी नै शूद्रहरू भएपछि अरू ठाउँमा जस्तो लाखौंको संख्यामा दासहरू नचाहिने भयो। दासहरू त भए तर उनीहरूको संख्या कम रह्यो। यसलाई बुझ्न अर्को उदाहरण पनि छ। दक्षिण एसियाको दास व्यवस्था कसरी अन्त्य भयो त? कुनै कथा छ त? छैन। दास मुक्तिको त्यत्रो ठूलो लडाइँको कथा छ त? छैन। नेपालमा चन्द्रशमशेरको पालामा आउँदा केही सय संख्याका दास मुक्त गरिए। यसबाट पनि दास थोरै संख्यामा थिए भन्ने देखिन्छ।’
‘उसो भए यहाँ जो दास बनाइए, ती पनि कालान्तरमा शूद्र समाजमै विलय भए र उनीहरूकै जस्तो पुर्खौं पुर्खा एउटै खालको श्रम गर्न थाले भन्न सकिन्छ?’ मैले आफ्नो जिज्ञासा राखेँ।
आहुतिले फेरि गिलास उठाए र एक घुट्की पानी मुखमा हाले, ‘हो उनीहरू पनि शूद्रमै मिसिए र उनीहरूले एउटै वर्गका रूपमा काम गर्न थाले।’
मैले फेरि अर्को जिज्ञासा राखेँ, ‘अब मलाई एउटा कुरा सोध्न मन लाग्यो, यो जात व्यवस्था र वर्ण व्यवस्था भनेको उही हो उसो भए?’
‘म अहिले त्यसमा आउँछु,’ आहुतिलाई मेरो प्रश्नले आफ्नो वर्णनको सिलसिला भंग भएजस्तो लागेछ क्यारे, उनले पुरानै सिलसिला कायम राख्दै भने, ‘त्यो चार वर्ण व्यवस्था छुवाछुतसहित पञ्चम वर्णसम्म आयो। अब यो वर्ण व्यवस्था जात व्यवस्थामा कसरी विकसित भयो त? सबभन्दा पहिला यो वर्ण भनेको के हो भन्ने कुरा गरौं। एकथरी मान्छेले वर्ण भनेको रङ हो भनेर पनि भनेका छन्। हो, वर्ण भनेको रङ पनि हो तर चार वर्ण भनेको चार रङका मान्छे भनेको हो त? के दक्षिण एसियामा चार रङका मान्छे थिए त? वर्ण भनेको के हो त? यो भनेको निश्चित श्रम समूह नै भनेको हो। जसरी वर्णमाला भन्छन् नि। वर्णमाला भनेको के रङहरूको माला भनेको हो त? होइन। अक्षरहरूको माला भनेको हो। त्यसैले वर्णलाई समूहका अर्थमा प्रयोग गरिएको छ।’
‘अब एकछिन सोच्नुस्, चार वर्ण मात्र सुरूमा किन बन्यो? किनकि त्यति बेलाको समाजको सिंगो काम त्यति चार वर्णको मात्र थियो। जति जति जनसंख्या बढ्दै गयो, श्रम क्षेत्र पनि बढ्न थाल्यो। अब श्रम क्षेत्र बढ्न थालिसकेपछि त्यो नयाँ विकसित श्रम क्षेत्रमा को जाने त? त्यसको जिम्मा कसले लिने त? ब्राह्मण र क्षत्रीले त्यो नयाँ कामको जिम्मा लिएनन्। ऊ पहिलेदेखि सबभन्दा सानदार काम ओगटेर बसिरहेको छ, ऊ किन नयाँ कामको जिम्मा लिन जान्छ? उसले जिम्मा लिएको काममा त नयाँ क्षेत्र विकसित पनि भएको छैन। पूजापाठ गर्ने भनेको त्यही हो, ज्ञान आर्जन गर्ने भनेको त्यही हो, राजकाज चलाउने भनेको त्यही हो, कर उठाउने भनेको त्यही हो, सेना सञ्चालन गर्ने भनेको पनि त्यही हो। जबकि श्रम क्षेत्र त दिनप्रतिदिन नयाँ नयाँ विकसित भइरहेकै छ। भनेपछि यी नयाँ नयाँ श्रम क्षेत्र जुन आए, त्यसलाई वैश्य र शूद्र र पञ्चम वर्णकै मानिसले जिम्मा लिनुपर्ने भयो।’
‘आज हिन्दुस्तान र नेपाललाई हेर्ने हो भने ब्राह्मण र क्षत्रीभित्र जातहरू छैनन्। अलि अलि फरक समूह होलान्, ती पनि समय क्रममा बनेका हुन् तर फरक फरक जात छैनन्। ब्राह्मणभित्र फरक फरक जात हुन्छ त? हुँदैन। क्षत्रीभित्र फरक फरक जात हुन्छ त? हुँदैन। जात कहाँ हुन्छ? वैश्य र शुद्रमा हुन्छ। वैश्यहरूमा सयौं सयौं जात छन्। शूद्रहरूमा सयौं सयौं जात छन्। पञ्चम वर्ण वा अछुत बनाइएकाहरूमा पनि सयौं सयौं जात छन्। यस्तो किन भयो त भन्दा, नयाँ नयाँ आएका श्रम क्षेत्रहरू जम्मै यी वैश्य, शूद्र र पञ्चम वर्णका मानिसहरूले नै लिनुपर्ने भयो। हिजो चार किसिमको मात्र काम थियो, अब त हजारौं काम भयो। ती हजारौं कामको जिम्मा लिन हजारौं श्रम क्षेत्र छुट्टियो। त्यो कहाँबाट छुट्टियो त? वैश्य, शूद्र र अछुतहरूबाट नै छुट्टियो। त्यही भएर उनीहरूभित्र सयौं सयौं जातहरू भए। भनेपछि चार वर्ण व्यवस्थाबाट विकसित भएर अहिले हामी हजारौं जात वा वर्ण व्यवस्थामा आइपुगेका छौं।’
‘नयाँ नयाँ श्रम क्षेत्र जुन विकास हुँदै गयो, त्यसमा पनि छुवाछुत सर्दै गयो, होइन त?’ मैले भनेँ।
‘पक्कै हो। पञ्चम वर्ण वा अछुतहरूबाटै विस्तार हुँदै ज–जसले नयाँ नयाँ श्रम क्षेत्रको जिम्मा लिँदै गए, छुवाछुत पनि उनीहरूसँगै फैलिँदै गयो। कुनै कुनै समूह सय वर्ष, दुई सय वर्ष छुवाछुतमा रहेको र फेरि मुक्त भएको इतिहास पनि छ। जस्तो– तराईका साह तेलीहरूमा इतिहासको कुनै कालखण्डमा छुवाछुत थियो। व्यापार गर्दै जाँदा उनीहरूमाथि हुने छुवाछुत हट्यो। नेवारभित्र मानन्धरमा त्यस्तै छुवाछुत थियो भनिन्छ जुन राणाकालमा हट्यो। यसरी विभिन्न समूह छुवाछुतबाट हटेका पनि छन् तर मूलभूत रूपमा त्यो चल्दै आयो।’
‘अब कहिलेदेखि यो छुवाछुतरूपी भेदभाव सुरू भयो त भन्ने प्रश्न आउँछ। यसको ठ्याक्कै लिखितम त केही पनि छैन। दुई हजार वर्षदेखि बाइस सय वर्षको बीचमा मनुस्मृति लेखिएको मानिन्छ। मनुस्मृतिमा महिला र अछुतहरूको निम्ति कठोर रीतिरिवाज र कठोर कानुनहरू उल्लेख गरिएका छन्। यसले त्यो बेलासम्म छुवाछुत धेरै नै व्यापक रूपले लागू भइसकेको थियो भन्ने बुझिन्छ। हाम्रो सन्दर्भमा हेर्ने हो भने गौतम बुद्ध कालसम्ममा छुवाछुत कठोर भइसकेको देखिन्छ।’
मैले उनलाई यहाँ बीचैमा रोकेँ, ‘भनेपछि यसको टाइमलाइन विभाजन गर्ने हो भने ३५ सय वर्षअगाडि वर्ण व्यवस्था सुरू भयो, त्यो वर्ण व्यवस्था कालान्तरमा जातीय व्यवस्थामा गयो र त्यो करिब २२ सय, २५ सय वर्षअगाडि छुवाछुतमा गयो?’
