जनता समाजवादी पार्टी (जसपा) नेता सुरेन्द्र झाले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन गर्न लगाउने सर्वोच्च अदालतको आदेश पुनरावलोकन हुने बताएका छन्।
सेतोपाटीसँग सोमबार भिडिओ कुराकानी गर्दै झाले नागरिकता सम्बन्धी अध्यादेश ल्याउनु सरकारको बाध्यता भएकाले यसलाई अदालतले बेवास्ता नगर्ने आशा व्यक्त गरेका छन्।
'अब हामी सर्वोच्च अदालतलाई पुनः अपिल गर्छौ। संसद नभएको अवस्थामा साढे ५ लाख भन्दा बढी युवा अनागरिक भएर बस्नु परेको छ। यहाँसम्मकी कोभिडको खोपसमेत लगाउन पाएका छैनन्,' उनले भने, ‘यो विषयलाई हामीले गम्भीरताका साथ लिएका छौं। हामी स्वतन्त्र र अक्षुण न्यायलयको पक्षमा छौ। एक पटक यसको आवश्यकताबारे अपिल गर्छौ। सर्वोच्च अदालतले जन भावना अनुसार निर्णय गर्छ भन्ने हाम्रो अपेक्षा छ।'
जसपा विवादबारे निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको उनको भनाई छ। उनले पार्टी एकताका लागि अझै पहल गर्न सकिने भए पनि मिल्नै नसक्ने अवस्था आएमा सहमतिकै आधारमा छुट्टिन सकिने बताए।
'हामी मिल्नै सक्दैनौं, कामै गर्न सक्दैनौं, एजेण्डागत सहमति हुन सकेन, स्कुल अफ थटमा एकरूपता ल्याउन सकिएन भने एक अर्कालाई गिजोल्दै, खुइल्याउँदै एकअर्काको हुर्मत लिनभन्दा सौहार्दपूर्ण वातावरणमा आ-आफ्नो बाटो लाग्नु नराम्रो होइन,’ जसपा अध्यक्ष महन्थ ठाकुर निकट झाले भने, ‘यसले राजनीतिक संस्कार देखाउँछ। आउने दिनमा सहकार्यको ढोका खुलै हुन्छ।'
नागरकिता अध्यादेशबारे अदालतको आदेश र जसपा विवादबारे निर्वाचन आयोगको निर्णयबारे झासँग हामीले भिडिओ कुराकानी गरेका छौ। यस कुराकानीका मुख्य अंशहरु यसप्रकार छन्।
- नागरिकता सम्बन्धि अध्यादेश तीन वर्षदेखि संसदमा थियो। त्यो पास हुन नसकेको अवस्थामा बाध्याकारी अवस्थामा अध्यादेश आएको हो। यो संविधानमा भएको जस्ताको त्यस्तै व्यवस्था अनुसार आएको हो।
-नेपाल सरकारले यो बीचमा धेरै अध्यादेश ल्याएको छ। धेरै अध्यादेश संविधान, कानुन विपरित आएको छ। तर त्यसलाई अदालतमा थाती राखिएको छ। अनागरिक भएकालाई नागरिकता दिन ल्याइएको अध्यादेश कार्यान्वयन नगर्नू भन्न हुन्थेन।
-अर्को कुरा सरकारले यसको आवश्यक्ताबारे राम्रोसँग बुझाउन सकेन कि भन्ने हो। संसद विघटन हुनुमा ती निर्दोश नागरिकको कुनै दोष छैन। यसरी आफ्नै देशको नागरिकलाई अनागरिक बनाउनु हुँदैन। नेपाली हो भनेर कुनै पनि सुविधा पाउनबाट बञ्चित भएको छ।
-निर्वाचन आयोगको निर्णय ठीक छ। दोस्रो बरियतामा रहेका अध्यक्ष उपेन्द्र यादवले जुन कारबाही गर्नुभयो त्यो गलत छ। उहाँले पार्टीमा जथाभावी गर्नुभयो। हुँदाहुँदा शालीन र मुर्धन्य नेता महन्थ ठाकुरलाई समेत कारबाही गर्नुभयो।
-निर्वाचन आयोगको निर्णयले अवसरसमेत दिएको छ। कारबाही गर्ने साथीहरु आत्मालोचना गरेर आउनुभयो भने पार्टी एक हुने अवसर समेत छ। हाम्रो एजेण्डा अहिले पनि मिल्छ।
- तर एजेण्डालाई थाती राखेर साथीहरू बैकल्पिक गठबन्धनका नाममा नेताहरका घरदैलोमा जानुभयो। यसको नेतृत्व बाबुराम भट्टराइले गर्नुभयो।
-नागरिकताको समस्या मिलाउनुपर्छ, जेलमा रहेका साथीहरु छुट्नुपर्छ, संविधान संशोधन गर्नुपर्छ भन्ने एजेण्डाको नेतृत्व महन्थ ठाकुरले गर्नुभएको छ।
-सँगै काम गर्न चुनौती छ। तर अधिकारबिहिन गरिबहरुको नेतृत्व गर्ने पार्टी बन्ने हो भने आत्मालोचना गरेर अघि बढ्न सकिन्छ।हाम्रो पार्टीमा मात्रै विवाद छैन। सबै पार्टीमा गुटबन्दी व्यक्तिगत भावना छ। त्यसैले समस्या हुँदा हुँदै पनि सम्भावना छैन भन्ने होइन।