प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहलाई विभाजित गरेर केही नेता आफूतिर ल्याउने रणनीतिमा अघि बढेका छन्।
त्यसका लागि ओलीले नेपाल-खनाल समूहका दोश्रो पुस्ताका नेताहरूलाई आफ्नो पक्षमा तान्ने योजना बनाएका छन्। पार्टी एकताका लागि गठित औपचारिक कार्यदल निष्क्रिय बनिरहेका बेला ओली र नेपाल-खनाल नेताहरूबीच अनौपचारिक छलफलहरू हुन थालेको छ।
सोमबार ओली र नेपाल-खनाल पक्षबीच राति चार घन्टा लामो छलफल भएको थियो। ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। नेपाल-खनाल पक्षबाट भने नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी थिए।
औपचारिक कार्यदल सक्रिय नभएका बेला दुवै पक्षका नेताहरू वार्तामा सहभागी हुँदा नेपाल-खनाल पक्ष सशंकित बनेको छ भने ओली पक्ष उत्साहित बनेको छ। नेपालनिकट नेता राजेन्द्र राईले वार्तामा सहभागी नेतामध्ये धेरैको मन ओलीतिर भएको बताए।
'सबैमाथि शंका गर्न मिल्दैन। तर वार्तामा सहभागी धेरैमा अन्यौल छ,' उनले भने, 'केही दिन अलमलिए पनि उहाँहरू ओलीतिरै जानुहुन्छ होला।'
वार्तामा सहभागी नेपाल-खनाल समूहका एक नेताले आफूहरूले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताए। आफूतिर आए भनेर बालुवाटारले अनावश्यक हल्ला फिँजाएको उनको आरोप छ।
'हामीमध्ये कतिलाई मन्त्री बन्दैछ भनेर भन्दिसकेका छन्। यो सबै उनीहरूले हाम्रो बदनाम गराएर हाम्रो समूहमा फाटो ल्याउन खोजेका हुन्,' ती नेताले भने, 'झलनाथ कमरेड र माधव कमरेडलाई छाडेर हामी ओली समूहमा जाने भन्ने हुँदैन। हामी गए सबैजना एमाले एकता गरेर पार्टीलाई नवौं महाधिवेशनको अवस्थामा फर्काउने गरी जाने हो।'
नेपाल-खनाल पक्षीय नेता सुरेन्द्र पाण्डले आफूहरूबीच छलफल चलेको भए पनि कुनै प्रगति नभएको सेतोपाटीलाई बताए।
स्रोतका अनुसार दरबारमार्गको बैठकमा ओली पक्षीय नेताहरूले २०७५, जेठ २ को अवस्थामा फर्किनका लागि शर्त समेत राखेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त उनीहरूको थियो। ओली पक्षसँगको वार्तामा सहभागीमध्ये भट्टराईले देउवाको पक्षमा हस्ताक्षर गरेका छैनन्। विष्टले राष्ट्रपति कार्यालयमा गरिएको दाबीमा देउवालाई समर्थन गरेको भए पनि सर्वोच्च अदालतमा दायर भएको रिटमा हस्ताक्षर गरेका छैनन्। पाण्डेले भने वारेसनामा पठाएका थिए भने भुसालले उपस्थित भएर हस्ताक्षर गरेका थिए।
केहीगरी प्रतिनिधिसभा पुनर्स्थापना भयो भने देउवाको पक्षमा बहुमत नदेखियोस् भन्ने रणनीतिअनुसार त्यसमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर फिर्ता गराउन ओली समूहले जोडबल गरेको छ। दरबारमार्गको बैठकमा भुसालले आफूहरूले गरेको हस्ताक्षर फिर्ता नहुने प्रष्ट पारेको स्रोतको भनाइ छ।
ओली पक्षीय नेताहरूले जेठ २ मा फर्किएर पार्टी अघि बढाउने हो भने हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन्। नत्र सरकार गठनलाई लिएर एउटै पार्टीभित्र दुई खालको परिस्थिति उत्पन्न हुने तर्क उनीहरूले गरेका थिए।
वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, भिम रावल लगायत नेताहरू पार्टीमा फर्किऊन् भन्ने प्रधानमन्त्री ओलीले नचाहेको सन्देश समेत ओली पक्षले नेपाल-खनाल पक्षीय नेताहरूलाई दिएका छन्। पार्टीबाट कारवाहीमा परेका भिम रावललाई दुई पक्षबीच छलफल गर्न गठित कार्यदलमा राख्न नहुने शर्त पनि ओली पक्षले अघि सारेको छ।
प्रधानमन्त्री ओलीले खनाल, नेपाल, रावल सहितका ११ जना नेता तथा सांसदलाई स्पष्टीकरण सोधेको दुई दिनमा पार्टीबाट निकालिदिएका थिए। तर भुसाल, पाण्डे लगायत १२ जना सांसदलाई स्पष्टीकरण सोधेको एक साता बित्दा पनि कुनै कारवाही भएको छैन। उनीहरूले स्पष्टीकरणको जवाफ समेत दिएका छैनन्।
कसैलाई कारवाही गर्ने, कसैलाई नगर्ने खालको रणनीति लिएर आफूहरूमा फाटो ल्याउने प्रयास ओलीले गरेको नेपाल-खनाल पक्षीय अर्का एक नेताले बताए।