उनले फेरि एक घुट्की पानी पिए र मेरो कुरा काट्दै भनेँ, ‘होइन होइन, २२ सय, २५ सय होइन। २६ सय वर्ष अगाडि भनेको त गौतम बुद्ध काल नै भइगयो नि। गौतम बुद्ध कालकै साहित्यमा कसरी चाण्डाल युवतीको हातबाट पानी खाएबापत् गौतम बुद्धको ठूलो आलोचना भयो भनेर भनिएको छ। चाण्डाल युवती त अछुत जातिको हो। यसको मतलब २६ सय वर्ष वा त्योभन्दा अगाडि नै छुवाछुतको यो प्रथा अहिलेको नेपाल वरपर आइसकेको थियो भन्ने देखिन्छ। गौतम बुद्धको त्यो घटना कपिलवस्तुमा भयो कि अलिकति पारि भयो भन्ने अर्कै कुरा हो। उनको यात्रा भनेको त कपिलवस्तुदेखि काशीसम्म हो। त्यहाँभन्दा अन्त त उनी गएका होइनन्। त्यसैले जे भयो त्यो कपिलवस्तुदेखि काशीकै बीचमा भयो। त्यसैले अहिलेको नेपाल जहाँ छ, त्यहाँ र त्यस नजिकको क्षेत्रमा २६ सय वर्षअगाडि नै छुवाछुत आइसकेको थियो भन्ने प्रस्टै देखिन्छ। भनेपछि ३५ सय वर्षअगाडि वर्ण व्यवस्था सुरू भएर त्यसको पाँच–छ सय वर्षमै अझै कठोर रूप लिएर छुवाछुत सुरू भइसकेको रहेछ भन्न सकिन्छ।’
यहाँसम्म आइपुग्दा आहुतिसँग ‘अनरेकर्ड’ कुराकानी सुरू भएको ठ्याक्कै ३९ मिनेट ४३ सेकेन्ड भएछ। यति बेलासम्म हामीले जात र जातिबीचको फरक, दक्षिण एसियामा आर्यहरूको प्रवेश, वर्ण व्यवस्था र जातीय व्यवस्थाको सुरूआत र त्यसले कसरी छुवाछुतको कठोर रूप लियो भन्नेबारे चर्चा गर्यौं। करिब पाँच हजार वर्षभन्दा लामो यो यात्रा तपाईंलाई कस्तो लाग्दैछ?
अहिलेसम्मको कुराकानीबाट तपाईंहरू बोर त हुनुभएको छैन नि! हाम्रो कुराकानी त अझै लामो छ है।
यहाँबाट अब हामी नेपालमा जातीय व्यवस्था र छुवाछुतको चलन कुन–कुन समयकालमा प्रवेश गर्यो भन्नेबारे चर्चा गर्छौं। मैले आहुतिलाई यही प्रश्न सोधेर कुराकानीको प्रसंग मोडेँ।
नयाँ प्रसंग सुरू गर्नुअघि आहुतिले एकचोटि आफ्नो मोबाइल हेरे। एक घुट्की पानी पिए। पाइन्टको देब्रे गोजीबाट हातेरूमाल झिकेर मुख पुछे र रूमाल पट्याएर फेरि गोजीमा हाले।
‘यसमा कुरा यस्तो छ, नेपालको इतिहास लेख्ने क्रममा राजा जयस्थिति मल्लले सुरू गरे भनियो, त्योभन्दा बढ्ता कुरा कसैले गरेन। त्यो राजा जयस्थिति मल्लले सुरू गरेको जात व्यवस्था अहिले कहाँ छ भन्ने पनि कसैलाई थाहा छैन। त्यो फैलियो कि खुम्चियो भन्ने पनि कसैले लेख्नेवाला छैन। यो त खासमा सबैले बेवास्ता गरेको वा लुकाएको विषय न हो। नत्र नजानेको विषय त होइन नि! सबैको घरमा छ, अनि नजान्ने कुरा त हुँदैनथ्यो नि!’
यसो भन्दा आहुति मुसुमुसु हाँस्दै थिए र सँगसँगै भन्दै थिए, ‘अहिलेसम्म प्राप्त तथ्यका आधारमा तीनवटा दिशाबाट तीनवटा समयमा आजको नेपालमा यो जात व्यवस्थाले प्रवेश गरेको देखिन्छ। पहिलो, बाग्मती उपत्यका ...’
