आइतबार बिहान सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरबार पुगेका सत्तारूढ नेकपा एमाले कार्यदलको वार्ता टोलीका सदस्यहरू १२ घण्टाभन्दा बढी समयदेखि छलफलमै छन्।
शनिबार साँझ नै सहमतिलाई अन्तिम रूप दिइएको भन्दै आइतबार सहमति हुने भनिएको बैठक अझै अनिश्चित बनेको छ।
कार्यदलका नेताहरु आइतबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफलमा छन्। कार्यदलका सदस्य घनश्याम भुसालका अनुसार आजको वार्तामा खासै प्रगति भएको छैन।
‘हिजो जे थियो, आज पनि त्यहीँ छ। तर सम्भावना अझै बाँकी छ’, दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका उनले भने, ‘सहमतिको सम्भावना जीवितै छ। तर स्थिति हिजोअस्तिको जस्तै छ।’
यसैबीच ओली पक्षका नेता सुवास नेम्बाङले आज हस्तार भएरै छोड्ने दाबी गरे।
‘हामी बिहान ८ बजेदेखि अहिलेसम्म एउटै कोठामा वार्तामा छौं। आजै निष्कर्षमा पुर्याउने गरि कोशीस गरिरहेका छौ’, उनले भने।
आज खुसीको खबर दिने कुरा हिजै गर्नुभएको थियो नि?, भनेर सेतोपाटीले सोधेको प्रश्नमा उनले भने, ‘आज बिहानै खुसीको कुरा थाहा पाइहाल्नु भयो, अर्जेन्टिनाले जित्यो नि, अब भरे पनि हामी सहमतिमा हस्ताक्षर गरेर मात्र फुटबल हेर्न निस्कने हो।’
मेसीका फ्यान रहेका नेम्बाङले बिहानै कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना र मेसीलाई बधाई दिन भ्याएका थिए।
आज राति हुने युरो कपको फाइनल अगाडि वार्ता टुंग्याएर इंग्ल्याण्ड र इटालीको खेल हेर्न जाने नेम्बाङले बताए।
‘बिहान ८ बजेनै सुखद समाचार दिन्छौं भनेका थियौं, सोखालको परिस्थति बनेन। सहमति गरेर हामी फुटबल हेर्न जान्छौं। त्यसकै लागि १२ घण्टा प्रयत्न जारी छ। छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ। सहमति बन्नेमा म विश्वस्त छु, ’ उनले भने।
आइतबार साँझ कार्यदलका सदस्य विष्णु पौडेल एउटा आर्थिक कार्यक्रममा सहभागी हुन बैठक स्थलबाट बाहिरिएर अहिले केहीबेर अगाडि पुनः सिंहदरबार फर्किएका छन्।
पौडेलका अनुसार आज सहमति हुनेमा शंका उब्जिएको छ। आज कुरा मिल्छ त? भन्ने पत्रकारको प्रश्नमा पौडेलले ‘हेरौं न’, भन्ने जवाफ दिएका छन्।
सहमतिका लागि भनेर सिंहदरबारमा कार्यदलका सदस्यबीच एक पक्षीय र दुई पक्षीय वार्ता भइरहेको छ।
अदालतको फैसला आएपछि पार्टीको धारणा के हुन्छ भन्ने विषयमा साझा सहमति जुट्न सकेको छैन।
कार्यदलका एक सदस्यका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अडिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा बहस सकिएर हेर्दाहेर्दैमा राखिएको छ र सोमबार पेशी तोकिएको छ।
यसअघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवाद मिलाउन बनेको कार्यदलका सदस्यलाई सहमति हुँदा अदालतलाई प्रभावित पार्ने कुनै भाषा नराख्न सुझाव दिएका थिए।
आइतबार बिहान सिंहदरबारमा बैठक बस्नुअघि नेपालनिकट कार्यदल सदस्यहरू उनलाई कोटेश्वरस्थित निवासमा गएर भेटेका थिए। उक्त भेटमा नेपालले सहमतिको अन्तिम ड्राफ्ट लेख्दा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कुनै प्रभाव पार्ने भाषा नराख्न भनेको एक जना कार्यदल सदस्यले जानकारी दिए।
नेता नेपालले कार्यदल सदस्यहरूसँग पार्टीलाई सहमतिमा चलाउनु पर्ने कुरा पनि सहमतिमा हुनु पर्ने बताएका छन्।
‘आउने दिनमा पार्टी सहमतिमा चल्ने पत्याभूति हुनु पर्ने उहाँको कुरा छ,’ एक कार्यदल सदस्यले भने।