ओली पक्षको आँखा नेता भुसाल, पाण्डे, भट्टराई र विष्टमाथि छ। उनीहरूलाई आफूतिर तान्न पाए नेपाल-खनाल पक्षका केही थप युवा नेता आउने, बाँकीलाई पन्छाउन पाइन्थ्यो भन्ने उनीहरूको रणनीति छ। यी चार नेतालाई आफूतिर तान्न प्रधानमन्त्री ओलीले समेत प्रयास गरेका छन्। त्यही रणनीतिका साथ उनीहरूले दरबारमार्गमा केही दिनअघि चार जनासँग छलफल अघि बढाएका हुन्।
अन्तत: चार जना नेता आफूतिर आउने ओली निकटका एक नेता दावी गर्छन्।
'उहाँहरू चारै जना मूलधारमा आउनुहुन्छ। प्रधानमन्त्रीज्यूको चाहना पनि त्यही छ। अब मन्त्रिपरिषद पुनर्गठन हुँदा उहाँहरूलाई आकर्षक मन्त्रालय दिनेसम्मको तयारी छ,' ओलीनिकट ती नेताले भने, 'सरकारमा नजानेका लागि पार्टीमा महत्वपूर्ण भूमिका दिइन्छ। तर सामूहिक रूपमा भने प्रधानमन्त्रीले कसैसँग पनि डिल गर्नुहुन्न। उहाँहरू व्यक्तिगत रूपमा आउनुपर्छ।'
ओली पक्ष उत्साही बन्दै जाँदा नेपाल-खनाल पक्षीय धेरै नेताहरूले पनि वार्तामा सहभागी भट्टराई, पाण्डे र विष्ट ओली पक्षमै जानसक्ने आशंका गर्न थालेका छन्। भुसाल भने ओलीतिर नजाने उनीहरूको दावी छ।
नेपाल-खनाल पक्ष भने अब नयाँ पार्टीको तयारीमा जुटेको छ।
'अब छिट्टै नयाँ पार्टी गठनको बाटोमा गइन्छ होला। सर्वोच्च अदालतले कस्तो फैसला गर्छ भनेर मात्रै रोकिएको हो,' नेपालनिकट एक नेताले भने, 'भुसालबाहेक अरू तीन जना हामीसँग रहनुहुन्छ जस्तो लागेको छैन। भुसाल कमरेडलाई भने उता जान पनि मन छैन र नयाँ पार्टी गठनमा पनि धेरै आत्मविश्वास छैन।'
वरिष्ठ नेता नेपालले बुधबार आफूनिकट जनवर्गीय संगठनका प्रमुखहरूसँग कुराकानी गरेका थिए। सो क्रममा नेपालले पार्टी एकताका लागि ओलीले केही शर्तहरू पूरा गर्नुपर्ने बताएका थिए।
२०७५, जेठ २ को अवस्थामा संगठनलाई लैजानुपर्ने, तत्कालै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने, बैठकमा सहमतिका आधारमा निर्णयहरू गरिनुपर्ने लगायत शर्त आफूले राखेको बताएका थिए। त्यस्तै पार्टीलाई विधि-पद्धतिमा चलाउने विश्वासिला आधार देखाउनुपर्ने, एक व्यक्ति एक पदलाई कार्यान्वयन गर्नुपर्ने, सरकार सञ्चालनमा पार्टीमा छलफल गर्नुपर्ने शर्त समेत आफ्नो रहेको नेपालले जानकारी गराएका थिए।
त्यस्तै जेठ ७ मा ओलीले चालेको कदमबारे समेत पार्टीमा बहस हुनुपर्ने नेपालको भनाइ थियो। आफ्ना मागहरू पूरा नभएमा नयाँ पार्टी गठनको विकल्प नरहेको समेत उनले भनेका थिए।
जनवर्गीय संगठनका पदाधिकारीहरूले ओलीले झुक्याउने र छक्याउने धेरै गर्ने भएकाले नयाँ पार्टी गठनको दिशामा जानुपर्ने धारणा राखेका थिए। जनवर्गीय संगठनका कतिपय नेताले भने पार्टीका तर्फबाट वार्तामा सहभागी नेताहरूको भूमिकामाथि प्रश्न उठाएका थिए।
सेतोपाटीसँग कुरा गर्दै नेपाल पक्षीय युवासंघका अध्यक्ष नरेश शाहीले आफूहरूले अन्तिम समयसम्म पार्टी एकताकै लागि प्रयास गर्ने बताए।
'अहिले हामीले नयाँ पार्टी गठनका लागि कुनै सोच बनाएका छैनौं। हामीले एमालेको एकता चाहेको हो,' उनले भने, 'सहमतिका लागि प्रयास गर्ने नेताहरूको भूमिका दोहोरोजस्तो देखिनु सामान्य हो। कतिपय अवस्थामा तलसम्म सूचना पुगेको हुँदैन। त्यसैले संयोजनकारी भूमिका खेल्नेहरूमाथि कतिपय अवस्थामा आरोप आउँछ।'
सेतोपाटीसँग कुरा गर्दै भुसालले आफूहरूले संस्थागत रूपमा नभइ व्यक्तिगत तवरमा अर्को समूहसँग छलफल गरेको बताए। 'व्यक्तिगत तवरमा कुरा भएको हो। यसरी विभिन्न खालको प्रचार गर्ने तरिकाले भएको पनि होइन,' उनले भने, 'सहमति हुने गरी कुराकानी भएको छैन। पहिला पनि हाम्रो बीचमा कुराकानी भइरहन्थ्यो। अहिले पनि त्यस्तै गरी भएको मात्र हो।'
प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी एकताका लागि औपचारिक बैठक बस्न नसके पनि अनौपचारिक कुराकानी भइरहेको बताए। आफूहरूले प्रयास गरे पनि कुनै निष्कर्ष ननिस्किएको उनले बताए।
नेपाल-खनाल पक्षीय एक नेताले भने अब केही दिनमै छिनोफनो हुने तर्क गरे। 'जो-जो उता जाने हो, जानुहुन्छ। बाँकीले मिलेर नयाँ पार्टीको काम अगाडि बनाउने दिशातिर पुग्छौं होला हामी,' उनले भने।