उनले यति भन्दाभन्दै मैले जान्ने भएर ‘यो काठमाडौं उपत्यका’ भनेर भनेँ।
उनले मेरो कुरा काटे, ‘यो बाग्मती उपत्यका नै हो। उपत्यका भनेको नदी सभ्यतासँग जोडिन्छ। काठमाडौं उपत्यका त धेरै पछि भन्न थालिएको हो।’
यति भनेपछि उनले आफ्नो व्याख्या फेरि सुरू गरे, ‘यो बाग्मती उपत्यकामा दुई हजार वर्षअगाडि त किराँतहरू नै थिए। किराँतहरूसँग जात व्यवस्था थिएन। उनीहरू त मुन्धुम परम्पराका मानिस हुन्। ईश्वी सम्बत् १७१ देखि २०० को बीचमा वैशालीबाट लिच्छविहरू आए। उनीहरू जात व्यवस्थाबाट प्रशिक्षित थिए। त्यही जात व्यवस्था उनीहरूले यहाँ लिएर आए। उनीहरूको प्रवेशपछि किराँतहरू कोही भाग्न बाध्य भए, कोही मारिए। यहाँको कृषि र खेतीपातीसँग जोडिएका जो किराँतहरू थिए, उनीहरू त भाग्ने कुरा भएन। किनभने, संसारमा कहीँ पनि भागदौड मच्चिँदा, प्राकृतिक प्रकोपको अवस्थामा बाहेक राजनीतिक दमनमा जमिनसँग जोडिएको वर्ग भाग्दैन। किनकि, त्यो जमिनको उत्पादन नयाँ शासकलाई पनि चाहिन्छ। जमिनसँग जोडिएको मान्छे अन्त जान पनि अप्ठ्यारो मान्छ। अन्त जमिन पाइन्छ कि पाइँदैन भन्ने निश्चित हुँदैन।’
‘त्यसैले त जमिनसँग मान्छेको नाभी जोडिएको हुन्छ भनिन्छ नि,’ मैले भनेँ।
आहुतिले मेरो कुरा सुने कि सुनेनन् थाहा छैन, उनले पूर्ववत् आफ्नो निरन्तरता जारी राखे, ‘त्यसैले यहाँका किराँतीहरू लखेटिए भन्दा पनि यहाँका किराँती शासक वा शासकसँग निकट रहेका किराँतीहरू लखेटिए। यहाँको मुख्य समुदाय त यहीँ नै बस्यो। यहाँको त्यही कृषिमा आश्रित किराँत समुदाय नै विकसित भएर ज्यापू भएको हो भनेर भनिन्छ। यो छुट्टै अध्ययनको विषय हो। तिनै लिच्छविहरूले आफू वैशालीबाटै प्रशिक्षित भएर आएकाले यहाँ सुरूमै १८ जातको व्यवस्था गरे। ईश्वी सम्बत ६०० सम्म आइपुग्दा त यहाँ छुवाछुत पनि कठोर भइसकेको थियो भन्ने इतिहासकारहरूले लेखेकै छन्।’
‘बाग्मती उपत्यकाको यो श्रम विभाजन पनि कालान्तरमा बढ्दै गयो। लिच्छविहरूको पालामा १८ वटा श्रम क्षेत्र विभाजन गरे पुग्थ्यो। बिस्तारै जनसंख्या बढ्दै गएपछि कामहरू पनि बढ्दै गयो। त्यही भएर मल्लकालसम्म आइपुग्दा १८ श्रम क्षेत्रले पुगेन। जयस्थिति मल्लले दक्षिण भारतदेखि ब्राह्मणहरू बोलाएर ६४ जात बनाए। यसको मतलब मल्लकालसम्म आउँदा यहाँ ६४ वटा श्रम क्षेत्र अनिवार्य भइसकेको रहेछ। उनले जात व्यवस्था पनि बनाए र त्यसको व्यवस्थापन निम्ति विधान पनि ल्याए। यसलाई जयस्थिति मल्लको समाज सुधार भन्ने नाम दिइयो। आजको मितिमा त्यो जात व्यवस्था कहाँ रह्यो त? यो मुख्यतः बाग्मती उपत्यकामा रह्यो। बाग्मती उपत्यकाको मूलबासी, जो यो दुई हजार वर्षमा नेवार भन्ने जाति वा सभ्यताका रूपमा विकसित भए, उनीहरूमा जयस्थिति मल्लले निर्माण गरेको जात व्यवस्था कायम रह्यो। एउटा टाइमलाइन यो भयो।’
उनको वर्णनअनुसार बाग्मती उपत्यकामा जातीय व्यवस्था प्रवेशको इतिहास करिब दुई हजार वर्ष पुरानो देखिन्छ जब लिच्छविहरूले किराँतलाई हराएर शासन सम्हाले। त्योभन्दा अगाडि यहाँ जात व्यवस्थाको संकेत पाइँदैन। आहुतिका अनुसार, किराँतहरूका पालामा यहाँ समतामूलक समाज थियो।
यो भयो नेपालमा जातीय व्यवस्था प्रवेशको एउटा खण्ड। आहुतिले त्यसपछि आफ्नो बसाइ अलिकति बदले र अर्को खण्डको वर्णन सुरू गरे।
‘अब हामी अर्को नेपाली समाजको कुरा गरौं, त्यो हो मधेस। त्यहाँ कहिले आइपुग्यो त? त्यहाँको जात व्यवस्था बाग्मती उपत्यकासँग मिल्दैन। छुवाछुत गर्ने, तल पार्ने, दमन गर्ने जस्ता जातका आधारभूत विशेषता त मिल्छन् तर नामहरू मिल्दैनन्। सैद्धान्तिक र व्यवहारिक विभाजन मिल्छ तर नाम र कतिपय अवस्थामा व्यवहार पनि मिल्दैनन्। त्यो मधेस क्षेत्रमा कहिले आइपुग्यो त?’
‘यसको ठ्याक्कै मिति हामी भन्न सक्दैनौं। गौतम बुद्धको पालासम्म आइसकेको थियो भनेर हामी भन्न सक्छौं तर ठ्याक्कै कहिले आएर कहिलेसम्म व्यवस्थित गरियो भन्न सक्दैनौं। हामीले के बुझ्नुपर्छ भने, आजको भारतीय भूमिबाट त्यति बेला चारैतिर मानिसहरू फैलिए। त्यही फैलिने क्रममा उपयुक्त जीवन निर्वाहको निम्ति जमिन खोज्दै उत्तरतिर बढ्ने क्रममा आजको नेपालको तराई भूभागसम्म आइपुगे। उनीहरू जात व्यवस्थाबाट प्रशिक्षित नै थिए। त्यो कति सालको कुरा हो भनेर भन्नलाई २६ सय वर्ष त ठ्याक्कै देखिइहालियो, त्योभन्दा अगाडि कहिले हो त भन्नेबारे थप अध्ययन हुनुपर्छ।’
‘यसरी तत्कालीन भारतीय भूमिबाट जनसंख्यासँगै सर्दै सर्दै आएको र कसैले मधेसमै आएर बनाएको नहुनाले भारतीय समाजमा भएको जात व्यवस्था हाम्रो मधेस क्षेत्रसँग ठ्याक्कै मिल्छ। उता पनि पासवान हुन्छ, यता पनि पासवान हुन्छ। उता पनि राजपूत हुन्छ, यता पनि राजपूत हुन्छ। उता पनि कायस्थ हुन्छ, यता पनि कायस्थ हुन्छ। उता पनि चमार हुन्छ, यता पनि चमार हुन्छ। एउटै वंश विभिन्न ठाउँमा सर्दै गएकाले मिल्दोजुल्दो छ।’
मधेसको यो जातीय व्यवस्था हामीले चर्चा गरिरहेको ‘नेपाल टाइमलाइन’ को दोस्रो खण्ड हो।
तेस्रो खण्डमा पर्छ, भेरी नदीपारि कर्णाली र डोटीको खस सभ्यतामा जातीय व्यवस्थाको सुरूआत कसरी भयो?
