नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले एमालेलाई केपी शर्मा ओलीको अनाधिकृत कब्जाबाट मुक्त गर्न आफूहरू सफल हुने बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै उपमहासचिव भुसालले ढिलै भए पनि एकदिन आफूहरूले एकीकृत एमाले बनाएरै छोड्ने दाबी गरे।
'धेरै ढिलो हुन सक्छ। हामीले धेरै गुमाउन पनि सक्छौं तर एकदिन एमाले एकीकृत हुन्छ। त्यसपछि सिंगो कम्युनिष्ट आन्दोलन एक हुन्छ,' उनले भने,'यो पार्टी ओलीको मौजा होइन, उनको बपौती होइन भन्ने हामी स्थापित गर्न सफल हुन्छौं।'
एमालेको मुख्य समस्या माधवकुमार नेपाल नभएर केपी ओली भएको उनको दाबी छ। उनले नेपाल र ओलीको तानातानले पार्टी च्यात्न नपाइनेसमेत बताए।
'म अहिले माधव नेपालको पक्षमा छु। माधव नेपालको ओलीप्रति कुनै दुराग्रह छ भने उहाँको दुराग्रहले गर्दा सिंगो पार्टी बिग्रन हुँदैन। फेरि पनि तथ्यहरूले के भन्छन् भने मेरा कमजोरी होलान्, मेरा कमजोरी होलान्, माधव नेपालका होलान्, अरूका पनि होलान्। कसैले त्यसलाई दुराग्रह भन्लान् तर आजको समस्या माधव नेपाल होइन,' उनले भने,'यो पार्टीको समस्या व्यक्तिको रूपमा ओलीकै समस्या हो। कमरेड ओली यो मुलुक संविधान र लोकतन्त्रको समस्या हो। उहाँको गतिविधि समस्या हो।'
एमाले एकताका लागि चलिरहेको अनौपचारिक वार्ता र सहमतिको सम्भावनाबारे सेतोपाटीका सन्जिब बगालेले भुसालसँग गरेको भिडिओ कुराकानी मुख्य अंशहरू:
-वार्ताको औचित्य हाम्रो तर्फबाट अझै पनि बाँकी छ। ओलीका कारणले एमालेमा दुई पार्टीको अभ्यास गर्ने अवस्था आयो। उहाँको अयोग्यताका कारण विवाद बढ्दै गए। एकपछि अर्को दुर्घटना गर्दै जाँदा एमाले नै अप्ठेरोमा पुग्यो।
-ओली कमरेडले यो बीचमा निकालेका वक्तव्य र त्यसमा राखेका सर्त र हामीले सर्वोच्चमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्छ भनेका कारण वार्ता अघि बढेको छैन। सामान्य अवस्थामा भन्ने हो भने हामीले संसदीय मर्यादा उल्लंघन गरेको हो। तर उहाँका कारण प्रतिनिधि सभा विघटनको अवस्थामा पुगेकाले संविधान र संसदको संरक्षणका लागि हामीले मुद्दा हालेको हो।
-कमरेड ओलीले अब राज्यको हिसाबले पार्टीको हिसाबले छोड्ने ठाउँमा आउनुभयो। उहाँ हिजै पुग्नुभएको थियो। संसद पुनर्स्थापना भएपछि उहाँले राजीनामा दिनुपर्थ्यो। हिजोसम्म आइपुग्दा उहाँ निर्णायक रूपमा असफल हुनुभयो। उहाँ पार्टी र सरकार चलाउन असफल हुनुभयो। तर हामीले एकताका लागि यो सर्त राखेका छैनौं किनकी यो एमालेको आन्तरिक मामिला हो।
-उहाँले हामीलाई बाटोबाट लखेटेको हो तर हामीले त्यसरी नै उहाँलाई लखेट्नुपर्छ भनेर सोचेका छैनौं। यो कुरा पार्टीमा उठाउने हो भनेका छौं। तर अहिले ओलीकै कारण गणतन्त्रलगायत उपलब्धि खतरामा जाने हो कि भन्ने खतरा छ।
- हामी झलनाथ-माधव नेपाल समूह भन्छौं। त्यसमा हामी आमरूपमा एकै ठाउँमा छौं। कसैलाई भ्रम नपरोस्, हामी जेठ २ गतेभन्दा अगाडिको संगठनात्मक संरचनाबाहेक कुनै कुरा स्वीर्कादैनौं। अहिले कमरेड ओलीले राख्नुभएको हस्ताक्षर फिर्ताको सर्त पनि स्वीकार गर्दैनौं। कुनै सर्त नराखी जेठ २ को एकता गर्न तयार छौं। त्योबाहेक अरू सम्झौता हुँदैन भन्नेमा हामी सबैको न्यूनतम सर्त हो।
- जेठ २ गते ओलीले माने भने जेसुकै कारणले होस् मान्नुपर्छ भने कमरेडहरू हुनुहुन्छ। ओलीको हिसाबकिताब त्यही गरेर गर्नुपर्छ भन्ने छ। कमरेड माधव र झलनाथले ओलीलाई हामीभन्दा बढी चिन्नुभएको छ। त्यसैले उहाँहरूले ओलीलाई सहजै विश्वास गर्नु हुँदैन भन्नुहुन्छ। आफू बस्न नपाउने कुर्सी भाँच्छु भन्ने मान्छे सुध्रिदैन भन्ने छ। हामीभित्र भएको विवाद यसैमा हो। जेठ २ भन्दा तल्लो सर्तमा कोही तयार छैनन्।
-मैले केही साथीहरूलाई यो सर्त मान्नु भनेको एग्रोभेटमा गएर एक बोतल मेटासिड किनेर घर बस्ने भन्दिएको हो। केही नभइकन देउवाको पक्षमा हस्ताक्षर गरेको हो भने त्यो गद्दारी हो। लोकतन्त्रमाथि ओलीले धावा बोलेको हो भन्ने लागेको हो भने पनि हस्ताक्षर नगर्नु मुलुकको लागि गद्दारी हुन्छ भनेर मैले भनेकै हो।
-हामीले अर्को पार्टी खोल्नु पर्छ कि पर्दैन भन्ने मलाई लाग्दैन। एउटा अर्को पार्टी थप्दैमा धेरै ठूलो उपलब्धि हुन्छ भन्ने लाग्दैन। हामीले एउटा असाधारण सम्भावना गुमाएका छौं। कमरेड ओलीका कारणले त्यत्रो उपलब्धि ढलेर एमाले र माओवादी बनेका छौं। सत्ताप्रतिको अकल्पनीय मोहका कारण एमाले संकटमा परेको छ।
-कमरेड ओली र त्यसपछि दोस्रो तहमा समस्या छ। त्यो संख्या ५/७ हजार छ। एकातिर हामी छौं। अर्कोतिर ओलीसँग छन्। ओलीको छत्रछाँयामा सबै सुविधा पाएकाले हिजोका बाचा बिर्सिएको छ या द्वुविधामा छ। त्यसपछि दलाल पुँजीवाद र सत्ताको संरक्षणले हुर्काएको सामाजिक लम्पटहरूको एउटा ठूलो समुदाय छ। त्योभन्दा तल कुरा गर्ने हो भने लडाइँ लडेको सहनशील लोकतान्त्रिक देशभक्त जमात एमालेसँग छ। यो संरचना भत्किने भनेको ठूलो क्षति हुनु हो।