नेकपा एमालेमा जारी विवाद समाधानका लागि गठित कार्यदलको पछिल्लो चार दिनदेखि लगातार बैठक बसे पनि कुनै प्रगति गर्न सकेको छैन।
गत जेठ ७ गतेदेखि बस्न नसकेको कार्यदलको बैठक सोमबार बसेको थियो। यद्यपी यो बीचमा दुवै पक्षका नेताले अनौपचारिक छलफललाई भने निरन्तरता दिएका थिए।
सोमबारयता हरेक दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको छ। बिहिबार दुई पटक बैठक बस्यो। बुधबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट भएको थियो। वैशाख ३० गतेपछि दुई नेताबीच भेट हुन सकेको थिएन।
बुधबारको बैठकमा ओली र नेपालसँगै उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागि थिए। ओली र नेपालबीच वान टु वान वार्तासमेत भएको थियो। तर ओली र नेपालबीचको छलफलमा कुनै सहमति हुन सकेन।
नेपाल निकट स्रोतका अनुसार ओलीले २०७५ जेठ २ को संगठनमा पार्टीलाई फर्काउने विषयमा कुनै प्रसंग नै उठाएनन्।
बिहिबार पहिलो पटक बसेको बैठक पछि दुवै पक्षका नेताले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। तर साँझ बसेको बैठकपछि भने एमाले उपमहासचिव एवम् कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै प्रगति नभएको खुलासा गरिदिए। उनका अनुसार १० दिनदेखि पार्टी विवाद मिलाउने विषयमा कुनै प्रगति भएको छैन।
बिहिबारको बैठकमा एमाले उपमहासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागि नभएपछि शुक्रबार साढे ११ बजे बस्ने गरि बैठक सकिएको समेत भुसालले बताए।
मन्त्रिपरिषदको नियमित बैठक चलिरहेकाले पौडेल बैठकमा उपस्थित थिएनन्।
अनौपचारिक रूपमा १० दिन अघिदेखि तयार पारेको मस्यौदामा अहिलेसम्म कार्यदल प्रवेश गर्न नसकेको भुसालको जिकिर छ।
‘१० दिनदेखि केही पनि प्रगति भएको छैन। जुन अवस्थामा पहिले थियौं अहिले त्यहीँ अवस्थामा छौँ’, बैठकपछि उनले भने, ‘अनौचारिक रूपमा छलफल गरेपछि केही एजेन्डाहरू तय गरेका थियौं। गत १० दिनदेखि हामीले खास ठोस निर्णय गर्न सकेका छैनौं। विभिन्न कारणले आज अगाडि बढ्न सकेनौं। भोलि साढे ११ बजे पुन बस्नेछौ’
यद्यपि ओली पक्षका कार्यदल संयोजक एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बैठक सकारात्मक भएको दाबी गरे। उनले शुक्रबार बस्ने बैठकले विवादलाई निश्कर्षमा पुर्याउने जिकिरसमेत गरे।
‘हामी विषयबस्तुलाई निष्कर्षमा पुर्याउने गरि छलफल गरिरहेका छौं। तीन वर्षदेखि जुन तुष छ, त्यहाँबाट यो ठाउँसम्म ल्याइपुर्याएका छौं भने यो ठूलो कुरा हो। भोलि (शुक्रबार) ११:३० बजेको बैठकले टुंग्याउनेमा आशावादी छौं,’ नेम्वाङले भने।
सहमतिका लागि छलफल गरे पनि ओली पक्षले जेठ २ मा पार्टीलाई फर्काउने विषयमा गम्भीरता नदेखाएको नेपाल पक्षको आरोप छ।
‘सहमति हुनै लाग्यो भनेर हल्ला गर्ने, तर विषयवस्तुमा गम्भीरता नदेखाउन प्रवृत्ति ओली पक्षसँग देखिएको छ। ओलीजीले के खेल खेल्नुभएको छ भनेर बुझ्नै कठिन भइसक्यो,’ नेपाल पक्षका एक नेताले सेतोपाटीसँग भने, ‘विपक्षी गठबन्धनलाई कमजोर पार्ने र हाम्रो समूहमा विभाजन ल्याउने उहाँको योजना देखिन्छ। त्यसैले उहाँले विषयवस्तुलाई अन्यन्त्र मोड्ने प्रयास गरिरहनुभएको छ।’
कहिले पावर सेयरिङको कुरा अनि कहिले दोस्रो अध्यक्षको प्रस्ताव गरेर एजेण्डा बाहिर जान खोजिएको ती नेताको आरोप छ। जेठ २ को संगठनात्मक ढाँचामा पार्टीलाई लगेर नवौं महाधिवेशनको विधी पद्धति अनुसार पार्टी चलाउनु महत्वपूर्ण भएको नेपाल पक्षको तर्क छ।