आहुतिले आफ्नो ओठका दुवै कुना दुई औंलाले चलाउँदै भने, ‘त्यो क्षेत्रमा पाँचौं शताब्दीसम्म खस सभ्यता विकसित भइसकेको थियो। यहाँ सुरू हुन्छ अहिलेको नेपालको भूखण्डको तेस्रो जात व्यवस्था।’
‘टाइमलाइनअनुसार जातीय व्यवस्था सुरूआतको सबभन्दा नयाँ खण्ड भयो यो?’ मैले सोधेँ।
‘हो यो सबभन्दा नयाँ हो,’ उनले भने, ‘त्यहाँ खसहरूको राज्य थियो। उनीहरूको छुट्टै सभ्यता थियो। खसहरू भनेका मस्टोपूजक हुन् जो वैदिक परम्परामा थिएनन्। खसहरू भनेका आर्य नश्लकै हुन् तर उनीहरू युरोपबाट उत्तरतिरको यात्रा सुरू गर्दै, ककेसस उपत्यकामा केही हजार वर्ष बिताउँदै, त्यहाँबाट नेपाल हुँदै गंगा मैदानसम्म फैलिएका समूह हुन्। गौतम बुद्ध कालमा सोह्र जनपदमध्ये दुइटा जनपद खसहरूको थियो भनेर भनिन्छ। एउटा, कोशल जनपद र अर्को काशी भन्ने जनपद। यी खस जातिका नामहरू हुन्। यी अहिले गोत्रका रूपमा रहेका छन्। त्यहाँ कुनै जातपात भन्ने थिएन। उनीहरू धामी परम्परा मान्थे। आफ्नो कुलदेउता पूजा गर्थे। मद्यपान गर्थे।’
‘भन्नुको मतलब अघि हामीले किराँतहरूको जुन खालको समतामूलक समाज भन्यौं, खसहरूमा पनि करिब करिब त्यस्तै खालको समाज थियो? र, छैठौं शताब्दीसम्म पनि उनीहरू त्यही रूपमा थिए?’ मैले प्रस्ट हुन चाहेँ।
‘छैठौं मात्र होइन, अलि पछिसम्मै थिए,’ आहुतिले भने, ‘तर यहाँ अर्को एउटा घटनाक्रम देखिन्छ। भारतमा हिन्दू राज्यहरूमाथि दसौं शताब्दीदेखि चौधौं शताब्दीको आसपाससम्म इरानी शासकहरूद्वारा लगातार आक्रमण भए। दिल्ली सहर नै धेरैचोटि आक्रमण भएर धेरैचोटि ध्वस्त पारियो भनेर अहिले पनि लाल किल्लामा बेलुका बेलुका नाटक देखाइन्छ।’
‘यसरी इरानी शासकको आक्रमणबाट जो हारे वा जो आतंकित भए वा जो आक्रमण हुन्छ भनेर नयाँ बस्तीमा भाग्नेबारे सोचे, ती हिन्दू शासकहरू, ती पुरेतहरू जसले जात व्यवस्था कठोर रूपमा लागू गरिसकेका थिए, उनीहरूको संगत पश्चिम नेपालका मानिसहरू र त्यहाँका राजारजौटाहरूसँग स्वाभाविक रूपमा हुने भयो। किनभने, उनीहरूबीच पहिलेदेखि नै विभिन्न गतिविधि आदानप्रदान भइरहन्थ्यो। त्यस क्रममा त्यहाँका शासकहरू पहाडतिर सर्न थाले। दसौंदेखि चौधौं शताब्दीसम्म यो प्रक्रिया लगातार देखिन्छ। सतलज र महाकाली नदी तरेर, कुमाउ–गढवाल हुँदै वैदिक आर्यहरू अहिलेको नेपाली भूमिमा प्रवेश गरे र यहाँका खस राज्यसँग मिलेर नयाँ जात व्यवस्था लागू गरे। खस राज्यले नमानेको भए त त्यो सम्भव हुँदैन थियो। उनीहरूले भारतबाट आफ्नो साथमा कति अछुतहरू लिएर आएका थिए र यहाँ भएका कतिलाई अछुत बनाए, यसबारे अझै अध्ययन हुन बाँकी छ। अहिलेसम्म हामीलाई थाहा भएको के भने, दसौंदेखि चौधौं शताब्दीको बीचमा भेरी नदीपारिको सभ्यतामा जात व्यवस्था निर्माण भयो।’
‘त्यो बेलासम्म त्यहाँ श्रम विभाजन त थियो होला तर त्यो श्रम विभाजनले जातीय व्यवस्थाको रूप लिएको थिएन, होइन त?’ मैले सोधेँ।
‘श्रम विभाजन त स्वाभाविक प्रक्रिया नै भयो। त्यो त जुनसुकै सभ्यतामा हुने नै भयो,’ आहुतिले फेरि एक घुट्की पानी पिएर ओठमुख भिजाए, ‘तर उनीहरूलाई जातीय व्यवस्थाबारे केही थाहै थिएन। मद्यपान गर्न हुँदैन भन्ने पनि थाहा थिएन। मद्यपान भएन भने बरू पूजा नै हुँदैनथ्यो। कयौं मस्टोपूजकहरूको त सुंगुर काट्नैपर्ने हुन्थ्यो। मैले खससँग सम्बन्धित त्यस्ता कयौं जैसी ब्राह्मणहरूको समूह देखेको छु जसका बारेमा अहिले यहाँ भन्दा मिठो नसुनिएला तर उनीहरू अहिले पनि आफ्नो कुलपूजामा पात वा कुनै चिजमा सुंगुर लेखेर काट्छन्। त्यो उनीहरूले आफ्नो स्मृतिमा लिएर आएको संस्कार हो। कुलपूजा त बदर हुँदैन, त्यसलाई त पहिले जसरी गरिन्थ्यो, त्यसरी नै गर्नुपर्यो। यसरी नेपालको सुदूर पश्चिम वा कर्णाली भेगमा वैदिक आर्यहरूले खससँग मिलेर जात व्यवस्था निर्माण गरे।’
आहुतिले लामो सास ताने। जवाफ जारी थियो।
‘त्यसैले त्यहाँ कसै–कसैलाई सिधै झर्रो क्षत्री बनाइयो। झर्रो क्षत्री भनेको हिन्दुस्तानमा हुँदैन। झर्रो क्षत्री भनेका त्यति बेलाका जो खस शासकहरू थिए, तिनलाई सिधै आजबाट तिमी क्षत्री भयौ भनेर बनाइएको हो। यो जात व्यवस्थाको संरचनाकै उपज हो। पछि त्यही झर्रो क्षत्रीबाट घटुवा भएका वा अन्य कारणले तल परेकाहरू क्षत्री मात्र भए। ती क्षत्रीबाट पनि घटुवा भएकाहरू घर्ती क्षत्री भए। यो अर्को विषय हो।’
‘खस आर्यको त्यही राज्य विस्तार हुँदै पूर्वतिर सर्दै गयो। कोही पाल्पा आएर सेन राज्य बन्यो, त्यो पनि हिन्दू राज्य नै थियो। कोही तनहुँ आइपुग्यो, कोही गोर्खा आइपुग्यो, कोही नुवाकोट र बेलकोटसम्म आइपुग्यो। यो त हो हाम्रो राज्य बिस्तारको कथा। जब पृथ्वीनारायण शाहको राज्य बिस्तार भयो, त्यसपछि त यो जात व्यवस्था फैलिँदै फैलिँदै पूर्वी नेपालसम्म पुगिहाल्यो, सिक्किमसम्मै पुग्यो।’
उनले यति वर्णन गरेपछि मैले यसको सारांश खिचेँ, ‘भनेपछि यो टाइमलाइनमा एउटा मधेसको कुरा भयो जहाँ २६ सय वर्ष वा त्योभन्दा अगाडि नै जात व्यवस्थाको प्रवेश भइसकेको थियो। त्यहाँ कहिलेबाट जात व्यवस्था सुरू भयो हामी भन्न सक्दैनौं। त्यसपछि करिब दुई हजार वर्षअगाडि लिच्छविहरूले आफूसँगै बाग्मती उपत्यकामा जात व्यवस्था लिएर आए र यी दुईभन्दा धेरै नयाँ अर्थात् आजभन्दा करिब सात–आठ सय वर्षअगाडि मात्र पश्चिम नेपालमा जात व्यवस्था सुरू भयो।’
‘एकदम एकदम एकदम,’ आहुतिले एक घुट्की पानी पिएर हातैले मुख पुछे, ‘त्यो त यस्तो भयो नि, यदि मधेसीहरूले सिंगो नेपालमाथि शासन गर्थे भने के हुन्थ्यो होला? उनीहरूले मधेसको जस्तै जात व्यवस्था नेपालभरि निर्माण गर्थे होलान्। जयस्थिति मल्लको शासन कर्णालीमा पनि पुगेको भए, लिम्बूवानसम्म पुगेको भए, सिरहा, सप्तरीसम्म पुगेको भए, त्यहाँ जयस्थिति मल्लले भनेको जस्तै हुन्थ्यो। ६४ जातले नपुगेर उनले १०२ जात बनाउँथे होलान्। होइन? गोर्खाका राजा राम शाहले ३६ वर्ण किन बनाए त? वास्तवमा यो ३६ वर्ण भनेको ३६ जात भनेको हो। यसबाट के बुझ्नुपर्छ भने, त्यति बेला पहाडी समाजमा ३६ थरीका कामहरू रहेछन्, त्यसैले ३६ वर्णमा श्रम विभाजन गरियो। यही विभाजन हिमालभन्दा मुनि, चुरेभन्दा माथिका पहाडी राज्यमा खसहरूसँगै सर्दै सर्दै आउँदा गोर्खाका राजा राम शाहले त्यसलाई कानुनी रूप दिने काम गरे र आखिरमा त्यो खलक नै सम्पूर्ण नेपालको शासक बन्न पुगेकाले त्यो प्रकारको जात व्यवस्था सम्पूर्ण नेपालभरि फैलियो।’
‘जस्तो– लिम्बूहरूलाई नेवारको जात व्यवस्था थाहा भएन। किनभने, नेवारको जात व्यवस्था प्रशिक्षण गर्न को गयो र लिम्बूवानमा? त्यो त पश्चिम नेपालको पहाडमा सुरू भएको जात व्यवस्था प्रशिक्षण गर्न नेपालको राज्य नै गयो लिम्बूवानमा। त्यसैले उनीहरूले सार्की चिने, नेवारभित्रको जातीय विभाजन चिनेनन्।’
मैले यहाँ फेरि अर्को जिज्ञासा राखेँ, ‘तपाईंले अघि किराँतहरूको जात व्यवस्था थिएन भन्नुभयो। अहिले किराँतहरूमा जात व्यवस्था नहुनुको कारण त्यही हो त?’
आहुतिले जवाफमा भने, ‘नेपालको कुनै पनि जनजातिमा जात व्यवस्था छैन। नेवार एउटा अपवाद हो जो जनजातिको सूचीमा परे पनि यसमा जात व्यवस्था छ। किनभने, नेवारहरूमा लिच्छवि कालदेखि आएको र पछि जयस्थिति मल्लले कानुनी रूपमा लागू गरेको जात व्यवस्था प्रचलित भयो। नेवारहरूको यो जात व्यवस्था बाग्मती उपत्यकाभित्रै निर्माण गरियो। तर नेपालका अरू जनजाति जति छन्, उनीहरू आफैंभित्र जात व्यवस्था कसैसँग पनि थिएन र छैन।’
‘हामी पश्चिमदेखि हेर्दै आऊँ न। सानो जनसंख्या भएकाहरूको कुरा नगरौं, ठूलो जनसंख्या भएका जनजातिको कुरा गर्दा, सबभन्दा ठूलो जनसंख्या मगरको छ। उनीहरूभित्र कुनै जात व्यवस्था थिएन र आफैंभित्र त अहिले पनि छैन। त्यसपछि थारू आउँछ। उनीहरूमा कुनै जात व्यवस्था थिएन र आफैंभित्र त अहिले पनि छैन। त्यसपछि तमु वा गुरूङ आउँछ। उनीहरूमा पनि जात व्यवस्था थिएन र छैन। त्यसपछि आउने भनेको उपत्यका र उपत्यका वरपरका तामाङहरू हुन्। उनीहरूमा पहिले पनि थिएन, अहिले पनि छैन। त्यसपछि अर्को समूह भनेको राई, किराँत हुन्। उनीहरूमा पनि थिएन र छैन। त्यसपछि लिम्बूहरूमा पनि थिएन र छैन। तराईमा गइसकेपछि थारू भइहाल्यो, अर्को राजवंशी, कोचे, ताजपुरिया लगायत आउँछन्। उनीहरूभित्र पनि थिएन र अहिले पनि छैन।’
‘यो त जात व्यवस्था भएका पश्चिमका खस राजा र उनीहरूको सभ्यता जुन जुन ठाउँका जनजातिमाथि हाबी हुँदै गयो, तिनले ती जनजातिलाई प्रशिक्षण दिँदै गएको कुरा हो। यसअनुरूप सबभन्दा पहिला मगरहरू प्रशिक्षित भए र क्रमशः अरू जनजातिहरू प्रशिक्षित हुँदै गए।’
‘त्यो प्रशिक्षित हुनुभन्दा अगाडि चाहिँ जनजातिहरूमा जात व्यवस्था किन थिएन? जब सबै सभ्यतामा जात व्यवस्था थियो भने जनजातिहरूमा मात्र किन भएन?’ मैले आहुतिलाई सोधेँ।
‘हरेक सभ्यताको आफ्नो छुट्टै दर्शन हुन्छ। उसले समाज निर्माण गर्दा बनाएका संरचना र सोचहरू हुन्छन्। वर्ण र जात व्यवस्थाको दर्शन भनेको दक्षिण एसिया आइपुगेको एउटा आर्य खलकभित्र मात्र जन्मेको हो। संसारमा आर्यहरू सबैतिर फैलिएका छन् तर यहाँ आइपुगेको त्यति बेलाको त्यो शासक खलकमा वर्ण वा जात व्यवस्थाको दार्शनिकी निर्माण भयो। त्यसलाई उसले पछि धार्मिकीकरण गर्यो। उसले धर्मका नाममा राज्य चलाउन थाल्यो र यो जात व्यवस्थालाई पनि धर्मकै अंग भन्दियो। विज्ञान प्रविधिको विकास नभएको त्यो युगमा मान्छेहरूले कि प्रकृतिको भर पर्नुपर्यो कि अन्धविश्वासको भर पर्नुपर्यो।’
उनी सोफामा अलिकति अगाडि सरे।
‘नेपालका जनजातिहरू मूलतः प्रकृतिपूजक देखिन्छन्। पछि उनीहरू कोही बोन धर्म प्रणालीमा गए, कोही बौद्ध धर्म प्रणालीमा गए, बौद्धभित्र कोही बज्रयानमा गए, कोही महायानतिर गइरहेका छन्। पूर्वी किराँतहरूको जुन सभ्यता हो, त्यो त मुन्धुम सभ्यता हो। उसको आदर्श, उसको दर्शन, उसको जीवन प्रक्रिया नै मुन्धुम हो। मुन्धुममा कुनै पनि मानिस ठूलो र सानो भन्ने छैन। जन्मका आधारमा कोही ठूलो–सानो भन्ने अवधारणा दक्षिण एसियाको कुनै पनि जनजातिमा छैन।’
‘त्यहाँ श्रम विभाजन त छ तर एउटाको श्रम अर्कोले गर्न हुँदैन भन्ने छैन,’ मैले भनेँ।
‘श्रम विभाजन त स्वाभाविक प्रक्रिया भइहाल्यो। समाजको आर्थिक, राजनीतिक प्रक्रियामा तपाईंले नगरे पनि स्वतः श्रम विभाजन हुँदै जान्छ। यो अर्कै विषय हो। तर जनजातिहरूले आफ्नो श्रम विभाजनलाई जात प्रणालीको रूप दिएका छैनन्। नेपालको मात्र होइन, जसलाई जनजाति भनेर भनिन्छ, त्यसको संख्या त भारतमा पनि छ। कसैले साढे सात प्रतिशत भनेका छन्, कसैले साढे आठ प्रतिशत भनेका छन्। करिब दस करोडभन्दा बढी जनसंख्या छ। उनीहरूभित्र पनि जात व्यवस्था छैन।’
‘दक्षिण एसियाको वैचारिक वा दार्शनिक पक्षको कुरा गर्दा सधैं एउटा दर्शनको मात्र कुरा हुन्छ। निश्चित जातिभित्र विकसित भएको दर्शनलाई मात्र पूर्वीय दर्शन भन्ने गरिन्छ। त्यो होइन। दक्षिण एसियाका जनजातिभित्रको जीवन दर्शन पनि पूर्वीय दर्शन नै हो जुन धेरै सशक्त छ। सम्पूर्ण विभेदसँग फरक मत राख्ने, मानिसहरूबीचको विभेद मन नपराउने, महिला उत्पीडन मन नपराउने, त्यो खालको दार्शनिकी त जनजातिहरूको हो नि। उनीहरूमाथि जुन दमन भयो, उनीहरूलाई जातीय व्यवस्थाको जसरी प्रशिक्षण गराइयो, त्यसले मात्र त्यो दार्शनिकीमा समस्या सुरू भएको हो।’
‘यो राज्यबाट प्रशिक्षित गर्ने भनेको कति डरलाग्दो हुन्छ भने, जब पश्चिमबाट खस राज्यको शक्ति सर्दै आयो, थारूहरू त्यसको घेरामा परे। राज्यको शक्तिका अगाडि उनीहरूको दार्शनिकी टिक्न सकेन, संस्कृति पनि टिक्न सकेन। त्यसपछि तमु क्षेत्रले पनि त्यसलाई धान्न सकेन। यही क्रममा तामाङ र राई, लिम्बूहरूले पनि त्यसबाट आफूलाई बचाउन सकेनन्। यसरी तमाम जनजातिहरूको समस्या के भयो भने, उनीहरूलाई आफूभित्रको कुरा, आफ्नो संस्कृति र दार्शनिकी कसरी रक्षा गर्ने भन्ने स्तरसम्म सोच्न नसक्ने गरी दमन गरियो। आफ्नो विशेषता रक्षा गर्नसमेत उनीहरूलाई धौ धौ भयो भनेपछि अर्काको खराब कुरासँग उनीहरूले कसरी लड्ने? लड्नै सक्दैनथ्यो। यसरी जनजातिहरू जात व्यवस्थाको संस्कृति अवलम्बन गर्न बाध्य भए।’
आहुतिले निरन्तर हात हल्लाउँदै, कहिले हत्केला गोलो पार्दै, कहिले औंला नचाउँदै, ज्यान कतिखेर दाहिने ढल्काउँदै, कतिखेर देब्रे ढल्काउँदै जवाफ दिए।
उनको जवाफ राम्ररी बुझेँ कि बुझिनँ भनेर मैले सोधेँ, ‘यसको मतलब उनीहरूभित्र जातीय विभाजन भएन तर अर्काले जे सिकायो त्यसलाई मान्न उनीहरू बाध्य भए? होइन त?’
‘मान्न मात्र होइन, अभ्यास नै गर्न बाध्य पारिए,’ आहुतिले भने, ‘अभ्यास भनेको कस्तो भने, जात व्यवस्थाभित्र ‘बाजे’ भनेर ठूला भनिएका र मानिएकाहरूलाई जनजातिहरूले पनि ठूलै मान्न थाले। जात व्यवस्थाभित्र पिँधमा पारिएकाहरूलाई उत्पीडन गर्न हुन्छ भनेर उनीहरूले पनि स्वीकारे र उस्तै उत्पीडन गर्न सिके। जस्ताको तस्तै गर्न सिके। यस्तो हो, प्रशिक्षण भनेको।’
‘जस्तो– जनजातिभित्रको महिला वा पुरूषले हिन्दू जात व्यवस्थाभित्रको कथित अछुत जातसँग बिहे गर्यो भने त्यो महिला वा पुरूषलाई आफ्नो जातबाट कटाएर त्यही अछुत जातको बनाइदिन थालियो। यो भनेको पनि जातीय व्यवस्था मानेकै हो। यसरी पूरै नेपालको इतिहास हेर्ने हो भने करिब दुई–तीन सय वर्षको अवधिमा जनजातिहरू पनि जात व्यवस्थाअनुसार सोच्ने, त्योअनुसार व्यवहार गर्ने स्तरमा प्रशिक्षित भए। उनीहरूको पनि सांस्कृतिक चेतनाको एउटा मुख्य अंग जात व्यवस्था नै बन्न पुग्यो।’
‘त्यसैले जनजाति समुदायले जात व्यवस्था हाम्रो होइन भनेर जसरी भन्ने गरेका छन्, त्यो भाष्य ठिक छैन। भलै त्यो उनीहरूभित्रको उत्पत्ति नहोला तर सयौं वर्षको बलात् प्रशिक्षणका कारण उनीहरूले मान्दै चाहिँ आएका छन्। उनीहरूको पनि त्यसमा एक स्तरको हिस्सेदारी भइसकेको छ। नेपालका जनजातिहरूको एउटा भाष्य छ नि, यो जात व्यवस्था भनेको हिन्दूहरूभित्रको हो, यो हाम्रो सरोकारको विषय होइन भन्ने, यो भाष्य पूर्ण रूपमा सही छैन। जनजातिहरूले यदि यो हाम्रो उत्पत्ति होइन भन्छन् भने त्यो भाष्यलाई सही मान्न सकिन्छ। तर त्यसो भन्दैमा के उनीहरूले यो जात व्यवस्था मानेका छैनन् त? त्यो त मानेका छन्। मानेपछि त अब यो जात व्यवस्था उनीहरूको पनि भयो नि, भएन र?’
एक घन्टा दुई मिनेट लामो अहिलेसम्मको यो वार्ताबाट हामीले पाँचवटा कुरा थाहा पायौंः
पहिलो, यो जात व्यवस्था र छुवाछुत भनेको हिन्दूहरूभित्रको उत्पत्ति त हो तर त्यो पनि सदाकालदेखि थिएन। सभ्यताको ३५ सय वर्ष अगाडिबाट मात्र वर्ण व्यवस्था र जात व्यवस्थाको विधिवत् सुरूआत भयो।
दुई, अहिलेको नेपालमा जात व्यवस्था कहिलेबाट सुरू भयो भनेर हेर्दा बाग्मती उपत्यकामा दुई हजार वर्ष अगाडिसम्म यस्तो भेदभाव छँदै थिएन। यहाँ लिच्छविहरूसँगै जात व्यवस्थाले प्रवेश पायो।
तीन, तराई–मधेसमा २६ सय वर्ष वा त्योभन्दा केही अगाडि मात्र यसले जरो गाड्यो।
चार, पश्चिम नेपालको खस सभ्यतामा त यो सात–आठ सय वर्ष अगाडिबाट मात्र सुरू भयो।
पाँच, जनजातिलाई समेत जात व्यवस्थाबाट प्रशिक्षित गरिएको टाइमलाइन हेर्दा नेपाललाई पूर्ण रूपमा जात व्यवस्था र छुवाछुतले दपेटेको त्यस्तै दुई–तीन सय वर्षभन्दा बढी भएको छैन।
यी पाँचवटा समयसीमाबारे थाहा पाएपछि अब हामीलाई मुक्तिको कुरा गर्न सजिलो हुनेछ।
मैले आहुतिसँग प्रश्न गरेँ, ‘अहिलेसम्म भएका दलित मुक्ति आन्दोलनलाई एक कदम अगाडि बढाउन जनजाति आन्दोलनलाई दलित मुक्ति आन्दोलनसँग कसरी जोड्न सकिन्छ? जनजातिहरूको यसमा के भूमिका हुन सक्छ?’
मैले वार्ताको सारांश सुनाउँदै गर्दा उनले दोस्रोचोटि गिलासमा पानी भरे र पहिलेजस्तै एक घुट्की मात्र पिएर हातैले मुख पुछे।
‘पहिलो कुरा त जनजाति आन्दोलनले हामी आफूमाथि भएका राज्य दमनका कारण जात व्यवस्था लागू गर्न हिस्सेदार भयौं भन्ने कुरा गहिरोसँग आत्मसात् गर्नुपर्छ, त्यसलाई स्वीकार गर्नुपर्छ। जात व्यवस्था हामीभित्र छैन भनेर घोषणा गरेर मात्र हुँदैन। जे हो त्यसलाई मान्नुपर्यो। यो हाम्रो पनि समस्या हो भनेर सैद्धान्तिक रूपमा स्वीकार गरेपछि जनजाति आन्दोलनसँग सम्बन्धित समाजशास्त्रीहरू, विद्वानहरू, राजनीतिक आन्दोलनकर्मीहरू सबैले त्यो वैचारिकी मान्ने भए। त्यसमा बहस हुने भयो। यदि जनजाति आन्दोलन त्यो ठाउँमा पुग्यो भने बल्ल उसले यो हाम्रो पनि समस्या हो, हामी पनि दमनका कारण यस्तो भयौं र अब हामी आफैं यसबाट मुक्त हुनुपर्यो भनेर स्वीकार गर्नेछ।’
‘आज एउटा ज्यापू महिलाले आफ्नो लोग्नेलाई हजुर, बक्सियोस् भन्न थाल्यो भने उसले सबभन्दा पहिला त्यो कुरा फाल्नुपर्यो। किनभने, ज्यापू भनेको समानतामा आधारित समुदाय हो। त्यहाँ महिलाले पुरूषलाई हजुर, बक्सियोस् भन्नु भनेको पितृसत्ताको बीजारोपण हुनु हो। जनजाति सबै यस्तै समानतामा आधारित समुदाय हो। यो सानो कुरा होइन। जनजातिभित्रको महिलाले आफ्नो लोग्नेलाई हजुर, बक्सियोस् भन्नुपर्ने अवस्था आउनु भनेको जनजातिभित्रको सत्व नै हरण भएको हो। जात व्यवस्था पनि जनजातिहरूले ग्रहण गर्नु भनेको उनीहरूले आफ्नो सत्व गुमाएको हो। यो कुरा उनीहरूले आत्मसात् गर्नुपर्यो। दक्षिण एसियामा जनजाति सभ्यताको आफ्नो दार्शनिकी छ। आज गौतम बुद्ध, महावीर र चारवाकहरूले ल्याएको दर्शनलाई हामी पूर्वीय दर्शन भन्छौं तर जनजातिहरूको दर्शन त्योभन्दा पुरानो छ जहाँ पितृसत्तात्मक व्यवस्था छैन, जहाँ जातीय व्यवस्था छैन, जहाँ सबै मानिस बराबर हुन् भन्ने समतामूलक अवधारणा छ। जनजातिहरूको यति गहिरो दर्शनलाई हामीले किन पछाडि छाड्ने?’
उनको निधारमा पसिनाका थोपाहरू टल्किएका थिए। हातले पसिना पुछे र कपाल मिलाए। जवाफ जारी थियो।
‘जनजातिहरूले जात व्यवस्था हामीले पनि मान्नु भनेको आफ्नो सत्व हरण भएको हो भनेर बुझ्नुपर्यो। मेरो सत्वको रक्षा निम्ति जुन जात व्यवस्था हामीले मान्दै आएका छौं, त्यसलाई अन्त्य गर्नुपर्यो र जात व्यवस्थाबाट सबभन्दा पिँधमा परेकाहरूको मुक्तिको अभियानमा हामी पनि आफ्नो हिस्सेदारीसहित एकताबद्ध हुनुपर्यो भनेर उनीहरूले सोच्नुपर्यो। यसले ठूलो परिवर्तन ल्याउनेछ। त्यसपछि उसले आफ्नो कार्यक्रम बनाउँछ। किनभने जनजाति भनेको त घर–घरमा बस्ने मान्छे वा परिवार मात्र होइन नि, उसको संगठन छ, उसको आफ्नो आन्दोलन छ। एउटा कुनै घटनामा उसले प्रतिक्रिया जनायो भने ठूलो फरक पर्छ।’
‘जसरी मधेस आन्दोलन यसबारे मौन छ, मधेसी समस्याभित्र जात व्यवस्थाको समस्या छ भनेर लेखिएको छैन। मधेसी मुक्तिको प्रक्रियामा जात व्यवस्थाबाट मुक्ति हुनुपर्दैन? त्यस्तै जनजाति आन्दोलन भनेको पनि एउटा दार्शनिकीसहितको समाज हो। पितृसत्तात्मकविरूद्धको सोच, महिला स्वतन्त्रता पक्षको सोच र समतामूलक समाजको सोच दक्षिण एसियामै जनजातिहरूसँग मात्र छ। हजारौं वर्षदेखि अभ्यास हुँदै आएको यो जनजाति दर्शन बिटुलिएको त केही सय वर्ष न भयो। आफ्नो यो सत्वको रक्षा गर्न उनीहरू पनि जागरूक हुनुपर्छ कि पर्दैन?’
उनले फेरि गिलास उठाएर एक घुट्की पानी पिए। मुख पुछे। जवाफ जारी थियो।
‘यहाँ जनजातिहरूले जात व्यवस्था छाड्ने वा त्यसलाई कमजोर पार्ने भनेको उनीहरूले दलितहरूको पक्षमा मात्र बोलेको भनेर बुझियो। कुरा त्यो होइन। उत्पीडित हामी सबै छौं। कोही गरिब जनजाति उत्पीडित छन् भने उसको पक्षमा पनि हामी सबै लड्नुपर्यो। कोही जनजाति महिला उत्पीडनमा परेका छन् भने उसको पक्षमा पनि हामी सबै लड्नुपर्यो। यो अर्कै विषय हो। तर यदि जात व्यवस्थाले जनजातिको दार्शनिकी र सत्व वा अस्तित्व नै डाँवाडोल भइरहेको छ भने उसको त्यो सत्व कायम गर्ने कि नगर्ने? यो त उनीहरूको विषय हुनुपर्ने होइन र?’
‘यो विषयमा बहस नै सुरू भएन। यो पितृसत्ता र जात व्यवस्थासँग लड्न हामीसँग कि त आधुनिक लोकतन्त्रले विकास गरेको विचार छ जुन अरू देशहरूसँग पनि छ। यस्तो विचार साम्यवादले पनि लिएर आयो, पुँजीवादले पनि लिएर आयो। तर यही दक्षिण एसियाभित्रै यो पितृसत्ता र जात व्यवस्थाविरूद्ध लड्ने चेतना भनेको जनजातिको मात्र हो। जनजातिले यसलाई अन्त्य गर्न भूमिका नखेल्ने भनेको त अन्ततः उनीहरूकै चेतना मर्दै जाने हो। त्यसपछि जनजाति भनेको के बाँकी रह्यो त?’
‘महिला स्वतन्त्रता र समतामूलक समाजको चेतनालाई जनजातिले रक्षा गर्न सकेन भने जनजातिको आधारभूत कुरा के बाँकी रह्यो? भाषा जनजातिसँग मात्र छ त? भाषा त अरूसँग पनि छ। धर्म जनजातिको मात्र हुने हो त? धर्म त अरूको पनि हुन्छ। संस्कृति उसको मात्र हुने हो त? संस्कृति अरूको पनि हुन्छ। मुक्तिको चाहना र उत्पीडनको कथा उसको मात्र हो त? अरूको पनि छ। अरूको नभएको भनेको त्यही समतामूलक समाजको चेतना हो जसले दक्षिण एसियामै न्यायपूर्ण समाज निर्माण गर्न सक्छ। त्यो नै सिद्धियो भने जनजातिहरूको बाँकी रहन्छ के?’
उनले आफ्नो बसाइ थोरै बदले। जवाफ जारी थियो।
‘जात व्यवस्थाविरूद्ध जनजातिहरूको आफ्नो अभियान हुनुपर्छ भन्नुको अर्थ उनीहरूको आफ्नै अस्तित्व, सभ्यता र ज्ञानको रक्षा निम्ति हो। त्यो ज्ञानको रक्षा भनेको उत्पीडित समाजहरूको रक्षा निम्ति रूपान्तरण गर्न काम लाग्छ भनेको हो। बेलायतमा विकसित लोकतन्त्रको सिद्धान्त र जर्मनीमा विकास भएको साम्यवादको सिद्धान्त हामीले समतामूलक समाज निर्माणको निम्ति अपनाउनुपर्छ भन्ने, जबकि वर्षौंदेखि यही माटोमा विकास भएको समतामूलक समाज निर्माणको जनजाति दर्शनलाई चाहिँ हामीले यत्तिकै छाड्दिने? यो त भएन नि। सिंगो दक्षिण एसियाको समाजलाई न्यायपूर्ण बनाउन जनजातिहरूले आफ्नो इतिहासदेखिको विरासतलाई सम्हालेर राख्न सक्नुपर्छ।’
‘हामी सनातन, सनातन भन्छौं। कहाँ छ सनातन? के हो सनातन? सनातन भनेको त बाँच्दै आएको मानिसको जीवनको परम्परा हो। त्यसैले यो जातीय व्यवस्था र छुवाछुत प्रथा जति हजार वर्षदेखि आएका खराब विचार भए पनि त्योसँग लड्ने सनातन चेतना भनेको जनजाति चेतना हो। हामीले त्यसको रक्षा गर्नुपरेन त? मूल विषय त्यो हो।’
यहाँनिर मैले आजको वार्तालाई बिट मारेँ र भनेँ, ‘हवस् त आहुतिजी धेरै धेरै धन्यवाद। आज तपाईंले वर्ण व्यवस्था, जातीय व्यवस्था, छुवाछुत कसरी सुरू भयो, कसरी एकपछि अर्को रूपमा परिवर्तन हुँदै गयो, नेपालमा यसको इतिहास के हो र कति पुरानो हो भन्नेदेखि यो प्रथासँग लड्न जनजाति आन्दोलनको के भूमिका रहन्छ भन्नेबारे विस्तारमा वर्णन गर्नुभयो, यसको निम्ति धेरै धेरै धन्यवाद।’
मैले यसो भन्दै गर्दा आहुतिले गिलास उठाए तर पानी पिएनन्। हातमा एकछिन गिलास समाते र फेरि टेबलमै राखे।
‘तपाईंलाई पनि धन्यवाद है,’ उनले भने।
सेतोपाटी मल्टिमिडियाका सहकर्मी साथीहरू विवेक र रविनले क्यामरा अफ गर्दासम्म हामीले ठ्याक्कै एक घन्टा १४ मिनेट ५० सेकेन्ड ‘अनरेकर्ड’ कुराकानी गरेका थियौं।
कुराकानीपछि हामीले एक–एक गिलास पानी खायौं र वार्ताको सिलसिलालाई फेरि अर्को कुनै विषयमा निरन्तरता दिनेबारे छलफल गर्दै विदा भयौं।
बाहिर पानी थामिइसकेको थियो।
दलित आन्दोलनका अभियन्ता तथा विश्लेषक आहुतिले फूलबुट्टेदार छाता मुठो पारेर देब्रे हातमा बोके, दाहिने हातले मोबाइलको घडी हेरे र ‘ओहो निकै ढिला भइसकेछ नि’ भन्दै ठमठम बाटो लागे।
नजाने कहाँ कति बेला आउँछु भनेर कसलाई समय दिएका थिए!
जहाँ जति बेला आउँछु भनेर जसलाई समय दिएका थिए, त्यहाँ उनलाई कुरिरहेका मान्छे आफ्नो घडी र उनको बाटो हेर्दै होलान्!
र, भन्दै होलान्, ‘आज आहुतिजीलाई के भएछ, समयका पक्का हुन् त!’
यो पनि हेर्नुहोस्: